प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको समवेदना सन्देश

हिमाल प्रेस २९ असार २०८० १०:०८
8
SHARES
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको समवेदना सन्देश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना प्रकट गरेका छन्।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास वालुवाटार पुगेर समवेदना व्यक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले राष्ट्रपति पौडेलद्वारा जारी समवेदना पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन्।

उक्त पत्रमा सीताले गरेको राजनीतिक संघर्ष, माओवादीकालमा प्रचण्डलाई पुर्‍याएको सहयोगलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा उनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख छ।

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ,’ राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदनापत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे।

दाहालले सीताको निधनलगतै टेलिफोन गरी दुःख व्यक्त गर्ने क्रममा राष्ट्रपति र आफू दुवै भावविह्वल भएको जनाएका थिए।

राष्ट्रपति पौडेलसँग सीताको सम्बन्ध दाजु बहिनीको भएकाले सीताको निधनमा उनी भावविह्वल भएको प्रचण्डको भनाइ छ।

प्रकाशित: २९ असार २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =