गत वर्षभन्दा सुध्रियाे एसईई नतिजा

हिमाल प्रेस २१ असार २०८० १९:४८
10
SHARES
गत वर्षभन्दा सुध्रियाे एसईई नतिजा २०७९ सालको एसईई नतिजा प्रकाशन गर्न बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीमा आयोजित पत्रकार सम्मेलन। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ-  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेकाे माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा अघिल्लो वर्षको तुलनामा यस वर्ष उपल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्यामा सुधार भएकाे पाइएकाे छ। बिहीबार प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो।

अघिल्ला वर्षमा कोभिड-१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा अहिले नियमित पठनपाठनले  सुधार आएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। उनले  परीक्षा प्रणालीमा आएको सुधार र कक्षा कोठाको वातावरणमा पनि सुधार आएकाले  नतिजामा सुधार आएकाे बताए।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षकाेभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताए। अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत नतिजा पनि सार्वजनिक गरेकाे छ। बोर्डले मौका परीक्षा साउनको अन्तिममा सञ्चालन गर्नेछ।

सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ ग्रेड (ए प्लस) ल्याउने २२ हजार ४७५ जना अर्थात् ४.६३ प्रतिशत हाे। गत वर्ष  ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।

एसईईको ३.२० देखि ३.६० ग्रेड (ए)  ल्याउने विद्यार्थी संख्या ५५ हजार ६९ जना छन्। याे कुल विद्यार्थी संख्याको ११.३६ प्रतिशत हो। गत वर्ष ४१ हजार ६२७ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका थिए।

यसैगरी २.८ देखि ३.२ जीपीए (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ अर्थात कुल विद्यार्थीकाे १४.९२ प्रतिशत छ। गत वर्ष ६९ हजार ९ सय विद्यार्थीले २.८ देखि ३.२ देखि जीपीए ल्याएका थिए।

२.४ देखि २. ८ जीपीए (बी) ल्याउनेको विद्यार्थी ८९ हजार ३३१ जना छन्। यो संख्या कुल विद्यार्थीको १८.४२ प्रतिशत हो। गत वर्ष ९० हजार ५ सय ५८ विद्यार्थीले बी ग्रेड ल्याएका थिए।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए (सी प्लस) ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या १ लाख २ हजार २९३ छ। जुन कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो। एसईईमा १.६ देखि २.० जीपीए (सी) ल्याउने १८.२४ प्रतिशत विद्यार्थी संख्या ८८ हजार ४ सय ४७ छ।

१.२० देखि १.६० जीपीए अर्थात् डी प्लस ल्याउने विद्यार्थी संख्या ३८ हजार ७ सय ७० छ। यो कुल विद्यार्थीको ७.९९ प्रतिशत हो। ०.८० देखि १.२० जीपीए अर्थात् डी ग्रेड ल्याउनेको संख्या २ हजार २०० रहेको छ। यो कुल विद्यार्थीको ०.४५ प्रतिशत हो। ननग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात् १३ हजार ९ सय ९२ छ।

विसं २०७२ मा जारी गरिएकाे लेटर ग्रेडिङ निर्देशिका अनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’ ग्रेड प्रदान गरिन्छ ।

त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ। यस पटक साेही आधारमा नतिजा प्रकाशन गरिएकाे बाेर्डले जानकारी दिएकाे छ।

गत वर्ष दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका ४ लाख ९५ हजार विद्यार्थीले परीक्षा दिएकाा थिए। जसमा ९ हजार ६ सय ३३ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए। गत वर्ष २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख १२ हजार सात सय ३३ थियाे। १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी १ लाख पाँच सय ९४ जना थिए।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षर्थी सहभागी थिए। तीमध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र छन्।

कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी थिए। अघिल्ला वर्षहरूमा काेराेना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट बाेर्डले नतिजा सार्वजनिक गरेकाे थियाे। यस वर्ष गणितमा विद्यार्थीले सबैभन्दा कम जीपीए ल्याएका छन्।

 

 

प्रकाशित: २१ असार २०८० १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =