शुक्लाफाँटामा थोरै क्षेत्रफल, धेरै बाघ

हिमाल प्रेस १३ साउन २०८० १६:१७
26
SHARES
शुक्लाफाँटामा थोरै क्षेत्रफल, धेरै बाघ

दाेधरा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन्। विश्वकै दुर्लभ मानिने बाह्रसिंगेकाे झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायत उचित व्यवस्थाले बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जानकारी दिएकाे छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए। ‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ,’ उनले भने, ‘आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको संख्या बढेको हो।’

शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको ऐरले बताए। उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिंगे, रतुवा, चित्तल र बँदेल छन्। ‘निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरू छन्,’ ऐरले भने, ‘यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ। वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन।’

उनका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको छ। पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको संख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। ‘पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो,’ उनले भने। जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन्। निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा बढेर ३६ पुगेको हो।

निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएकाे छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ। रासस

प्रकाशित: १३ साउन २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =