युक्रेनमा युद्ध रोक्न चीनको १२ बुँदे सुझाव

हिमाल प्रेस १२ फागुन २०७९ १२:२२
14
SHARES
युक्रेनमा युद्ध रोक्न चीनको १२ बुँदे सुझाव

काठमाडौँ- चीनले युक्रेनमा युद्धविराम गर्न आह्वान् गरेको छ। रुसले युक्रेनमाथि हमला सुरु गरेको एक वर्ष पुगेकै दिन शुक्रबार चीनले राजनीतिक निकासका लागि १२ बुँदा पनि सुझाएको छ। रुसको सबैभन्दा नजिकको मित्र भए पनि युक्रेन युद्धमा आफू तटस्थ रहेको बताउने चीनले पश्चिमा जगतका कारण युद्ध चर्किएको आरोप पनि लगाएको छ।

‘युक्रेन संकट समाधानका लागि वार्ता र छलफल गर्नुबाहेक अर्को विकल्प छैन। यो संकट समाधानका लागि गरिने शान्तिपूर्ण प्रयासलाई समर्थन र हौसला प्रदान गर्नुपर्छ,’ चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

आफूलाई मध्यस्थकर्ताको भूमिकामा अघि सारिरहेको चीनले रुससँगको सम्बन्धको सीमितता नरहेको पनि जिकिर गरेको छ। अमेरिका र नेटोले युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराउँदै युद्ध भड्काएको आरोप लगाएको चीनको युद्धविरामको आग्रहलाई रुसले स्वागत गर्ने सम्भावना नरहेको बताइँदैछ।

गत बुधबार देशको नाममा सम्बोधन गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका लगायतका पश्चिमा शक्तिहरुले रुसलाई पराजित गर्न नसक्ने चेतावनी दिएका थिए। चिनियाँ विदशेमन्त्री वाङ यी त्यही दिन पुटिनलाई भेट्न मस्को पुगेका थिए। पुटिनसहित उच्चपदस्थ रुसी अधिकारीहरुसँग भेटवार्ता गरेका वाङले अन्तर्राष्ट्रिय राजनीति जे जस्तो तरिकाले अघि बढे पनि चीनले रुसको साथ कहिल्यै नछाड्ने बाचा दोहो¥याएका थिए।

बेइजिङले जारी गरेको १२ बुँदामा रुसले युद्धमा आणविक हतियारको प्रयोग गर्न नहुने पनि बताइएको छ। चीनले युक्रेनमा रहेका आणविक प्लान्टको सुरक्षामा जोड दिएको छ।

यसअघि युक्रेनलाई खाद्यान्न निर्यात गर्न दिने सहमति मान्न पनि चीनले रुसलाई आग्रह गरेको छ। शान्तिका लागि पहल स्वरुप रुसमाथि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्, युरोपियन युनियन (ईयू), अमेरिका लगायतले लगाएको प्रतिबन्ध तत्काल हटाउनु पर्ने चीनको भनाइ छ।

‘युद्धमा कोही विजेता हुँदैन। सबै पक्षले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ। हामीले रुस र युक्रेनलाई मिलाउने प्रयास गर्नुपर्छ, त्यसका लागि भएका प्रयासलाई स्वागत र समर्थन गर्नुपर्छ। युद्धरत पक्षबीच तत्काल संवादको थालनी हुन आवश्यक छ। सुरुमा भिडन्त कम गर्दै जाने, दुई देशको सीमालाई शान्त बनाउने र आखिरमा युद्धविराम गर्ने,’ चीनले आफ्नो प्रस्तावमा भनेको छ।

चीनको यो शन्ति प्रस्ताव यस्तो बेला आएको छ, जतिबेला अमेरिकाले उमाथि रुसलाई सैन्य सहयोग गर्ने योजना बनाइरहेको आरोप लगाइरहको छ।

बेइजिङस्थित रोमिन विश्वविद्यालयका प्राध्यापक शी यिनहोङले चीनले ल्याएको शान्ति प्रस्ताव आजको आवश्यकता भएको बताएका छन्। ‘युक्रेनमा जारी युद्धबारे चीनले आफ्नो धारणा परिवर्तन गरेको छैन। १२ बुँदामा उसका धारणा र युक्रेनको वर्तमान अवस्था केलाइएको हो,’ प्राध्यापक शीले एपीसँग भनेका छन्।

चीनले प्रस्तुत गरेको योजनामा रुस र युक्रेन दुवै सहमत हुने अवस्था नरहेकाले युद्धबारे चीनले आफ्नो नयाँ धारणा निर्माण गर्नुपर्ने शीको सुझाव छ। ‘चीनले आफ्नो तटस्थता विश्वलाई फेरि एकपल्ट बुझाउनु पर्ने भएकाले १२ बुँदा सार्वजनिक गरेको हो। चीन न त अमेरिका र नेटोको व्यवहारलाई समर्थन गर्छ न त रुसको व्यवहारलाई मान्यता दिन्छ,’ शी भन्छन्।

युक्रेन युद्ध रोक्न चीनले प्रस्तुत गरेका १२ बुँदा :
१, सबै देशको स्वाधीनताको सम्मान २, शीतयुद्ध मानसिकतको अन्त्य ३, शत्रुता कम गर्ने ४, शान्ति वार्ताको थालनी ५, मानवीय संकटको समाधान ६, नागरिक र युद्धरत पक्षहरूको कब्जामा परेकाहरूको सुरक्षा ७, आणविक प्लान्टहरूको सुरक्षा ८, रणनीतिक खतरा कम गर्ने ९, युक्रेनलाई खाद्यान्न निर्यातका लागि ब्लाक सीको बाटो खुला गर्ने रुस, टर्की, युक्रेन र संयुक्त राष्ट्रसंघबीच भएको समझदारीको पालना १०, संयुक्त रूपमा लगाइएका सबै प्रतिबन्धको अन्त्य ११, उद्योग र आपूर्ति व्यवस्थालाई स्थिर राख्ने १२, युद्धपछिको पुनःनिर्माण

युक्रेन युद्धको एक वर्ष : ‘पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ’

प्रकाशित: १२ फागुन २०७९ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =