अरु देशकोभन्दा हाम्रो मौद्रिक नीति धेरै लचिलो छ : गभर्नर अधिकारी

हिमाल प्रेस १४ साउन २०८० १५:०१
4
SHARES
अरु देशकोभन्दा हाम्रो मौद्रिक नीति धेरै लचिलो छ : गभर्नर अधिकारी राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन्।

मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा आइतबार गभर्नर अधिकारीले विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने लचिलो नीति लिएको बताएका हुन्।

‘७ प्रतिशतको नीतिगत दरलाई ६.५ प्रतिशत बनाइएको छ। अहिले बाह्य क्षेत्रमा सहज भएको छ। तरलता पनि सहज देखेपछि राष्ट्र बैंकले नीतिगत दर घटाएको हो,’ गभर्नर अधिकारीले भने, ‘घरजग्गा क्षेत्रलाई उकास्न पनि मौद्रिक नीतिले केही व्यवस्था गरेको छ।‍’

चालु आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशत छ। त्यस्तै समग्र आर्थिक वृद्धिदर ६.५ प्रतिशत र मूल्यवृद्धिको लक्ष्य तोकिएकै सीमाभित्र राख्न सोहीअनुसारको मौद्रिक नीति आएको उनको भनाइ छ।

कर्जा प्रवाह र मूल्यवृद्धिको सीमा महत्त्वाकांक्षी नभई मौद्रिक सूचकको विश्लेषणबाट तय गरिएको गभर्नर अधिकारीले बताए। उनले भने, ‘तरलतामा आएको सुधार, घट्दो ब्याजदर, रेमिट्यान्स आप्रवाहको स्थिति, सरकारी बजेट खर्चको अवस्था सुधार्नका लागि ल्याइएका कार्यक्रमलगायत विषय हेरेर यस वर्षको कर्जाको वृद्धिदरको प्रक्षेपण गरिएको हो।’

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.५ प्रतिशत रहने प्रक्षेपण थियो। तर ३ प्रतिशतमा सीमित भयो। सरकारले अपेक्षितरूपमा पुँजीगत खर्च गर्न नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनका कारण गत वर्ष कर्जा विस्तार न्यून देखिएको राष्ट्र बैंकले बताउँदै आएको छ।

प्रकाशित: १४ साउन २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =