काभ्रेको पाँचखालमा लगानी सम्मेलन हुने

हिमाल प्रेस १६ असार २०८० १३:०९
6
SHARES
काभ्रेको पाँचखालमा लगानी सम्मेलन हुने

काभ्रे– पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ। कोभिड संक्रमणलगायत विविध कारण ४ वर्ष अनिश्चित भएको सम्मेलन यसवर्ष हुने भएको हो।

आर्थिक वर्ष ०८०/०८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ। ‘चालु आवमा पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौं,’ मेयर महेश खरेलले भने।

आव ०७६/७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोभिड भाइरसको संक्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलनको योजना योजनामै सीमित भएको थियो।

कोभिडको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेका कारण गत वर्ष पनि गर्न नसकिएको उनको भनाइ छ।

सम्मेलनमा लगानीकर्ताबाट १५ अर्बको लक्ष्य लिइएको थियो। ‘यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौं, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौं,’ उनले भने।

यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक ०७६ असोजमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए।

पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए।

‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौं,’ उनले भने।

सम्मेलनमा विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको उनले जानकारी दिए।

पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्‍याइसकिएको तथा पुर्‍याउने काम अन्तिम चरणमा रहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वभाविक रहेको बताइन्छ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ। ‘सम्मेलनमा स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिने योजना ल्याइसकेका छौं,’ मेयर खरेलले भने।

सम्मेलनमा पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ।

प्रकाशित: १६ असार २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =