सधैँ सताइरहने दब्ल्लाङको पहिरो

हिमाल प्रेस ९ साउन २०८० १५:०६
6
SHARES
सधैँ सताइरहने दब्ल्लाङको पहिरो

गलकाेट- बर्खाको समयमा सामान्य पानी परे पनि बागलुङको दक्षिण भेगबाट बागलुङ बजारसँगको सम्बन्ध विच्छेद हुन्छ। आवतजावत ठप्प हुन्छ। निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालबाट टाढा बनाइदिन्छ।

तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा सो सडकमा यतिबेला यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका–१२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकमा दैनिकजसो पहिरो गइरहन्छ। पछिल्लो समय उक्त पहिरोको समाधानका लागि पहल भने भइरहेको छ।

तर पहिरोको समस्या समाधान हुञ्जेलसम्मका लागि विकल्पमा अर्को सडक छैन। जसका कारण पहिरो गए पनि त्यसमै सडक बनाउनुपर्ने बाध्यता छ। सोही पहिरोमा निरन्तर डोजर चलाउँदा झनै पहिरो गइरहेको छ। जसले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरमा समेत क्षति पुर्‍याएको छ।

दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिराको समाधानको खोजी गरिएको छ। विगत तीन वर्षदेखि बर्सेनि बर्खामा सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिराको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ।

पूर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिराको अध्ययनपश्चात् पहिरो नियन्त्रणका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर पनि तयार गरेको छ। प्रतिवेदनअनुसार यस पहिराको अल्पकालीन र दीर्घकालीन दुवै उपाय खोज्नुपर्छ।

तत्कालका लागि पहिराबाट सकड अवरुद्ध हुन नदिन पहिरो माथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पु¥याउन सके पहिरो झर्ने समस्या आधा कम गर्न सकिने अध्ययन टोलीका इन्जिनियर उमेशचन्द्र भुसालले बताए।

उनका अनुसार अहिले पहिरोको पानी व्यवस्थापन गर्ने काम भइरहेको छ। पहिरो माथिबाट निस्केको पानी पाइपलाइन र नाली निर्माण गरी निकास गर्न खोजिएको छ। पानीको निकास गर्न सकेमा तत्कालका लागि पहिरोको समस्या समाधान हुने उनको भनाइ छ।

भुसालका अनुसार तत्कालका लागि पहिराको माथिल्लो भागमा प्लास्टिक बिछ्याएर नजिकैको न्वारे खोलामा पानी पु¥याउन सकेमा पहिरो जानबाट रोक्न सकिने अर्को विकल्प छ। भूगर्भविद्हरूको अध्ययन टोलीले गरेको प्रतिवेदनअनुसार पहिराको झन्डै १३ देखि २० मिटर तल मात्र चट्टान रहेको हुँदा दीर्घकालीन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ।

एक सय मिटर लामो पहिरोको गण्डकी प्रदेशमै चर्चा छ। विज्ञहरूले पहिरोको स्थलगत अवलोकन गरी यसको जियोफिजकल (एमआरआई) गरी प्रतिवेदन तयार पारेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख इन्जिनियर गणेश सुवेदीले बताए।

सुवेदीका अनुसार दक्षिण भेगको टाउको दुखाइको विषय रहेको दब्ल्लाङको पहिराको विभिन्न तरिकाले दीर्घकालीन समाधान गर्न सकिने विकल्प अध्ययन टोलीले दिएको छ। ‘पहिराको भित्री भागमा पानी छैन, माथिबाट आएको पानीलाई तर्काउन सकेमा ५० प्रतिशत पहिराको समस्या हट्छ,’ उनले भने, ‘हामीले त्यही काम गर्न थालेका छौँ। पहिरोको भित्री सतहभित्र कडा चट्टानसमेत अध्ययनका क्रममा देखिन्छ। अहिलेको उपाय भनेकै पानी तर्काउनु हो। अर्को वर्षदेखि पहिरो नियन्त्रणको दीर्घकालीन काम हुन्छ।’

पहिराको दीर्घकालीन रूपमै समस्या समाधनका लागि विज्ञले गरेको अध्ययन तथा अवलोकन अनुसार पाँच करोड ४८ लाख रुपैयाँ लागत लाग्नेछ। आगामी वर्ष प्रदेश, संघ र स्थनीय सरकार मिलेर विज्ञको सल्लाहअनुसार दीर्घकालीन रूपमै पहिरो व्यवस्थापनका लागि बजेट विनियोजन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

पहिराको वास्तविक समस्याको अध्ययनका निम्ति त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पूर्वाधार विकास कार्यालय बागलुङमार्फत पहिरो क्षेत्रमै पठाएर अध्ययनपश्चात् यस्तो निष्र्कष निकालिएको हो।

दक्षिण बागलुङका १८ वडाका सर्वसाधारणलाई सदरमुकाम आउन उक्त पहिरो सधैँका लागि बाधक छ। यसको दीर्घकालीन समाधानका लागि उपाय खोजिने बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

पहिराले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालीगण्डकी करिडोर र कालीगण्डकी नदी किनार हुँदै गएको भाटेखोला जाने बैकल्पिक सडक पनि अवरोध गर्दै आएको छ। एउटा पहिराले चार स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ नै सडक सञ्जालसँग टुट्ने भएकाले पहिरोको दीर्घकालीन समाधान खोज्न जरुरी छ। रासस

प्रकाशित: ९ साउन २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =