ललिता निवास जग्गा प्रकरण : संगठित अपराधमा रूपान्तरण

हिमाल प्रेस १९ असार २०८० १६:५६
52
SHARES
ललिता निवास जग्गा प्रकरण : संगठित अपराधमा रूपान्तरण

काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको घटना अब संगठित अपराधमा रुपान्तरण भएको थियो।

मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

संगठित सरकारी लिखत किर्तेमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन सक्छ।

यो प्रकरणमा सोमबारमात्रै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई काठमाडौँबाट पक्राउ गरेको थियो।

पक्राउ परेका पोखरेल समर्जिङ कम्पनिका तत्कालीन प्रमुख हुन् भने महर्जन नक्कली मोही हुन्।

यो प्रकरणमा सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका हुन्। गुरुङलाई सीआईबीको टोलीले गत मंगबार पक्राउ गरेको हो।

त्यस्तै धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई पनि मंगलबार नै पक्राउ परेका हुन्। हिजो आइतबार सीआईबीले काठमाडौँ महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, नापी विभागका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

प्रकाशित: १९ असार २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =