फेसबुकमा हल्ला गरेकै भरमा राजनीतिक कोर्स परिवर्तन गर्न सकिँदैन : प्रचण्ड

हिमाल प्रेस १८ असार २०८० ११:१३
14
SHARES
फेसबुकमा हल्ला गरेकै भरमा राजनीतिक कोर्स परिवर्तन गर्न सकिँदैन : प्रचण्ड कोइरालाको शतवार्षिक समारोहमालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर- रासस

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेसबुकलगायत सामाजिक सञ्जालमा हल्ला फैलाउँदैमा राजनीतिक विसंगतिमा सुधार नआउने बताएका छन्।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै परिवर्तन गर्न सम्भव नहुने उनको भनाइ छ।

राजनीतिक दलहरूले नयाँ इच्छा शक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने नयाँ विचार लिएर नयाँ दलहरू अगाडि आउने उनले उल्लेख गरे।

‘मैले कहिलेकाहीँ भन्ने गर्छु- हामीले देश र जनताको विकास गर्ने पहल नगर्ने हो भने हाम्रोभन्दा राम्रो विचार लिएर आउने कोही आउने छ। हाम्रो भन्दा धेरै त्याग तपस्या गरेका दलहरू हाम्रोभन्दा राम्रो एजेन्डासहित अगाडि आउने छन्,’ उनले भने।

मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने उनले बताए।

‘लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ। यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ,’ उनले भने।

गिरिजाप्रसाद कोइरालासँग आफूले गरेको छलफलबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण संघर्षमा आएको उनले स्मरण गरे।

‘उहाँ (कोइराला) र मेरोबीच भएको छलफलले नै माओवादी शान्तिपूर्ण संघर्षमा आएको हो। संयुक्त जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो। अब गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो। म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु,’ उनले भने।

लोकतन्त्रको रक्षाका लागि समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट आफूले अहिले पनि प्रेरणा लिइरहेको प्रचण्डले उल्लेख गरे।

‘कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ। उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो। उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहिरहनेछ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =