पुस्तक चर्चा : भग्न भैरव

भैरवसँग साक्षात्कार

रमेशप्रसाद खनाल २३ असार २०८० १४:२१
166
SHARES
भैरवसँग साक्षात्कार

प्रकृतिका विविध रङ जसरी अन्य जीवमा झल्किन्छन्, त्यसरी नै मानवमा पनि अन्तरनिहित हुन्छन्। आफूभित्र अन्तरघुलित रसरंगलाई मान्छेले कला, साहित्य, संगीतका माध्यमले प्रकट गर्छ। लेखन मान्छेको क्रोध, लोभ, मोह, ईष्र्या, माया, घृणा, हाँसो, विरक्तलगायत विभिन्न भाव प्रकट गर्ने माध्यम बनेको छ।

समाज, व्यक्ति र सामाजिक व्यवस्थाको अमिल्दो प्रवृत्तिलाई लक्ष्य गरी घटना/परिघटनालाई व्यंग्यका रूपमा प्रस्तुत गरिने विधा हास्यव्यंग्य विधा हो। निबन्ध, कथा, कविता, मुक्तक, नाटक, प्रहसन आदिबाट सामाजिक, राजनीतिक, आर्थिक आदि यथार्थमाथि चोटिलो व्यंग्य गरेर पाठक, दर्शक, श्रोतालाई मनोरञ्जनका साथै सन्देश पनि सम्प्रेषण गर्नु यसको मूल उद्देश्य हुन्छ। हास्यव्यंग्य विधामा कमै सर्जकले मात्र पाइला चाल्ने हिम्मत जुटाउने गरेका छन्।

काठमाडौँको पूर्वी क्षेत्र चाबहिल, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, मूलपानी क्षेत्र सिर्जनात्मक लेखनकार्यको निमित्त एक उर्वर भूमि हो। रमेश विकलजस्ता विशिष्ट साहित्य साधकमात्र होइन हास्यव्यंग्यजस्तो कठिन विधामा कलम चलाउने भैरव अर्याल पनि यसै क्षेत्रका गहना बन्न पुगेका छन्।

यसैगरी हास्यव्यंग्य सर्जकको रूपमा आफूलाई स्थापित गर्न सफल आरुबारीका श्याम लामा र नरमेन्द्र लामा पनि यहीँका उपज हुन्। तर उनीहरूबारे नेपाली वाङ्मय क्षेत्रमा त्यति चर्चापरिचर्चा भएको छैन जति हुनुपर्ने हो। दुवैले विभिन्न पुरस्कारसँगै भैरव पुरस्कार गुठीबाट पुरस्कृत हुने अवसर पाए। पछिल्ला दुई वर्षमा यी दुवै मेरा मित्रको दुःखद निधनपछि यो पूर्वी भेगमा हास्यव्यंग्य विधामा कलम चलाउनेहरू खासै छैनन्।

यसै काठमाडौँको पूर्वी क्षेत्रमा जन्मेर देशकै हास्यव्यंग्य महारथी बन्न सफल व्यक्तित्व हुन्, भैरव अर्याल। बाल्यकालदेखि नै घरमा आमाबाबाट सुन्दै आएको नाम थियो। सानोमा नाममात्र सुनेको थिएँ कुनै रचना पढेको थिइनँ। ठूलो भएपछि ‘जय भुँड़ी’ निबन्ध पढेँ।

म १४/१५ वर्ष पुग्दा नपुग्दै भैरव अर्यालको इहलीला समाप्त भइसकेको थियो। उनले गोकर्णेश्वर महादेवको छेउछाउ पारेर सारा सांसारिक मोहमाया क्षणभरमै त्याग्दै आफूलाई हेलिदिएका थिए। त्यसबेला उनी मेरा निम्ति एक बुझ्न नसकिने पहेली थिए।

उनलाई प्रत्यक्ष भेट्ने अवसर पाइनँ। उनले आफूलाई गोकर्णेश्वर ककारोमा हाम्फाल्दै बागमतीको धारमा आफूलाई बिसाएको कुरा बाको मुखबाट सुनेको हुँ। ‘जोरपाटीका भैरव अर्यालले त गोकर्णको ककारोमा आफ्नो ज्यान फालेछन्,’ आमालाई बाले भनेको सुनेको थिएँ। तर किन र के कारणले त्यो दुःखदायी घटना भयो भन्ने थाहा थिएन। हाम्रो पुर्खाको जन्मथलो मूलपानीमा वर्षको एकपटक कुलदेवताको पूजा हुने बेला आमाबासँग जोरपाटी हुँदै त्यहाँ जान्थेँ।

जोरपाटीमा चामुण्डा मन्दिर जाने गोरेटो बाटोस्थित भैरव अर्यालको घर बुबाले मूलबाटोबाटै देखाउनुहुन्थ्यो। गोकर्ण-दक्षिणढोका अर्यालगाउँबाट सरेर उनीहरू जोरपाटी चोकनजिक बस्न थालेका रहेछन्। सानोमा मूलबाटोबाट देख्ने गरेको उनको घर नै उनीसँगको सानिध्य थियो।

जोरपाटी ओरालोबाट एउटा बाटो उत्तरतर्फ मोडिँदै सुन्दरीजलतिर लाग्थ्यो। अर्को सीधै पूर्वतर्फ लम्पसार परेर जान्थ्यो गोकर्ण-दक्षिण ढोका हुँदै साँखुतिर। दुइटा बाटो फाटिने ठाउँबाट उभिएर हेर्दा बागमती पुल, हरिया खेतले भरिएको जोरपाटी फाँट, अलि उठेको ठाउँमा चामुण्ड स्कुल अनि बागमती फाँट, गोकर्ण जंगल र दक्षिणढोकासम्म सहजै देख्न सकिन्थ्यो।

साथीभाइसँग त्यो ओरालोमा बसेर कुराकानी गथ्र्यौँ। कहिलेकाहीँ त्यो बाटोमा एउटादुइटा थोत्रा सवारीसाधन चल्थे। कुनै हल्लाखल्ला थिएन। जोरपाटीको ओरालोबाट देखिने प्राकृतिक छटाको त्यो मनमोहक दृश्य अहिले पनि सम्झनामा ताजै छ। अहिले त्यो ठाउँमा बनेका अग्लाअग्ला कंक्रिटका घरले हाम्रो किशोरवयको जोरपाटीको प्राकृतिक सुन्दरता ध्वस्त पारिसकेको छ। अब त त्यो ओरालोमा एकछिन पनि उभिन सकिँदैन- गाडी र मान्छेको भीड, हल्ला अनि धुलोधुवाँका कारण। यही अवस्था जोरपाटी चामुण्डा देवीको मन्दिरतर्फ लाग्ने बाटोको छ। अब त्यहाँबाट भैरव अर्यालको पुरानो घर कता थियो भनेर खोज्दा पनि भेट्न मुस्किल छ।

संयोगले म अर्यालको कान्छो छोरा सौरभ अर्यालको मास्टर बन्न पुगेछु। भर्खरभर्खर निजी स्कुल सुरु भएका थिए। बौद्ध टुसालमा भृकुटी स्कुल खुलेको थियो। त्यसकै नजिक निजी लगानीमा प्रोग्रेसिभ स्कुल खुलेको थियो। प्राथमिक विद्यालय भएकाले नर्सरीदेखि पाँचसम्म कक्षा थिए। बिहान कलेज र दिउँसो चुच्चेपाटीमा रहेको यसै स्कुलमा दुई वर्ष पढाउने अवसर पाएँ। कुरा २०३८/३९ सालतिरको हो।

त्यही स्कुलमा पढ्थे सौरभ। उनी विलक्षण प्रतिभाका धनी थिए। पढाइमा सधैँ अब्बल। लेखाइ अति सुन्दर। भैरव अर्यालको छोरा भएकाले मेरो उनीप्रति विशेष अनुराग थियो। तर उनी आफैँ उत्कृष्ट विद्यार्थी थिए। मैले उनलाई खासै केही प्रोत्साहन गर्नुपर्ने थिएन।

यति प्रतिभाशाली विद्यार्थीले भविष्यमा अझै राम्रो गर्नेछ भन्ने पूरा विश्वास थियो। आफ्नो पढाइले गर्दा दुई वर्ष काम गरेर मैले स्कुल छाडेँ। जोरपाटी जाँदा आक्कलझुक्कल सौरभसँग पनि भेट हुन्थ्यो।

पछि पढाइ र काममा बढी समय दिनुपरेकाले जोरपाटी जाने क्रम बिस्तारै कम भयो। उनीसँग भेटघाट पनि टुट्यो। जोरपाटीका कोही साथीभाइसँग भेट हुँदा उनीबारे सोध्थेँ। हाम्रो थप सम्पर्क रहेन।

भैरव अर्यालका जेठा छोरा दीपक अर्यालसँग पहिले सामान्य चिनाजानीमात्र थियो। सौरभको मास्टरका रूपमा मलाई चिन्थे। पछि म चीनमा कार्यरत रहँदा दीपक त्रिभुवन विश्वविद्यालयबाट भ्रमणमा पुगेका थिए। उनलाई आतिथ्य गर्न पाएको थिएँ। यसपछि हाम्रो राम्रै सम्पर्क रह्यो। उनी विश्वविद्यालयतिर छन्। उनीसँग बेलाबेला भेट हुन्छ। भलाकुसारी हुन्छ। होनहार विद्यार्थी सौरभ धेरै वर्षदेखि सम्पर्कविहीन रहेको भन्नुपर्दा दुःख लागेको छ।

भैरव अर्यालका अनन्य मित्र रमेश विकल र रोचक घिमिरेको अगुवाइमा भैरव अर्याल पुस्तकालय र भैरव अर्याल स्मृति भवन बन्न पुगेको छ। यहाँ भैरव अर्यालको सम्झनामा नियमित रूपमा कार्यक्रम हुन्छन्। यसले नयाँ पुस्तालाई उनका रचना सहज उपलब्ध गराएको छ।

हास्यव्यंग्यका महारथी भैरव अर्यालको सम्झनामा पुरस्कार स्थापना गरिएको छ। संस्थाले हास्यव्यंग्य लेखन एवम् अभिनय कलालाई प्रोत्साहन गरी नेपाली साहित्य र कलाको विकासमा योगदान दिइरहेको छ। भैरव अर्याल गुठीको आजीवन सदस्य बनेपछि उनका जीवनी र कृति, उनीबारे लेखिएका संस्मरण आदिमा मेरो रुचि बढ्दै गएको छ।

‘भग्न भैरव’ कृतिभित्र

हालै भैरव अर्यालसम्बन्धी पुस्तक ‘भग्न भैरव’ पढ्न पाएँ। लेखक रहेछन्, प्रोल्लास सिन्धुलीय। धेरै नाम सुनेको तर भेट्ने संयोग नजुरेको स्रष्टा हुन् उनी। भैरवको बाल्यकालदेखि दुःखान्तसम्मको घटनालाई आख्यानका रूपमा प्रस्तुत गरिएको यो पुस्तक मैले एकै सासमा पढिभ्याएँ। किताब पढ्दा आफूले अनुभूत गरेका पक्षबारे नलेखी रहन सकिनँ। यो समालोचना वा समीक्षाभन्दा पनि दोहोर्‍याएर पढेपछिको अनुभूति हो।

सुरुमा त आवरणले पाठकलाई आकर्षित गर्छ। जसमा साइड फेसका आकर्षक युवा भैरवको मुस्कानसहितको तस्बिर छ। तस्बिरमा भैरवले लगाएको कोटमा कोरिएका विभिन्न मुखाकृतिले लेखक भैरवका विविध पहिचान र व्यक्तित्वलाई दर्शाउन खोजेको जस्तो लाग्छ। उनको जीवनका उतारचढाव, पारिवारिक तथा पेसागत जीवनका दुसाध्य भोगाइले क्रमशः खण्डीकृत गर्दै गएको उनको मनोवैज्ञानिक मनस्थितिको सटीक प्रतिनिधित्व गरेको छ, पुस्तकको शीर्षक ‘भग्न भैरव’ले।

‘हास्यव्यंग्य शिल्पी भैरव अर्यालको इतिवृत्तमा आधारित आख्यान’ भनेर लेखकले सुरुमै लेखेका छन्। त्यसबाट पुस्तकले अर्यालका जीवनका विविध पक्ष उजागर गर्ने सुरुवातमै थाहा हुन्छ। पढ्दै जाँदा पुस्तक सिन्धुलीयको गद्य लेखनको एक अनुपम उदाहरण बनेको आभास हुन्छ। भाषा सरल र मीठो छ।

लेखकले ३५ दिनमा यो कृति तयार गरेका हुन्। उनले ‘आख्यान’ मार्फत नयाँ पुस्तालाई भैरव अर्यालजस्ता महारथी स्रष्टा र उनका कृतिबारे जानकारी दिने र त्यसतर्फ आर्कषित गराउने उद्देश्य लिएका छन्।

अर्यालले धर्तीमा ४० वर्षमात्र बिताए। सक्रिय लेखनको दुई दशकमा उनले केही कालजयी हास्यव्यंग्य रचना हाम्रा निम्ति छोडेर गए। त्यही रचना र उनीबारे उनका सहकर्मी, साथी र परिवारका सदस्यले प्रकाशित गरेका संस्मरण, लेखिएका पुस्तकको आधार लिएर लेखकले यो कृति तयार पारेका हुन्। अर्यालका तीन अभिन्न मित्र डा. नवराज चालिसे, रमेश विकल र रोचक घिमिरेमध्ये चालिसे र घिमिरे जीवित छन्।

८१ वर्षीय रोचक घिमिरे सूत्रधार भएर कहिएको यो कृति तयार गर्न लेखकले गरेको अनुसन्धान, अध्ययन र मेहनत पुस्तकका प्रत्येक पानामा झल्किन्छ। पुस्तकको म पात्र अर्थात् रोचक घिमिरेको नाम पनि उनै भैरवले राखिदिएका थिए। त्यो थाहा पाउँदा थप ‘रोचक’ हुन्छ पुस्तक।

अर्यालको मृत्यु हुँदा लेखक सिन्धुलीय दुई वर्षका मात्रै रहेछन्। यसर्थ लेखकले कोरेको अर्यालको चित्र भावनुभूतिले ओतप्रोत छ। पुस्तकका हरेक पानामा भएका सन्दर्भ र प्रसंग हाम्रै अगाडि भइरहेको जस्तो, फिल्मको पर्दामा उतारिएको एउटा कथा जस्तो। किताबबाट थाहा भयो, अर्यालको जीवनमा असोज महिना संयोग रहेछ। उनको जन्म र मृत्यु दुवै यही महिनामा भएको हो।

चार भाइ, छ दिदीबहिनीमा जेठो छोरा थिए अर्याल। निम्नमध्यम वर्गीय परिवारमा खेतीकिसानी मात्रले खान नपुग्ने र पिताको आयले घर धान्न गाह्रो हुने। घरायसी समस्याका कारण उनले पढाइभन्दा कमाइतर्फ लाग्नुपर्ने बाध्यता आइलाग्यो। शिक्षक हुँदै पत्रकारिता लेखनतर्फ उन्मुख भए। अगाडि जे आयो त्यही गर्नुपर्ने अवस्था सिर्जना भयो। तर जे पाए त्यसैमै उत्कृष्ट भएर देखाए।

अभावको भुमरीमा फनफनी घुम्नुपर्ने निम्नमध्यम वर्गीय परिवारको जेठो छोराको काँधमा आइपर्ने जिम्मेवारीले निजत्व खोसेर लग्यो। मनका इच्छा-आकांक्षा अनि सपना परिवारको आवश्यकतासामु बिसाउनुपर्ने भयो।

विवशताले अर्यालको जीवनलाई किशोरवयदेखि नै खर्लप्प छोपेको देखिन्छ। आफ्ना चाहना मार्दै जीवनमा संघर्ष गर्नुपर्ने मानसिकताले उनको जीवनदर्शन र मनोविज्ञानमा ठूलो प्रभाव पारेको अनुभूति हुन्छ।

भैरव अर्याल एक कुशाग्र विद्यार्थी थिए। मेहनती र प्रतिभाशाली व्यक्ति थिए। प्रवेशिका गर्दै स्नातक तहसम्म अध्ययन गर्न सफल भएबाट पुष्टि हुन्छ। उत्कृष्ट अध्येता भएर पनि थप पढ्ने उनको चाहना आर्थिक अवस्थाले पूर्ण हुन दिएन। एकातिर राजा महेन्द्रको आर्थिक सहयोगले उनको जीवनको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। अर्कोतर्फ केही समय कम्युनिस्ट पार्टीको सदस्यसमेत रहेको देखिनु उनको जीवनको अर्को विरोधाभासपूर्ण पक्ष हुन जान्छ।

एक प्रतिभावान् सर्जक हुँदाहुँदै पनि समाज र परिवेशले उनको अन्तरआत्माको आवाज सुनिदिएन। बरु मानसिक ताडना बढाउने विभिन्न कारकतत्त्व उनको जीवनमा एकपछि अर्को आउँदै गरे। लेखनमा रुचि भएका उनी जीवनका हरेक घटना र परिघटनाद्वारा तुरुन्तै प्रभावित हुन्थे। त्यसैले सानो घटना वा केही वाणी मात्रले पनि धीरगम्भीर र संवेदनशील हुने किताबले देखाउँछ।

पोखरास्थित एक स्कुलका आफ्ना विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर भएको मृत्युले उनलाई आहत बनायो। उनीमाथि मनोवैज्ञानिक असर भयो। मनमा सन्त्रास पैदा भएको र उनी विक्षिप्तप्रायः बनाएको सजीव चित्रण छ पुस्तकमा। अर्को कारकतत्त्व- उनी पछिका दुई किशोर भाइको एकपछि अर्को गरी भएको मृत्युले परिवारमा र उनको जीवनमा आँधीबेहरी ल्याएको हुनुपर्छ।

त्यस्तै १६ वर्षमा सुरु भएको घाँटी दुख्ने समस्याले उनको जीवन र मनोवैज्ञानिक अन्तद्र्वन्द्वलाई सघन बनाउँदै लग्यो। आफू, परिवार, समाज र परिवेशप्रति उनको धारणामा परिवर्तन ल्याइदियो। पुरुष भएर नारी स्वर प्रस्फुटन हुन पुग्दा सायद समाजले गर्ने खिसीटिउरीले हीनताबोधको जरा नराम्रोसँग गाडिदियो। त्यसले उनको हौसला र साहसमा उलटफेर गरिदिएको हुन सक्छ।

जर्मनीमा घाँटीको शल्यक्रिया भएपछि उनको स्वर बदलियो। त्यसअघि स्वरका कारण पाएको दुःख, अपमान र हेलाँबाट प्रताडित लेखकमा लघुताभास उत्पन्न भएको हुन सक्छ। जुन उनी आफ्ना व्यंग्य कृतिमार्फत उजागर गर्थे। यसो भनौँ प्रतिवाद गर्थे। व्यवस्था, समाज र समाजका ठेकेदार लक्षित गरेर लेख्थे।

उच्च अध्ययन गर्ने चाहना भए पनि पारिवारिक परिस्थितिले त्यो छुट दिएन। जसले उनमा निराशा उत्पन्न गर्‍यो। निराशाको अर्को कारकतत्त्वका रूपमा उनको दाम्पत्य जीवनमा रहेको असन्तुष्टि र अतिरिक्त प्रेमप्रसंगतर्फ पनि किताबले संकेत गरेको देखिन्छ। आफ्नो बौद्धिकता र संगतअनुसार श्रीमती नहुनुको हीनता र अर्कोतर्फ मन मिल्नेलाई आफ्नो जीवनमा ल्याउन नसक्ने पीडा भैरवको व्यक्तित्वमा अनुभूत हुन्छ।

अर्यालले २०१३ सालदेखि ‘हालखबर’ पत्रिकाबाट व्यंग्य लेखन सुरु गरेका रहेछन्। यसै वर्षलाई उनको सिर्जनात्मक लेखनको सुरुवात मान्ने हो भने उनले २० वर्ष लेखनकर्म एवम् पत्रकारिता गरेछन्। २०१८ मा ‘गोरखापत्र’ मा उनको प्रवेश गरेयता पत्रकारितासँगै साहित्यलेखन र सम्पादनले निरन्तरता पायो। निश्चित आयको सुनिश्चिततासँगै जागिरले उनको घरगृहस्थीमा केही टेवा पुर्‍यायो।

लेख्न बसेपछि आफू र आफ्नो वरिपरि बिर्सने घटना किताबमा छन्। मान्छेको भीडबाट बचेर ढोकामा ताल्चा मारेर भित्र बसेर लेखेको पनि पुस्तकमा छ।

घाँटीको पहिलो उपचार वीर अस्पतालमा गराए। दोस्रो उपचार दिल्लीमा भयो र त्यसको खर्चको जिम्मा राजदरबारले लियो। ‘हीन ग्रन्थिको किलो’ को रूपमा घाँटीको पीडा र स्वर रहेको थियो। जो मनोवैज्ञानिक अवस्थाको जिम्मेवार बनेको अनुभूत हुन्छ। दिल्लीको भुक्तमानमा काठमाडौँबाट आउने भनिएको उपचार खर्च समयमा नआउँदा ‘जमुनामा आफूलाई विसर्जित गरिदिने’ हतास मनस्थितिले उनमा पैदा भइरहेको नैराश्यलाई बताउँछ।

त्यसैगरी दिल्लीमा खर्च रकम त पुग्यो तर स्वर पहिले जस्तो नभएपछि हीनता झन् थपिएको आभास हुन्छ। उपचारपछि भारतबाट नेपाल फर्किने क्रममा हरिद्वार पुग्दा ‘गंगामा हाम्फालेर’ मर्ने कुरा गरेकोबाट पनि उनीभित्र गढेको निराशा बुझ्न सकिन्छ। तर कुरा वास्तविक हो वा मनोगत रूपमा तत्क्षण गरिएको फगत एक उद्गार हो त्यो भन्न गाह्रो छ।

जर्मनीमा पत्रकारिता तालिममा जाँदा घाँटीको उपचार पनि गराए। पहिलेको नारी स्वरबाट फेरिएर उनमा नयाँ स्वर ‘गधा’ को जस्तो लाग्यो। त्यसले झन् प्रताडित हुने सम्भावनाबाट उनी डराए सायद। जर्मनीबाट नयाँदिल्ली भएर फर्कँदा छुटेको हवाईजहाज र भोलिपल्ट काठमाडौँ विमानस्थलमा घरबाट कोही पनि लिन नआएकाले उनलाई निराश बनायो।

जर्मनी बसाइमा मिलेको भत्ता झोलासहित हरायो। न्युजिल्यान्डमा डेढबर्से पत्रकारिता अध्ययन गर्ने अवसरबाट जबर्जस्ती वञ्चित गराइँदा उनको मनै भाँच्चियो। जसले आगोमा घिउ थप्ने काम गर्‍यो जस्तो लाग्छ। यस्तै घटना/परिघटनाले उनलाई विषम मार्गमा हिँड्न उद्यत गराएको त होइन भन्ने लागिरहन्छ पुस्तक पढिरहँदा।

मनोवैज्ञानिक प्रताडना घरको कलहले थपेकै थियो। आत्महत्याको पहिलो प्रयास घरमै हुनु एउटा अशुभ संकेत देखिइसकेको थियो। तर दैनिक जीवनमा हेलिएका सामान्यजनलाई यस्ता कुरातर्फ सोच्ने वा हेर्ने न फुर्सद थियो न सुविधा।

घरको बुइँगलको झ्यालबाट फालहालेर खुट्टा र टाउकोमा लागेको चोटसँग डाक्टरले उनको मानसिक अवस्थाबारे संकेत गरिसकेका थिए। त्यसपछि परिवारमा कत्रो भूकम्प गयो होला आज अनुमानमात्र लगाउन सकिन्छ। मनोचिकित्सक विष्णुप्रसाद शर्माको उपचारले उनको जीवन पुनः एकपटक पुरानै लयमा फर्कियो। तापनि प्रकाशित समाचारमा भएको सामान्य त्रुटिपश्चात् प्रधानसम्पादक गोपालप्रसाद भट्टराईको गोरखापत्रबाट भएको बहिर्गमनले भैरवको मनोवैज्ञानिक अवस्थितिमा पुनः भुइँचालो ल्याइदियो। नयाँ सम्पादक आएपछि भैरवको मनस्थिति क्रमशः खण्डित हुँदै गएको कुरा आफ्नो ‘तालुमा पिँडालु’ फलेको उनको अभिव्यक्तिले झल्काउँछ।

‘गोरखापत्रमा भूत पसेको’ र ‘आफूलाई पनि खान सक्ने’ त्रासको अर्को अभिव्यक्तिले उनीमाथि भइरहेको उत्पीडन देखिन्छ। उनको ताडनालाई अझ मलजल गरेको अनुभूति हुन्छ।

मानिस समय, परिस्थितिको दास हो। आफूले चाहे पनि सोचेजस्तो हुँदैन। सामान्य मानिस भाग्यको खेल, भावीको लेखान्त भन्दै जसोतसो जिउने उपक्रम गरिरहन्छ।

तर भैरवजस्ता होनहार स्रष्टा समाज, परिवार र कार्यालयको परिबन्दमा फसेको एउटा निर्बन्ध आफ्नै संसारमा रमाउन चाहने व्यक्तित्वको निमित्त खण्डखण्ड भएर बाँच्न सायद अस्वीकार्य हुने रहेछ। बरु यो सांसारिक जालझेलबाट मुक्त भएर अलप हुनु नै एकमात्र विकल्प रहेको उनको अन्तर्यमा गढेको हुनुपर्छ। मानसिक अवस्था खलबलिएपछि मानिसको यावत् मन, वचन र कर्म पनि उसको व्यवहार सबैसबै फरक पर्दै जाने रहेछ।

कुनै अवस्थामा त उसले आफ्नो शत्रु पनि निर्धारण गर्छ। त्योसँग केही गर्न नसक्ने अवस्थामा ऊ परिकल्पनामा पुग्छ। अरूले जे भने पनि त्यसमा उसले आफैँले बनाएको घेरोभित्र ऊ रहन्छ। अरूको कुरा सुन्छ तर सुनेको कुराबाट प्रभावित हुँदैन। हुन चाहँदैन पनि। किनकि उसले आफ्नो धारणाको घेरो पहिल्यै तय गरिसकेको हुन्छ। उसले भनेका कतिपय कुरा सही पनि हुन्छन्। तर कतिपय भने आफ्नै स्वरै कल्पनाका उपज पनि हुन सक्ने भएकाले कुन बेला भनिएको वास्तविकता हो र कुन बेलाको गलत छुट्याउन गाह्रो हुन्छ।

छोटोछोटो गरी ७० अध्याय, ‘साबिती’, ‘पटाक्षेप’, ‘आधा मान्छे’ र ‘कथोपकथन’ गरी २९८ पृष्ठमा भैरव अर्यालको ४० बर्से जीवनलाई सिंगो रूपमा उतार्न पुस्तक सफल छ।

कृतिलाई आख्यान भनिए पनि तत्कालीन समय र भैरवको जीवनको जीवन्त इतिहासको कथ्य बन्न पुगेको छ। काठमाडौँ खाल्डोको एउटा निम्नमध्यम वर्गीय परिवारको घरमूली जेठो छोरो अनि नेपाली लेखनमा हास्यव्यंग्यलाई थप उचाइमा पुर्‍याउने एक साधक एवम् सर्जकको कारुणिक अवसानको इतिवृत्त लेखेका छन्, सिन्धुलीयले।

पुस्तकले भैरव अर्याल व्यक्ति र उनको बहुमुखी प्रतिभालाई मात्र होइन तत्कालीन सामाजिक, राजनीतिक र आर्थिक परिवेशको विहंगम चित्र पनि प्रस्तुत गर्छ। हास्यव्यंग्यमा धेरैले धरोहर मानेका सर्जकले ‘हास्यव्यंग्यतिर कलम चलाउनु मेरो निम्ति दुर्भाग्य रहेछ’ भन्नुले उनका लागि आफ्नो जीवन नै कतै एक ठूलो व्यंग्य प्रतिबिम्बित भएको त होइन भन्ने भान पर्छ।

नेपाली समाज, परिवेश, आफू र आफ्नै वरिपरिका पात्रलाई व्यंग्य गर्दागर्दै स्व-मृत्युवरण गर्ने भैरवको जीवनको समाप्ति पनि हामी बाँचेको समाज, परिवार र परिवेश अनि समयप्रति एक व्यंग्य नै हो जस्तो लाग्छ। भैरव अर्यालको जीवनसँग साक्षात्कार गराउन सफल सिन्धुलीयको मेहनत प्रशंसनीय छ।
(कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।)

प्रकाशित: २३ असार २०८० १४:२१

प्रतिक्रिया

One thought on “भैरवसँग साक्षात्कार

  1. गहकिलो समीक्षाका लागि यहाँलाई धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =