पाल्पा नुवाकोटबाट यस्तो देखिन्छ बुटवल

विनोद परियार १० साउन २०८० ७:५५
110
SHARES
पाल्पा नुवाकोटबाट यस्तो देखिन्छ बुटवल

लुम्बिनी– बुटवलको उखरमाउलो गर्मीबाट करिब १० किमि उक्लिएपछि पुगिन्छ पाल्पा नुवाकोट। यहाँ पुग्नासाथ पहाडको चिसो हावाले मन आनन्दित बनाउँछ। करिब आधा घण्टाको अन्तरमा पसिनाले निथ्रुक्क भिज्ने शरीर नुवाकोटगढी पुगेपछि शीतल हुन्छ।

त्यति मात्रै होइन, डाँडाबाट बुटवल बजारको दृश्यले झनै लोभ्याउँछ। बुटवलको व्यस्त बजारबाट नजिकमा सजिलै पुग्न सकिने नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने नुवाकोटगढी विकसित भइरहेको छ ।

त्यसो त नेपाल-अंग्रेज युद्धका बेला इतिहास बोकेको डाँडाको नाम पनि हो नुवाकोटगढी। अंग्रेजलाई हराएका नेपाली सेनाको आश्रयस्थलदेखि प्राचीन पुर्खाहरूले नुन बोक्दा रेकर्ड राख्ने भन्सारडाँडाको इतिहास बोकेको नुवाकोटगढी इतिहास अध्ययन गर्ने स्थल त हो नै। त्योभन्दा बढी पर्यटकले तराईका समथर भाग हेर्न जाने गर्छन्। मात्र होइन, तराई हेर्ने डाँडाका रुपमा परिचित छ। केही समयअघि सम्म पैदल यात्राबाट मात्रै पुग्न सकिने भए पनि अहिले पक्की मोटर बाटो बनेपछि आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको छ।

बुटवलको मणि मुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घण्टा, बेलबास शान्ति चोकबाट ८ किलोमिटर पक्की उकालो बाटो, पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल सडकबाट नुवाकोट गढी पुग्न सकिन्छ। उक्त स्थानमा बुटवलबाट केबलकार सञ्चालनको तयारीसमेत भइरहेको छ। यहाँबाट बुटवलसहित तिलोत्तमा, भैरहवासम्मको समथर भूभाग देखिन्छ। वरिपरिका घना जंगलको हरियाली दृश्यले आन्तरिक पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय रातिको दृश्य हेर्नका लागि मानिस पुग्ने गर्छन्।

 

प्रकाशित: १० साउन २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =