काकाकुल महाेत्तरी : साउनमै खानेपानीको हाहाकार

रासस १५ साउन २०८० २०:४३
20
SHARES
काकाकुल महाेत्तरी : साउनमै खानेपानीको हाहाकार सप्तरीको जलेश्वर नगरपालिकाले वितरण गरेको खानेपानी भर्नका लागि लाइनमा लागेका बालबालिका। तस्बिर : रासस

महाेत्तरी- मध्यसाउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार भएकाे छ। पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार भएकाे छ। ‘हाम्रो बस्तीका सबै चापाकल सुके, पानी आउने एउटै बाँकी छैनन्,’ भंगाहा-४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने, ‘अब तीन/चार वटा इनारमा सबैको त्राण अडिएको छ। तीन सयभन्दा बढी घरधुरीको बस्तीमा तीन/चार वटा इनारले धान्नै मुस्किल छ।’

बस्तीमा निजी र सार्वजनिक तवरमा जडान भएका एक सय ५० भन्दा बढी चापाकल सुकिसकेको ठाकुरले बताए। बस्तीका इनार पनि धेरैजसो सुकेका छन्। तीन/चार वटा इनारमा पानी तान्न जोडिएका मोटरपाइपका लठ्ठाले अब इनार नै नदेखिने भएका सो बस्तीकै सामाजिक कार्यकर्ता गंगाराम महतो बताउँछन्। ‘सबै चापाकलमा पानी सुकिसकेकाे छ, केही इनारमात्रै बाँकी छन्,’ ६० वर्षीय महतोले भने, ‘मध्यसाउनमा खानेपानीकै हाहाकार परेको यसपालि भोग्दैछौँ।’

इनारमा मोटर लगाएर पाइपबाट पानी प्रबन्ध गर्न सबैको आर्थिक हैसियत नहुँदा बस्तीका अति विपन्न परिवार बढी अप्ठ्यारोमा परेका छन्। जिल्लाका उत्तरवर्ती क्षेत्रका भंगाहा, गौशाला र बर्दिबास नगरपालिकाका करिब एक सय २० टोलबस्तीमध्ये इनार र चापाकल खानेपानीका स्रोत रहेका ठाउँमा अहिले पानीको संकट बढेको छ। इनार र चापाकल सुक्दै गएपछि ठाउँठाउँमा बोरिङ जडान गरेर मोटर पम्पबाट पानी वितरणको प्रबन्ध थालिएकाे छ।

‘बस्तीका चापाकल र इनार सुक्दै गएपछि अहिले भर्खरै बोरिङ जडान थालेका छौँ,’ भंगाहा-४ का वडाध्यक्ष गणेश महतोले भने, ‘रामनगर विद्यालय परिसरमा बोरिङ जडान सफल भयो, अब त्यसबाट वरिपरिका सय घर परिवारले पानी पाउन थालेका छन्।’

विद्यालयका छात्रछात्रासँगै बस्तीका अति विपन्न परिवारलाई पहिलो प्राथमिकतामा पानी भण्डारण र वितरण व्यवस्थापन मिलाइएको महतोको भनाइ छ। पछिल्लो अवस्थामा चापाकल र इनारभन्दा बोरिङ बढी टिकाउ र भरपर्दो पाइएको महतोले बताए।

विगतमा वैशाख/जेठमा कुनैकुनै वर्ष केही दिन इनार, चापाकल सुकेको अनुभव भए पनि साउनमा खानेपानीको हाहाकार भने जीवनमै पहिलो पटक भोग्नुपरेको बर्दिवास, गौशाला र भंगाहाका पाका व्यक्ति बताउँछन्। ‘विगतमा साउनमा खानेपानीकाे अभाव कहिल्यै भएन,’ गौशाला-११ लक्ष्मीनियाँकी ७० वर्षीया जिवछीदेवी महराले भनिन्।

‘हेर्नोस् न। इनारको पानी सुक्दै गएर पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो,’ बर्दिबास-९ पशुपतिनगरको झ्याकुलेटोलका राजकिशोर महतोले घर अगाडिको इनार देखाउँदै भने, ‘साउनमा त इनार सुकेको थाहै थिएन।’

करिब चार हजार जनसंख्या रहेको पशुपतिनगरका सात/आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन्। सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ) को घेरामा पुगेको सो बस्तीकै महेन्द्र महतो बताउँछन्।

सामान्यतया प्रत्येक वर्ष वैशाख/जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जान्छ। तर यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो। यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ता टोलका उत्तमबहादुर रानाले बताए।

 अहिले लटरम्म फल्नुपर्ने लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ।

पहिलेपहिले असार लागेपछि बर्खा सुरु हुने र सुकेका इनार फेरि चल्ने बेहोर्दै आएका आफूहरूलाई यसपालि भने मध्यसाउनमा पानीकाे संकट भाेग्नुपरेकाे राना बताउँछन्। बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेकाले यहाँ मोटरबाट पानी तान्न ओछ्याइएका पाइप बेकामे बनेका छन्। ‘इनारमा पानी भए पो मोटर चलाउनु ?’ पशुपतिनगर टोकीटोलका रामचन्द्र थापा मगरले भने, ‘अब यो साउनमा नचलेको मोटर कहिले चल्ला?’

पानी नपरेर इनारहरू धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेकाे छ। तरकारी खेती मुख्यबाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुकेका छन्। अहिले लटरम्म फल्नुपर्ने लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ।

तस्बिर : वरिष्ठ पत्रकार चन्द्र किशाेरकाे फेसबुकबाट।

पछिल्ला दिनमा खानेपानीको संकट टार्न बोरिङबाट मोटरले पानी तानेर ट्यांकीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाले केही राहत भएको सर्वसाधारण बताउँछन्। यद्यपि पिउनबाहेक तरकारीबालीका लागि त्याे पानी पुग्दैन। ‘खानसम्म त अब राहत भयो, तर खेतीपाती त उक्सने छाँट छैन,’ पशुपतिनगर झ्याकुले टोलका छठु महतोले भने।

धाराको पानीले खान जेनतेन भए पनि सिँचाइका लागि त इनार नै सखार्नु पर्ने झ्याकुले टोलकै जलेश्वरीदेवी महतो बताउँछिन्। ‘कुलो नहरको कुनै विकल्प नभएको हाम्रो ठाउँमा खानेपानी र सिँचाइका लागि इनार सखार्नु (मर्मत सुधार, इनार अझै गहिर्‍याउनु) र नयाँ इनार बनाउनु नै राम्रो देखिन्छ,’ उनले भनिन्।

धारा जडान गरेर खानेपानीको प्रबन्ध गरिएकाे र अब सिँचाइ प्रयोजनका लागि इनार सखार्ने काममा लागिने बर्दिबास-९ पशुपतिनगरका वडाअध्यक्ष घुरन महतोले बताए। पानीको अभाव हुन थालेपछि बस्तीहरूमा इनार सखार्ने, बोरिङबाट पानी तानेर ट्यांकीमा भण्डारण गरेर धाराबाट पानी दिने विकल्पका कुरा गरिए पनि यी स्थायी समाधान नभएका चुरे तथा वातावरण विज्ञ बताउँछन्।

पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदाहरू (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेकाले पानीका स्रोतका मूहान गहिरिँदै गएका वातावरण तथा चुरे जलाधार क्षेत्रमा लामो समय काम गरेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले बताए।

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ। यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन्। चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्‍यान नदीमा थुपरिन्छन्। कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउँछन्।

यसैगरी यसको प्रतिकूल प्रभाव जलाधारक्षेत्रमा पर्दा यस्ता क्षेत्र सुखा बगरमा परिणत हुँदैछन्। ‘अब यो समस्याको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षारोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्‍यान नदीमा नझर्ने व्यवस्था र ठाउँठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ,’ यादवले भने।

पूर्वपश्चिम राजमार्ग माथि (उत्तर) को चुरे पहाडी क्षेत्रमा पाेखरी खनेर पानी भण्डारणकाे काम गर्नुपर्ने र ती पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउने तथा तराईका इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ।

यस कार्यमा पूर्वपश्चिम राजमार्ग ओरपरका स्थानीय तहले संयुक्त रूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए। ‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा चुरे क्षेत्रका खोल्सी व्यवस्थापन थालेका छौँ,’ यादवले भने, ‘धनुषाको मिथिला र महोत्तरीको बर्दिवास र गौशाला नगरक्षेत्रमा पानी पुनःभरणका लागि एक सय ८८ पोखरी खनिएका छन्।’

पाेखरी खन्ने प्रयत्न व्यापक बढाउन स्थानीय तहको सहभागिता आवश्यक रहेकाे उनी सुझाउँछन्।

चुरेका खोल्साखोल्सीको प्रभाव भारतीय सीमावर्ती क्षेत्रसम्म पर्ने हुँदा ती भेगका स्थानीय तहले पनि ‘पहाड र खोल्साखोल्सी त हाम्रो भूगोलमा छैनन्’ भनेर बेवास्ता गर्ने अवस्था नरहेको अर्का चुरे तथा जलाधारविज्ञ डा. विजयकुमार सिंह बताउँछन्। खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहहरूले यसमा तत्काल पहलकदमी बढाउनुपर्ने सिंहको सुझाव छ।

प्रकाशित: १५ साउन २०८० २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =