साथ खाेज्दै बेइजिङ पुगे रुसी मन्त्री तर चीन अझै प्रतिक्रियाविहीन

हिमाल प्रेस १० असार २०८० २१:०१
50
SHARES
साथ खाेज्दै बेइजिङ पुगे रुसी मन्त्री तर चीन अझै प्रतिक्रियाविहीन

काठमाडौँ- सैन्य नेतृत्व परिवर्तन गर्ने भन्दै रुसी राजधानी मस्कोतिर अघि बढेको वाग्नर समूह बीच बाटोबाटै फर्किइसकेको छ। यस्तोमा रुस तत्कालका लागि ठूलो दुर्घटनाबाट बचेको भनिँदैछ। यद्यपि आगामी दिनमा रुसको घरेलु राजनीति कसरी अघि बढ्छ, राष्ट्रपति भ्लादिमिर पुटिनले कस्तो कदम चाल्छन्, यी प्रश्नका जवाफ तत्काल पाउन ग्राहो छ।

यहीबीच रुसका सहायक विदेमन्त्री आन्द्रेइ रु डेन्को चीन भ्रमणमा छन्। उनले बेइजिङमा आइतबार चिनियाँ विदेशमन्त्री किन गाङलाई भेटे। चिनियाँ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा दुई मन्त्रीबीचको भेटबारे एक वाक्यको जानकारी राखेको छ। जसमा भनिएको छ, ‘दुई देशको चासो रहेका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा छलफल भयो।’

उसो त रुडेन्को किन चीन गए भन्नेबारे केही जानकारी दिइएको छैन। शनिबारको घटनाबारे चीनलाई जानकारी दिन बेइजिङ ओर्लिएका हुन् कि भन्ने शंका चाहिँ गरिँदैछ। चीनले हालसम्म वाग्नर समूहको कदमबारे औपचारिक रुपमा केही प्रतिक्रिया दिएको छैन।

उता रुसले भने पछिल्लो घटनामा चीनले आफूलाई साथ दिएको बताएको छ। रुडेन्कोले गाङलाई भेटेकोबारे विज्ञप्ति निकाल्दै रुसले भनेको छ, ‘रुसमा देखिएको पछिल्लो समस्या हल गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले चालिरहेको कदममा आफ्नो पूर्ण साथ रहेको सन्देश चीनले दिएको छ। चीन रुससँगको सम्बन्ध समदुर राखिरहन प्रतिबद्ध छ।’

अमेरिकी राष्ट्रपति जो बाइडनलगायतका पश्चिमा नेताहरुले रुसको पछिल्लो घटनाबारे अभिव्यक्ति दिँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले भने मुख खोलेका छैनन्। सरकारका तर्फबाट पनि सार्वजनिक रुपमा केही भनिएको छैन।

सरकारी स्तरमा चीन चुपचाप रहे पनि चिनियाँ विश्लेषकहरू भने बहसमा जुटेका छन्। चिनियाँ टेलिभिजनमा छाइरहने रक्षा विज्ञ सोङ झोङपिङले वाग्नर र सैन्य नेतृत्वबीचको तनाव रुसको आन्तरिक विषय भए पनि यो मामलामा चीन रुसकै साथमा रहने बताउँछन्। ‘विद्रोह गरेर आफ्नो लक्ष्य पूरा हुँदैन भन्ने येभ्गेनी प्रिगोझिनले थाहा पाइसकेका छन्,’ वाग्नरको कदममाथि झोङपिङको टिप्पणी छ।

चिनियाँ सरकारको मुखपत्र द ग्लोबल टाइम्सले पश्चिमाहरूले प्रिगोझिन्को विद्रोहलाई अनावश्यक उछालेको टिप्पणी गरेको छ। ‘रुसमा गम्भीर समस्यामा फसेको छ भन्ने गलत हल्ला फिजाउन पश्चिमाहरू व्यस्त छन्। उनीहरूको उद्देश्य रुसी समाजलाई कमजोर देखाउनु हो,’ ग्लोबल टाइम्सको आरोप छ।

विश्व राजनीतिमा अमेरिकाको प्रभावलाई चुनौती दिने चीनको अभियानमा रुस सबैभन्दा महत्त्वपूर्ण साझेदार हो। यसकारण रुस घरेलु राजनीतिका कारण अस्थिर होस् भन्ने चीन चाहँदैन। फेरि रुस अस्थिर हुनु भनेको चीनको सीमा सुरक्षामा चुनौती थपिनु हो। किनभने रुस र चीनबीच ४ हजार किलोमिटरभन्दा लामो सीमा छ।

‘हामी आफ्ना छिमेकी देश द्वन्द्वमा फसुन् भन्ने चाहँदैनौँ। हामीलाई आफ्नो वरपर स्थिरता चाहिएको छ,’ सेन्टर फर चाइना र ग्लोबलाइजेसन नामक थिंकट्याङ्कका अध्यक्ष हेनरी हुइयाओ वाङले भन्‍छन्।

छिमेकका स्थिरता कायम होस् भनेरै चीनले रुस र युक्रेनबीच शान्तिवार्ता हुनुपर्ने राय राखिरहेको वाङको जिकिर छ। शान्ति वार्ताको प्रयासका लागि चिनियाँ कूटनीतिज्ञ ली हुईले गत महिना रुस र युक्रेनको भ्रमण गरेका थिए। तर रुस र युक्रेन वार्ताका लागि तयार भइसकेका छैनन्।

चीनले आजसम्म पनि युक्रेन हमलाको विरोध गरेको छैन, रुसको आलोचना गरेको छैन। रुसको पक्षमा उभिएको भन्दै युरोपेली देशहरूले भने चीनको आलोचना गरेका छन्। युरोपेली देशहरूसँग सम्बन्ध सुधारका लागि चीन मेहनत गरिरहेको छ। तर यसो गर्दा रुस नचिढियोस् भन्नेमा चीन सचेत छ। युरोपसँगको दूरी कम गर्नकै लागि चिनियाँ प्रधानमन्त्री ली कियाङले गत साता फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए।

नयाँ प्रकारको घरेलु समस्यामा फसेको रुसलाई चीनले सधै सबैभन्दा नजिकको मित्र मान्दै आएको छ। उता पुटिनका लागि पनि सी जत्तिको नजिकको विदेशी मित्र अरु कोही छैनन्। हालको समस्या पार लगाउन पुटिनले सीको साथ खोज्ने अनुमान छ। ‘घरेलु राजनीति ठिक ठाउँमा ल्याउन पुटिनलाई चीनको साथ र सहयोग चाहिन्छ। किनभने चीन अहिलेको अन्तर्राष्ट्रिय शक्ति हो,’ ताइवानको दोङ ह्वा विश्वविद्यालयमा पढाउे सुसा एन्ना फेरेन्सी भन्छिन्।

‘रुसी राजनीतिमा पुटिनको स्थान सुरक्षित होस् भन्नेमा चीन सचेत छ। किनभने पुटिन चीनका लागि असाध्यै महत्त्वपूर्ण पात्र हुन्। अन्तर्राष्ट्रिय राजनीतिमा चीन जे जे कदम चाल्छ, चाल्न चाहन्छ, तिनमा पुटिनको साथ जरु री छ,’ फेरेन्सी थप्छिन्।

युक्रेनमाथिको हमलालाई लिएर चीनले आपत्ति जनाउन आवश्यक नरहेको ठानेको छ। कारण? चीन कुनैदिन त्यसरी नै हमला गरेर भए पनि ताइवानलाई नियन्त्रणमा लिन चाहन्छ। यद्यपि युक्रेन युद्ध चीनका लागि गतिलो पाठ भएको शंका छैन। ‘युक्रेनमा युद्ध जसरी अघि बढेको छ, त्यसले चीनलाई पक्कै पनि झस्काएको छ,’ फेरेन्सीको बुझाइ छ।

उसो त चीन रुसमा पुटिनबाहेकका शक्ति केन्द्रसँग पनि सम्बन्ध विस्तारमा लाग्ने अनुमान छ। भोलिका दिनमा पुटिन सत्ताबाट हट्न बाध्य भए, उनलाई प्रतिस्थापन गर्ने शक्तिसँग पनि चीन सुमधुर सम्बन्ध राख्न  चाहन्छ। ‘चीन तत्काल पुटिनमाथिको समर्थन फिर्ता लिन चाहँदैन। तर त्यहाँ रहेका अरु शक्तिसँग पनि चीन सम्बन्ध विस्तार गर्न चाहन्छ,’ दक्षिण कोरियाको सोलस्थित इह्वा विश्वविद्यालयकका प्राध्यापक लेइफ एरिक इस्ली भन्छन्।

प्रिगोझिनका विषयमा चिनियाँ मुखपत्रहरू लगभग चुपचाप रहे पनि सामाजिक सञ्जाल भने तात्तिएको छ। सामाजिक सञ्जालमा चिनियाँहरूले प्रिगोझिनलाई एल लुसानसँग दाँजेका छन्। जसले आठौँ शताब्दीमा चीनको ताङ राजाविरुद्ध विद्रोह गरेका थिए। तर यसरी दाँजिएका पोस्टहरु तुरुन्तै डिलिट भएका थिए।

ट्विटर जस्तै सामाजिक सञ्जाल वेइबोमा कतिपयले रुसको पछिल्लो अवस्थालाई ‘पब्जी’सँग तुलना गरेका छन्। सामाजिक सञ्जालमा व्यक्त विचार चिनियाँ सरकोरको दृष्टिकोणसँग मेल खाँदैनन्। यस्तोमा रुसलाई लिाएर फरक मान्यता नबनोस् भनेर चीन कत्तिको चनाखो छ, प्रस्ट छैन। यद्यपि चीनमा लोकप्रिय रहेका कयौँ विश्लेषकहरु पुटिनको शक्तिमा ह्रास आइरहेको टिप्पणी गरिरहेका छन्।

यसरी टिप्पणी गर्नेमा ग्लोबल टाइम्सका पूर्वसम्पादक हु सिजिन पनि छन्। ‘विद्रोह अन्त्य भएको छ। अन्त्य भए पनि यसले पुटिनको प्रभावमा असर पुर्‍याएको छ। पुटिनको प्रभाव ह्वात्तै त घटेको छैन, तर कम भने अवश्य भएको छ,’ सिजिनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

रोयटर्स, एपी र फाइनान्सियल टाइम्सको सहयोगमा

प्रकाशित: १० असार २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =