महिलालाई वैदेशिक रोजगारीका लागि अनुमति दिन मन्त्रीले गरे संसदीय समितिमा आग्रह

हिमाल प्रेस २२ असार २०८० १५:४८
2
SHARE
महिलालाई वैदेशिक रोजगारीका लागि अनुमति दिन मन्त्रीले गरे संसदीय समितिमा आग्रह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा समितिको यसअघिको निर्देशनमा महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाइएको निर्णयमा पुनर्विचार गर्न सुझाव दिए।

मन्त्री भण्डारीले भने,‘समितिबाट वैदेशिक रोजगारमा महिला कामदारका विषयमा ठोस् निर्णय र अवधारणा आओस्। अहिले पनि पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनीरूपमा हजारौँ महिला रोजगारीका लागि विदेश गइरहेको अवस्था छ, त्यसलाई रोक्न वैधानिक र व्यवस्थित गरी सरल र सहज बाटो बनाउन आवश्यक छ।’

अवैधानिकरूपमा जाने कामदारले वैदेशिक रोजगार र राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित हुने मात्र नभई कामदारको अवस्थाबारे जानकारी प्राप्त गर्न कठिनाइ हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समितिको सहयोग आवश्यक रहेको उनले बताए।

संयुक्त अरब इमिरेट्स (यूएई), कुवेतलगात खाडीका मुलुकमा करिब २० हजारभन्दा बढी महिला श्रमिक रहेको सूचना प्राप्त भएको जनाउँदै उनले महिला कामदारलाई वैदेशिक रोजगारीमा जान सहजीकरण गरिदिनुपर्ने बताए।

विगतमा वैदेशिक रोजगारमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका धेरै घटना सार्वजनिक भएसँगै समितिले महिला श्रमिकलाई घरेलु कामदारमा पठाउन रोक लगाएको थियो। रासस

प्रकाशित: २२ असार २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =