कांग्रेस बैठक कुण्ठा पोख्‍ने थलोमात्र बन्यो : शेखर कोइराला

हिमाल प्रेस ७ साउन २०८० १३:३६
12
SHARES
कांग्रेस बैठक कुण्ठा पोख्‍ने थलोमात्र बन्यो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक आरोपप्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार सम्बोधन गर्दै कोइरालाले यस्तो अवस्थाले पार्टी लक्ष्य र गन्तव्यमा पुग्न नसक्ने बताए।

कोइरालाले भने, ‘लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोपप्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो। यो राम्रो लक्षण होइन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ।’

उनले देशको लोकतन्त्रको भविष्य पनि कांग्रेस चरित्र र कार्यशैलीद्वारा निर्देशित हुने भएकाले सबैलाई गम्भीर बन्न आग्रह गरे। उनले यसका लागि पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिए।

कोइरालाले भने, ‘हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनुपर्छ। जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ।’  उनले भ्रातृ र शुभेच्छुक संस्थालाई पनि विधानअनुरूप अगाडि बढाउने काम गर्न आग्रह गरे। ‘विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले केके गर्‍यौँ, मनन गरौँ’, उनले भने।

पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनका लागि नभएर पार्टीलाई जीवन्त र समय सापेक्ष राख्नका लागि रहेको कोइरालाले बताए। उनले सस्तो लोकप्रियता र लहडले संगठन चल्न नसक्ने पनि बताए।

कोइरालाले भने, ‘परिपक्व र जिम्मेवार बनौँ। दुरदराजका जनताको आवाज सुनौँ। शब्द रटानमा मात्रै होइन, व्यावहारिक रूपमै आफूलाई परिवर्तन गरौँ। विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ।’ कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गरान सकेमा मात्रै रूपान्तरण हुन सक्ने कोइरालाको भनाइ छ।

बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको सांगठनिक कार्यतालिका समग्रमा राम्रै रहे पनि केही विषय छुटेको टिप्पणी उनको छ। कांग्रेस मासबेस पार्टी रहेको तर सांगठनिक कार्यक्रम क्याडरबेसमा आधारित रहेको कोइरालाले बताए।

‘केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ’, उनले भने। यसले संघीयताप्रति पार्टी प्रतिबद्ध रहेको उजागर गर्ने कोइरालाले बताए। यस्तै कार्यतालिका अन्य महत्त्वपूर्ण नेताहरूको स्मृति दिवस पनि समावेश गरिनुपर्ने सुझाव कोइरालाको छ।

कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्‍यो भनेर बस्ने समय नरहेको भन्दै कोइरालाले आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानुपर्ने बताए। उनले भने, ‘ किनकि गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिस्ट पार्टीभन्दा पनि कम छ।’

पार्टीको समर्थनको संघीय सरकार र प्रदेश सरकारमा पनि कांग्रेस रहेको बेला कांग्रेस पार्टीभित्र अपेक्षित ऊर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न रहेको कोइराललाई बताए। उनले भने, ‘मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रूपमा उदाएका नयाँ पार्टीहरूबाट पनि चुनौतीको घेरामा छ।’

सरकार गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरूले स्वतस्फूर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा सोच्नुपर्ने समय आएको कोइरालाले बताए।

उनले भने, ‘स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरूबाट जनअपेक्षा अत्यन्त बढी छ। त्यसअनुरूप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरू सचेत हुनुहुनेछ।’

महँगी र कालाबजारीले जनता आक्रान्त रहेको, जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न नपाएको चिन्ता व्यक्त गर्दै कोइरालाले भने, ‘यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरूले गम्भीर हुनैपर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ साथीहरू सचेत हुनुहोला।’

राज्यका जिम्मेवार निकायकै कारण देशमा पछिल्ला दिनमा दण्डहीनता बढेर गएको उनको भनाइ छ। उनले नीतिगत रूपमै कानुन बनाएर दण्डहहीनतालाई प्रश्रय दिने काम भइरहेको आरोप लगाए। कोइरालाले भने, ‘संसद्‌मा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ। विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ।’

जनताको चाहना दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने रहेको कोइरालाको भनाइ छ। साथै उनले समाजवादी मोर्चा किन बनेको हो? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो? भन्ने प्रश्न राख्दै यसबारे पार्टीमा गम्भीर छलफल हुनुपर्ने बताए। महामन्त्रीले अन्य पार्टीबारे नबोल्न चिट दिएकाले आफूले अन्य पार्टीबारे नबोलेको कोइरालाले बताए।

यस्तै कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी अब जनताको घरदैलोमा भोट माग्न जान सम्भव नरहेको बताए। भुटानी शरणार्थी प्रकरणमा भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था नरहेको भन्दै कोइरालाले यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धमिलिएको बताए। उनले भने, ‘यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ । यसबारे केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु।’

प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्ने र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्नेमा उनले जोड दिए। विदेशमा बस्ने नेपालीलाई समानुपातिक प्रणालीमा मताधिकार दिने कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता रहेको कोइरालाले बताए।

बदलिँदो भूराजनीतिलाई दृष्टिगत गर्दै नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भीरतापूर्वक सोच्न उनले आग्रह गरेका छन्। कोइरालाले भने, ‘हामी अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल नबनौँ ।’

कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनक रूपमा घर फर्कने बाटो खोल्न नेतृत्वलाई आग्रह गरे। उनले भने, ‘कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरि मूलधारमा ल्याउन सकिन्छ।

सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको निष्कर्ष कोइरालाको छ। उनले भने, ‘ हामी जनतासँग टाढिएका छौँ। जनता र हामी बिचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो।’

यस्तै लोककल्याणकारी राज्य निर्माणमा चुक्दा पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको उनले बताए। उनले भने, ‘यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पुनस्र्थापित गरेर बीपी कोइरालालगायत ग्रजहरूको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ। जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ।’

समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य भएको उनले बताए। ‘पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पुर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरूसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन। त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौँ।’

नेपाली कांग्रेस विचारले भरिएको पार्टी भए पनि १४औँ महाधिवेशनपछाछि यसले आफ्नो राजनीति दस्तावेज नल्याएको भन्दै उनले पार्टीमा विचारको खडेरी पर्दै गएको बताए। ‘त्यसकारण विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ’, कोइरालाले भने।

उनले कांग्रेस बैठक प्रत्यक्ष प्रसारण गर्दा कार्यविधि बनाइएको भए अझै राम्रो हुने बताए। उनले भने,‘कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुला गर्ने भन्ने कुराको परिधि तय गरिनुपथ्र्यो। परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =