खाद्य असुरक्षाविरुद्ध लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

हिमाल प्रेस ९ साउन २०८० १७:२९
6
SHARES
खाद्य असुरक्षाविरुद्ध लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझ दृढताका साथ लड्नुपर्ने बताएका छन्। उनले नेपालकाे खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोक विरुद्धको लड्ने अस्त्र भएको बताएका हुन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको बताए।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए।

खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको उनले बताए। ‘खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने बताए। उनले त्यस्तो रूपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास रहेकाे बताए।

प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिइएको पनि बताए। स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउन सो व्यवस्था महत्त्वपूर्ण साधन भएको उनको भनाइ छ।

सन् २०२१ मा सम्पन्न ‘युएन फुड सिस्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रूपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिक रूपमा सघन छलफल गरिएको उनको भनाइ छ।

दिगो विकास लक्ष्यले तय गरेको लक्ष्यअनुसारको कामलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन खाद्य प्रणाली रूपान्तरणसमबन्धी रणनीतिक योजना (सन् २०२२–२०३०) तयार पारी कार्यान्वयनमा ल्याइसकिएको पनि उनले बताए।

नेपाल किफायती, सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य शृङ्खला विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको प्रष्टोक्ति छ। उनले कृषि उत्पादकत्वमा सुधार, स्थानीय खेतीको प्रवर्द्धन गर्दै फोहोररहित भण्डारणका लागि लगानी केन्द्रित गरेको बताए। सार्वजनिक-निजी साझेदारीमार्फत पूर्वाधारको विकास र मूल्य शृंखलामा सुधारका लागि प्रोत्साहित गरिएको प्रधानमन्त्रीको भनाइ छ।

स्थानीय र परम्परागत खाद्य प्रणालीको पुनरुत्थान गर्नु आफूहरूको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले कोदोजस्ता बालीमा लगानीका अलावा चासोसमेत बढेको बताए। अल्पविकसित देशले पर्याप्त भण्डारणको अभाव, बजार, शीत भण्डारण, न्यून यान्त्रिकीकरण, उच्च उत्पादन लागत, कमजोर बजार पहुँच र असमान वितरण प्रणालीजस्ता समस्या भोग्नुपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

खाद्य प्रणालीको रूपान्तरणका लागि सरकार र अन्य सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु जरुरी भए पनि लगानी अभाव रहेको उनले बताए। वातावरणको संरक्षण गरी, सबैका लागि दिगो भविष्य सुनिश्चित गर्ने गरी खाद्य प्रणालीमा रूपान्तरण गर्न साझा प्रयास जरुरी रहेकाले सोही मार्गमा अगाडि बढ्न पनि उनले सबैलाई आह्वान गरे।

प्रकाशित: ९ साउन २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =