चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान

हिमाल प्रेस १७ साउन २०८० ११:३८
4
SHARES
चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान फाइल तस्बिर। हिमाल प्रेस

चितवन– चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ। यही साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए। उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ। प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रूपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए।

अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताए। ‘अहिले ५ हजार डोज खोप आउने अनुमान गरेका छौं,’ उनले भने।

प्रदेश सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनले जानकारी दिए।

सातै पालिकामा पालिएका गाईभैंसीमा यो खोप लगाइने छ। रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरूलाई खोप नलगाइने उनले जानकारी दिए। ‘स्वस्थ पशुलाई खोप लगाइन्छ,’ उनले भने।

जिल्लाका पालिकाहरूको सक्रियतामा खोप लगाइँदै आइएको छ। यसलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

जिल्लामा हालसम्म १८ हजार ५ सय ९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। भरतपुर महानगरपालिकामा ३ हजार ७ सय ९०, खैरहनी नगरपालिकामा ३ सय, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा ८ हजार ५ सय पशुमा खोप लगाइएको उनले जानकारी दिए। जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैंसीमा यो रोग देखिएको छ।

कार्यालयका तथ्यांकअनुसार हालसम्म २ सय ८७ गाई लम्पी स्किनबाट मरिसकेका छन्।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए। गाईभैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने र लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन्।

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ। संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैंसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए।

प्रकाशित: १७ साउन २०८० ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =