कोरियाबाट फर्केका तामाङ रामेछापमा मेवा फलाउँदै

हिमाल प्रेस १५ साउन २०८० ११:५५
38
SHARES
कोरियाबाट फर्केका तामाङ रामेछापमा मेवा फलाउँदै फाइल तस्बिर।

रामेछाप– कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। आफ्नो व्यवसायमा उनले २ जनालाई रोजगारीसमेत दिएका छन्। रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्।

उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ।

आफ्नो मेवा फार्ममा पुग्नेलाई उनले प्रतिकेजी ५० देखि ६० सम्ममा बिक्री गर्छन्। बजारमा मेवाको मूल्य प्रतिकेजी १ सयभन्दा माथि नै रहेको छ। ‘७ वर्ष कोरियामा मासिक २ लाखभन्दा बढी तलबमा काम गरें। कोभिड महामारीको असर परेपछि स्वदेश फर्किएँ। गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरें। मेवा लगाएँ डेढ २ वर्ष भित्र नै उत्पादन दिन थाल्यो,’ उनले भने।

मेवा पर्याप्त उत्पादन हुन थालेपछि उनले यतिमा नै सन्तोष मानेका छैनन्। उनले गाउँमा नै चकलेट र जुस बनाउने उद्योग स्थापना गर्ने तयारी गरिरहेका छन्।

‘चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु,’ उनले भने, ‘थकाइ मार्दिनँ, आफ्नै माटोमा केही गरेर देखाउँछु।’

तामाङको मेवा खेती गरिएको- ८ गागल जिल्ला सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ। चकमन्न गाउँको बीचमा पर्ने कालोमाले टोलमा उनले आफ्नो, दाजुको र भाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा खेती गरेका गरिरहेका छन्।

२ वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उनी अझ मेवा खेती विस्तारका लागि हौसिएका छन्। ‘मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु,’ उनले भने।

उनले २ वर्षअघि उनले ५ हजार मेवाको बिरुवा लगाएका थिए।

‘विभिन्न रोग, किरालगायतको संक्रमणले झण्डै १ हजार २ सय बिरुवा खेर गए। फार्ममा ३ हजार २ सय बोट हुर्केका छन्,’ उनले भने।

उनका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रतिबोट ८ सय जति खर्च भएको छ।

‘बल भएका बेला विदेशमा गएर काम गर्दा कमाइएला तर वृद्ध अवस्थामा के गर्ने ?,’ उनले भने, ‘त्यसैले आफ्नै गाउँ ठाउँमा केही गरेर खानु पर्छ।’

एउटै मेवा बढीमा ५ केजीसम्मको हुने र १ पटक लगाएको बिरुवाले ३ वर्षसम्म राम्रो उत्पादन दिने उनले सुनाए।

उनको बगैँचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ। हावाहुरी, शित र रोगकिराका कारण हमेसा क्षति नहुने यस जातको मेवा बाँदरले समेत नरुचाएकाले यसैलाई उनले विस्तार गर्ने सोच बताए।

मेवा खेतीमा रमाएका उनले हालसम्म राज्यका कुनै निकायमा अनुदानको लागि आवेदन गरेका छैनन्।

सिँचाइ, कीटनाशक औषधि तथा विषादी, बजारीकरण, हार्वेस्टिङ कीट, मललगायतका सामग्री उनी आफैंले खरिद गर्दै आएका छन्।

प्रकाशित: १५ साउन २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =