विचार

नेपालको विकसित घटनाक्रम र मैथिली भाषाको अवस्था

हिमाल प्रेस १४ साउन २०८० १३:१९
50
SHARES
नेपालको विकसित घटनाक्रम र मैथिली भाषाको अवस्था

समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र मधेश प्रदेशमा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ। भाषा आयोगले स्पष्ट रूपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसंगले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ।

सम्पर्क भाषामा हिन्दी तथा मातृभाषामा मगही भाषाको प्रश्रयको बहसले गर्दा मैथिली भाषाको भविष्यबारे चिन्तन मनन् हुन थालेको छ। हुन त विश्व प्रसिद्ध सन्दर्भग्रन्थ साउथ एशियन एन्ड द मिडिल इष्टमा संकटापन्न भाषाको सूचीमा मैथिली भाषाको उल्लेख नभएका कारण तत्काल यो भाषा सुरक्षित रहेको सन्तोष गर्न सकिन्छ। त्यस ग्रन्थमा नेपालको तीन भाषा नेपाली, मैथिली र भोजपुरीलाई सुरक्षित भएको उल्लेख छ।

तर सुक्ष्म विश्लेषणले सन्तोष लिने अवस्था सम्भवतः भविष्यमा विद्यमान नरहने संकेत पनि दिइरहेको छ। कतिपयले मैथिली भाषाको मृत्यु हुने कारक तत्व पनि उल्लेख गर्न थालेका छन्।

इतिहासको कालखण्डमा मैथिली भाषा मिथिला क्षेत्रमा मात्र सीमित नरहेर काठमाडौँ उपत्यका र पाल्पासम्म आफ्नो प्रभाव कायम गरेको पाइन्छ। साहित्य क्षेत्रमा समेत विशिष्ट स्थान ओगटेको यस भाषाको आफ्नै लिपि पनि रहेको छ।

सेन राजाहरूले समेत मैथिली भाषालाई राजभाषा बनाएको पाइन्छ। नेपालको पुरातन गरिमालाई सम्झाउने मैथिली भाषाका साहित्य, संस्कृति, कलाको समुन्नत स्थिति, भाषाको माधुर्य, अभिव्यक्तिको सौन्दर्य एवम् लचिलोपनले गर्दा काठमाडौँ उपत्यकाभित्रका मल्ल राजाहरूले पनि नाटक, काव्य तथा गीत रचनामा मैथिलीलाई प्रशस्त माध्यम बनाएको अनुसन्धानबाट पुष्टि हुन्छ।

मिथिला क्षेत्रको भाषा मैथिली हो। प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ। वाल्मीकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएअनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेको बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए। संस्कृत भाषामा कुरा गरेमा रावणका गणहरूले सरल ढंगले ब्झ्ने भएकाले एक आपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो।

डा. दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्य साहित्यको इतिहास नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ। वेद, पुराण, उपनिषद, मीमांशामा वर्णित वातावरण, वनस्पति, जीवजन्तु, मिथिलासंग मेल खान्छन्।

जनक वंशको उदयपछि विधिवत रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो।

इतिहासकारहरूले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन्। यस बीचमै सीताको जन्म भएको थियो। कोशी, कमला, बाग्मती ,गण्डकी तथा गंगाजस्ता नदीहरूको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात् तीनतिरबाट घेरिएको भनिन्छ। आठौं शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ। त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले पनि उपलब्ध छ।

यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ। भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा उपलब्ध छ।

भाषाविद् डा. रामावतार यादवका अनुसार राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८औँ शताब्दीभित्र लेखिएको नाटकको १५० पाण्डुलिपि रहेकोमध्ये मैथिलीमा ११५, नेवारीमा २६ र बंगालीमा पाँच वटा रहेका छन्। अहिलेसम्म पुष्टिको आधारमा भारतीय आर्य समुदायका २८ भाषामध्ये मराठीपछि मैथिली नै पुरानो रहेको छ।

 उन्नाइसौं शताब्दीमा जर्ज अब्राहम गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ।

उन्नाइसौं शताब्दीमा जर्ज अब्राहम गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ। इतिहासकार डा. तुलसीराम वैद्यद्वारा सिम्रोनगढमा गरिएको अनुसन्धानबाट कर्णाटवंशीय राजाहरूको शासनकालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त भएको देखिन्छ। चौधौं शताब्दीको पूर्वार्द्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाहरूको कामकाज मैथिली भाषामा हुन्थ्यो।

चौधौं शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो। सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्य पद्यको रचना गरेका थिए। विद्यापतिलाई रवीन्द्रनाथ टैगोरले समेत काव्य गुरू स्वीकार गरेका छन्।

विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा वास बसेको बेला भगवत गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधारहरू विद्यमान छ।

पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको कामकाजको भाषा मैथिली रहेको पाइन्छ। मल्ल राजाहरू मैथिलीमा बोल्थे, साहित्य पनि गर्थे। पृथ्वीनारायणले मैथिली भाषा-संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजको मान्यता दिएको देखिन्छ।

पछि राजा महेन्द्रले ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ नीतिको नाममा मैथिली भाषा-संस्कृतिमाथि प्रहार गरी पहिचानलाई समाप्त गर्ने षड्यन्त्र गरिएको तथ्य इतिहासमा पाइन्छ।

यस अवस्थामा इतिहास, व्यवहार र वैज्ञानिक सिद्ध आधारमा समृद्ध मैथिली भाषाको अस्तित्व नै संकट पार्ने विरूद्धको भाषिक आन्दोलनलाई अतिक्रमणको मारबाट बचाउने अभियानका रूपमा लिनु जरूरी देखिएको छ। किनकी भाषाको सम्बन्ध संस्कृति, सभ्यता, स्वाभिमान र पहिचानसँग गाँसिएको छ। विगतका शाहकालका शासकले सत्ता, हैकम, राजनीति कायम गर्न मैथिली भाषाप्रति गरेको प्रहारका कारण मैथिली भाषा आफ्नो पुरानो अस्तित्वको खोजमा रहेको छ। आफ्नो लिपि छ, स्रष्टा छन् तर उपेक्षित छन्।

हुन त मैथिली भाषाले मैथिली भाषाभाषीलाई जातीय व्यक्तित्व र पहिचान मात्र प्रदान गरेको छैन, राष्ट्रको साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको तथ्य छ। नेपाली भाषामा मैथिली भाषाको गहिरो छाप छ। मैथिल क्षेत्रका स्थान नाम, वनस्पति, खानपान, रहनसहन र दैनिक व्यवहारमा प्रचलित स्थानीय उपकरण बुझाउने जस्ता शब्दहरु नेपाली भाषामा पाइन्छ। ताापनि शासक वर्गको बक्रदृष्टिको शिकार भई मैथिली भाषीको संख्या घटदै जानुले भाषाको भविष्यमाथि गम्भीर चुनौती देखिन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बोलिने १२४ वटा मातृभाषामा नेपाली ४४.८६ प्रतिशत, मैथिली ११.०५ प्रतिशत, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत, बज्जिका ३.८९ प्रतिशत, अवधि २.६६ प्रतिशत, नेवारी २.९६ प्रतिशत, मगर धुत २.७८ प्रतिशत र डोटेली १.७ प्रतिशत देखिएको छ। यसमा मैथिली भाषीको संख्यामा क्षय भएको देखिएको छ।

मूलभूत रूपमा भाषाका क्षयका कारकमा मातृभाषालाई परित्याग गरी अन्य प्रभुत्वशाली भाषालाई वरण गर्नु पनि मैथिलीका लागि चिन्तनीय पक्ष देखिन्छ। यसका साथै मैथिली भाषीको अवसरलाई सीमित अगुवा भनिनेले गरिरहेका गतिविधिप्रतिको आक्रोशले पनि मैथिली भाषीको क्षयको क्रमलाई मलजल दिइरहेको छ। स्थानीय तहमा पनि त्यही प्रवृत्तिले मैथिलीप्रति कुनै खास जातिको भनी यही भाषालाई ठेठी र अन्य भाषा नामाकरण गरी जनगणनामा मैथिली मातृभाषा नलेखाएको कटु सत्यलाई नकार्न सकिँदैन।

 संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ। हिमालका शिखरदेखि लिएर तराई मधेशका विशाल फाँटसम्म बग्ने नदी सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीका किनारामा बेलाबेलामा विकसित संस्कृतिको समष्टि रूप नै नेपाली संस्कृति हो।

संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ। हिमालका शिखरदेखि लिएर तराई मधेशका विशाल फाँटसम्म बग्ने नदी सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीका किनारामा बेलाबेलामा विकसित संस्कृतिको समष्टि रूप नै नेपाली संस्कृति हो। कोशी र गण्डकीको बीचको मिथिला संस्कृतिको आफ्नो महत्त्व छ। यहाँको बृहत् अरण्यलाई गंगापारबाट आउने आग्नेय जाति र अग्नि लिएर सदानीरा (गण्डकी) पारबाट आउने आर्य जातिले आवाद गुल्जार गरे। जनसंस्कृति र कृषि संस्कृतिको सारमन्थनबाट नै मिथिला संस्कृतिको जन्म भयो। ज्ञान, कर्म र शील नै यसको सारसिद्ध छ। यसैअन्तर्गत वंशगत शिल्प, वस्तु, धारणा, प्रक्रिया, अभ्यास तथा मूल्यहरू समावेश रहेको हुन्छ। त्यसैले संस्कृतिलाई जिन्दगीको तरिका र सभ्यताको परिचायक मानिएको छ।

यसअन्तर्गत हामी जे गर्छौं त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ। मैथिल संस्कृतिको सरसता, समरसता एवम् संवेदनशीलताप्रतिको जागरणका अर्थमा ग्रहण गर्नु पर्दछ। वर्तमानमा संघ र प्रदेश सरकारको उपेक्षाको प्रसंग मैथिली भाषाको क्षय एउटा पक्ष छ भने अधिकांश मैथिलीभाषी युवा मैथिलीको अर्धवक्ता हुनु, शिक्षकद्वारा शिक्षार्थीलाई तथाकथित अवस्तरीय, अमानक मैथिली भाषिकाको प्रयोगलाई निरुत्साहित गर्दै मैथिलीलाई स्पष्ट रूपमा अशुद्ध, ठेठ, गवार आदिले पक्षपातपूर्ण विशेषण, सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक परिवेशका कारण अभिभावकद्वारा बालबालिकालाई विकासको निहुँमा मातृभाषाबाट विमुख गर्नुले पनि क्षयको कारक मान्न सकिन्छ।

अतः मैथिली भाषाभाषी आफ्नो भाषाप्रति अगाध श्रद्धा प्रदर्शन, विद्यालयी शिक्षामा मैथिली भाषाको प्रवेश, चयन र प्रयोग, बृहत् भाषा योजना, मैथिली भाषाभाषी क्षेत्रको समाजशास्त्रीय सर्वेक्षण आवश्यक छ। (लेखक मैथिली भाषा, साहित्यका अध्येता हुन्।) राससको सहयोगमा 

प्रकाशित: १४ साउन २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =