कांग्रेसको नेतृत्व जोसजाँगर भएका महामन्त्री र उपसभापतिहरूले लिनै पर्छ : चन्द्र भण्डारी

हिमाल प्रेस ९ साउन २०८० १६:१०
10
SHARES
कांग्रेसको नेतृत्व जोसजाँगर भएका महामन्त्री र उपसभापतिहरूले लिनै पर्छ : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामुहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने पनि बताए। उपसभापति र महामन्त्रीका बीच छलफल गरी बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न उनले आग्रह गरे।

केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए।

‘तपाईँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो।अहिलेसम्म तपाईँहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्। चाहे रामचन्द्रजी होस्।चाहे कृष्ण सिटौला। चाहे शेखर कोईराला,’ उनले भने, ‘हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो। त्यसकारण म सुझाव दिन चाहन्छु तपाइँहरूले टिम बनाउनुस्।त्यो टिम बनाउनुभयो भने तपाईँहरूलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ। टिम बनाउनुस्। विचारका कुरा अगाडि ल्याउनुस्।’

उनले आन्दोलन गर्न जाने पनि सत्ता चलाउन नजानेको भन्दै नेतृत्व लिन महामन्त्रीहरूलाई आग्रह गरे।

‘हामीले आन्दोलन गर्न जान्यौँ। सत्ता चलाउन जानेनौँ। म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ। ८० वर्ष पुग्न थाल्नुभएको छ। जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरूले नेतृत्व लिनुपर्‍यो,’ उनले भने, ‘भलै मैले चुनाव हारिसकेँ। हामी तपाईँहरूको पछाडि छौँ। तपाईँहरूको सहयोगी छौँ। तर तपाईँहरू अबदेखि सँगै हिँड्नुस्। मिटिङ राख्नुस्। एजेण्डा तयार गर्नुस्। तब मात्रै कांग्रेस बन्छ। एक्लै कहीँ पुग्न सकिदैनँ। बीपी कोइराला त एक्लै पुग्न सक्नुभएन। जोसँग सबै कुरा थियो।’

प्रकाशित: ९ साउन २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =