काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार

हिमाल प्रेस १२ साउन २०८० ८:११
16
SHARES
काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार फाइल तस्बिर।

काठमाडौँ– यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको महानगरपालिकाले जनाएको छ।

गत वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ‘ए प्लस’ ग्रेड ल्याएकोमा यसवर्ष सो संख्यामा वृद्धि भएको महानगरपालिकाले जानकारी दिएको छ।

महानगरका अनुसार यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन्।

आवेदकमध्ये गएको वर्ष १२५ (३.१७%) जना गयल भए भने यस वर्ष ५० (१.२३%) जना गयल देखिए। यो तथ्यांकबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै गएको महानगरले जनाएको छ।

विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेको साथै महानगरले सुरु गरेको शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको महानगरको दाबी छ।

गत वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो। यस वर्ष ४८६ (१२.४२%) पुगेको छ। यो ५१% वृद्धि दर हो।

गत वर्ष ६९७ (१७.६८%) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए। यस वर्ष ८०४ (२०.५५%) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन्। यो १६ प्रतिशत वृद्धि हो। गएको वर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो। यस वर्ष ९७४ (२४.९०%) पुगेको छ।

गत वर्ष १००४ (२५.४६%) को ‘सी प्लस’ ग्रेड आएको थियो। यस वर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ। यसको घट्दो प्रतिशत (-८ %) हो।

यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (-२९ %) ले घटेको छ। गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए। यस वर्ष ४३५ (११.१२%) मा घटेको महानगरले जनाएको छ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्यांकले देखाएको छ।

यस्तो छ महानगरको प्रयास

गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरेको महानगरले जनाएको छ। यस्तै गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गरिएको बताइएको छ।

शिक्षकहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन। बाहिर समग्र रूपमा वृद्धि भएको महानगरको भनाइ छ।

९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गरेको बताइएको छ। शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम दिइएको थियो।

महानगरका अनुसार प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाइ पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदानले नतिजामा सुधार आएको हो।

विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरू पढाइमा थप रुचि राख्न थालेको साथै अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थालेको महानगरले उल्लेख गरेको छ।

प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाइ हब बनाई शिक्षकहरूको सिकाइ अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन गरिँदा नतिजामा सुधार आएको महानगरले जनाएको छ।

प्रकाशित: १२ साउन २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =