सुन तस्कर पक्राउ गर्न सडकबाटै दबाब दिनुपर्छ : पर्यटनमन्त्री

हिमाल प्रेस ५ साउन २०८० १८:००
6
SHARES
सुन तस्कर पक्राउ गर्न सडकबाटै दबाब दिनुपर्छ : पर्यटनमन्त्री फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सुन तस्करी प्रकरणका मालिक पक्राउ गर्न सरकारलाई संघसंस्था र जनताले सडकबाट दबाब दिनुपर्ने बताएका छन्।

काठमाडौँमा शुक्रबार आयोजित २४ औँ अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यसपालि भरिया होइन मालिक पक्रनुपर्छ। तपाईँहरू जस्तो संघसंस्था र जनताले सडकबाट दबाब सिर्जना गर्नुपर्छ। कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानुनभन्दा माथि बस्ने अधिकार छैन।’

कानुनविपरीत काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने उनको भनाइ छ। सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटनमन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको उनले बताए। उनले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्नै नपाउने भन्दै भन्सारले गर्ने काम भएको दाबी गरे।

उनले सुन तस्करीमा सुदन किराँतीको परीक्षण सुरु भयो भनेर अफवाह फैलाएको बताए। उनले भने, ‘मेरो होइन त्यो। त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन। हामीले त त्यो देख्न नै पाउँदैनौँ। त्यो भन्सारको कुरा हो।’

उनले भ्रष्टाचार असह्य र साझा शत्रु रहेको बताए। उनले भने, ‘बाँच्दै गर्दा कृति गरेर गए बाँचिन्छ भनेर थाहा हुँदाहुँदै किन यति धेरै पापलोभ होला यो समाजमा। सय किलो सुन किन चाहिएको होला?’

सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको दाबी पनि मन्त्री किराँतीले गरे।

प्रकाशित: ५ साउन २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =