उपकरणसहित काठमाडाैँमा प्रदर्शन गर्ने निर्माण व्यवसायीकाे चेतावनी

हिमाल प्रेस ७ साउन २०८० १९:१८
6
SHARES
उपकरणसहित काठमाडाैँमा प्रदर्शन गर्ने निर्माण व्यवसायीकाे चेतावनी

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो। आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार (साउन ८ गते) प्रधानमन्त्री कार्यालय तथा सरोकारवाला मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाइनेछ।

त्यस्तै मंगलबार प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम महासंघले घोषणा गरेको छ। आइतबार भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरूबारे जानकारी गराउने निर्णय गरेको छ।

महासंघका महासचिव रोशन दाहालले आफ्ना मागहरू पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, सोही दिन साथवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने कार्यक्रम रहेको बताए।

साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने निर्णय गरेको पनि उनले बताए। महासचिव दाहालले दोस्रो चरणको आन्दोलनलाई पनि सरकारले बेवास्ता गरे साउन १६ गते निर्माण उपकरणसहित संघीय राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम रहेकाे बताए।

महासंघले आइतबार सम्पन्न राष्ट्रिय भेलाबाट सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरूको एकमुष्ट म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्तारको आधारमा अन्त्य गर्नुपर्नेलगायत ९ बुँदे माग राखेको छ।

प्रकाशित: ७ साउन २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =