नवौँपटक चुनाव लडेका भण्डारी सातौँपटक निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १४:५३
28
SHARES
नवौँपटक चुनाव लडेका भण्डारी सातौँपटक निर्वाचित

जनकपुरधाम- महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी भारी मतले निर्वाचित भएका छन्। भण्डारी २५ हजार १९० मत ल्याई निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका डा‍. विजयकुमार सिंहले ११ हजार १२० मत ल्याए। यी दुई बीचको मतान्तर १४ हजार ७० छ। यस्तै एमालेका रामपरीक्षण यादवले १० हजार २५८ मत प्राप्त गरे।

यो जितसँगै भण्डारी सातौँपटक संसद्‍मा प्रवेश पाएका हुन्। उनी राष्ट्रिय पञ्चायतका दुई गरी हालसम्म ९ पटक आमनिर्वाचन लडेका छन्।

भण्डारी २०३८ र २०४३ सालमा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०४८ सालको आमनिर्वाचनमा भने उनी पराजित भए।

२०५१ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका भण्डारी २०५६ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा मधेशी जनअधिकार फोरमबाट निर्वाचित उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए।

भण्डारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट पुनः प्रतिनिधिसभामा निर्वाचित भएका थिए। यसपटक निर्वाचित भएसँगै उनी सातौँपटक सांसद भएका छन्।

भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =