सी चिनफिङ रुस जानुको वास्तविक अर्थ

हिमाल प्रेस ७ चैत २०७९ १२:३३
20
SHARES
सी चिनफिङ रुस जानुको वास्तविक अर्थ ग्राफिक्स फाइनान्सियल टाइम्सबाट साभार

‘अन्तर्राष्ट्रिय परिवेश अब नयाँ बिन्दुमा पुगेको छ। आजको विश्वमा दुई प्रकारका बतास चलिरहेका छन्। एउटा पूर्व र अर्को पश्चिमबाट। मलाई लाग्छ पूर्वबाट चलेको बतास पश्चिमबाट चलेको बतासमाथि प्रभुत्वशाली बनिरहेको छ।’

झट्ट सुन्दा यो रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोमा दिनसक्ने अभिव्यक्तिजस्तो लाग्छ। खासमा यो अभिव्यक्ति माओ जेदोङको हो। सन् १९५७ मा मस्को पुगेपछि माओले यसो भनेका थिए।

हुन त सीको प्राय: अभिव्यक्तिमा माओको विचार झल्किन्छ। सी भनिरहन्छन्, ‘पूर्व बलियो बन्दैछ, पश्चिमचाहिँ कमजोर।’ उहिल्यै माओको विचार थियो, पश्चिमा जगत् कमजोर बन्दा चीन र रुसलाई फाइदा छ। उनी दुई देश मिलेर पश्चिमालाई कमजोर बनाउँदै जानुपर्छ भन्थे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माओको विचारमा सहमत छन्। अहिले आएर सी पनि यही कित्तामा छन्।

सी पश्चिमा जगत्‌को नेतृत्व गर्ने अमेरिकाको  बारम्बार आलोचना गर्छन्। उनले दुई साताअघि पनि अमेरिकाले चीनलक्षित ‘घेराबन्दी, नियन्त्रण र दमन’ को नीति लिइरहेको अभिव्यक्ति दिएका थिए।

विश्व आणविक द्वन्द्वतर्फ धकेलिएका कि भन्ने चिन्ता भइरहँदा आणविक हतियार भएका दुई देशका नेता मस्कोमा भेटघाट गरिरहेका छन्। सन् १९५७ मा माओले सम्भावित आणविक युद्धबारे टिप्पणी गरेका थिए। ‘आणविक युद्ध भइहाल्यो भने विश्वका आधा मानिस मारिनेछन्। बाँकी रहेकाले साम्राज्यवाद ध्वस्त पार्नेछन् र सजाजवादको स्थापना गर्नेछन्,’ माओले त्यसबेला मस्कोमा भनेका थिए। माओको यो अभिव्यक्तिले सबै छक्क परेका थिए। सोभियत संघका लागि पनि उनको भनाइ पच्नेखालको थिएन।

सी भने माओभन्दा फरक परिचय बोकेर रुस पुगेका छन्। त्यहाँ उनले आफूलाई शान्तिप्रेमी नेताका रूपमा प्रस्तुत गरिरहेका छन्। इरान र साउदी अरबजस्ता कट्टर प्रतिद्वन्द्वीहरूलाई एक ठाउँमा ल्याउन मध्यस्थता गरेकाले पनि सी यतिबेला उत्साहित छन्।

चीनले केही समयअघि युक्रेनमा युद्ध रोक्न १२ बुँदाको सुझाव प्रस्तुत गरिसकेको छ। पुटिनसँग मंगलबार हुने औपचारिक वार्तामा सीले युद्धविरामको प्रस्ताव राख्न सक्छन्। पुटिनसँगको औपचारिक भेटघाट सकिएपछि सीले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई टेलिफोन गर्ने सम्भावना छ।

सीसँग कुराकानी गर्न जेलेन्स्कीलाई कुनै समस्या छैन। रुस र युक्रेन दुवै देशका प्रमुखसँग कुरा गर्नु सीका लागि कूटनीतिक सफलता हुनेछ। सी त्यसै पनि पुटिनमाथि प्रभुत्वशाली बन्न सक्ने अवस्था छ। तर सी यो विकल्प प्रयोग गर्न चाहन्छन् वा चाहँदैनन्, तत्काल जवाफ दिन सजिलो छैन।

यहाँनेर एउटा प्रश्न उठ्छ। त्यो हो, के युक्रेनले चीनको शान्ति प्रयासलाई शंकाको दृष्टिले नहेरी पूर्ण रूपमा स्वागत गर्छ? यो प्रश्न उठ्ने कारण हो, जेलेन्स्की पश्चिमा जगत्‌सँग नजिक हुनु। अनि पश्चिमा जगत्‌ले  चीनको प्रयासलाई शंकाका दृष्टिले हेर्नु। फेरि युक्रेन युद्ध रोक्न सी साँच्चै तयार छन् वा युद्ध रोक्न सक्छन् भनेर भन्न सकिने अवस्था पनि छैन।

हो, उनले इरान र साउदीबीच मध्यस्थता गरे। उनले त्यसो गर्न किन सके भने इरान र साउदी दुवै देश समझदारी गर्न तयार थिए। तर यहाँ त चीन तटस्थ छैन। किनभने चीनले आजसम्म रुसको आलोचना गरेको छैन। संयुक्त राष्ट्रसंघमा रुसविरुद्धको मतदानमा अनुपस्थित भए पनि चीन युक्रेनमा भइरहेको युद्धको मुख्य कारण पश्चिमा जगत्‌लाई मान्छ।

केही दिनअघि मात्र चीनका नयाँ विदेशमन्त्री किन गाङले चीन र रुसबीचको सम्बन्धसँग विश्व राजनीतिलाई डोर्‍याउने तागत रहेको बताएका थिए। अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध जारी गरेको पक्राउ पुर्जीलाई लिएर पनि चीन रुसकै पक्षमा छ।

युक्रेनमा युद्ध रोक्न चीनले प्रस्तुत गरेको १२ बुँदे प्रस्तावमा रुसले युक्रेनबाट फौज फिर्ता लानुपर्ने समेत भनेको छैन। यस्तोमा चीनले युद्धविरामको प्रस्ताव राखे रुसले सकारात्मक जवाफ दिनसक्छ। किनभने रुसलाई के थाहा छ भने रुसी फौजले कब्जा गरेको भूभाग फिर्ता नभएसम्म युक्रेन युद्धविरामका लागि सहमत हुने छैन। फेरि युद्धविराम भइहाले रुसले त्यसको उल्लंघन गर्ने सम्भावना छ। रुसको विगत नै युद्धविराम उल्लंघनकर्ताको छ।

यति हुँदाहुँदै पनि सी भने चीनलाई मध्यस्थताकर्ताका रूपमा अघि सारिरहेका छन्। किनभने यसो गर्दा चीनलाई फाइदा छ। विशेषगरी अमेरिकाविरुद्धको अभियानमा चीनलाई आफ्नो यो नयाँ परिचय काम लाग्छ। अमेरिका विश्वलाई विभाजित गर्नमा तल्लीन रहेको आरोप चीनले लगाउने गरेको छ। विश्वलाई मित्र र दुश्मनमा विभाजन गरेपछि हालुमुहाली गर्न सकिन्छ भन्ने मानसिकतामा अमेरिका रहेको तर आफू भने विश्वलाई एक बनाउने अभियानमा होमिएको सन्देश दिन चीन चाहन्छ। चीनको यो सन्देशले ‘ग्लोबल साउथ’ प्रभावित हुने सम्भावना रहेका कारण अमेरिका झस्किएको छ।

शान्तिवार्ताका लागि प्रयास गर्ने भन्दै रुस पुगेका सीको पुटिनसँगको वार्ताले परिस्थिति साम्य होइन, झनै गम्भीर बनाउने देखिन्छ। किनभने सीसँगको भेटलाई पुटिनले आफूलाई चीनले समर्थन गरिरहेको बुझ्नेछन्। यसकारण आउँदा दिनमा पुटिन झनै आक्रामक हुने सम्भावना छ। रुस–चीन सम्बन्धलाई नजिकबाट नियालिरहेका रुसी विश्लेषक अलेक्जान्डर गाबुएभ भन्छन्, ‘सीको यो भ्रमण शान्ति स्थापनाका लागि हुँदै होइन। यो त रुससँग सम्बन्ध अझ गहिरो बनाउने चीनको दाउ मात्र हो। किनभने त्यसले चीनलाई फाइदा हुनेछ।’

रुससँग सम्बन्ध अझ बलियो बनाउँदा केही महत्त्वपूर्ण आर्थिक फाइदा हुने तथ्य चीनलाई थाहा छ। पश्चिमा जगत्‌ले रुसी तेल र ग्यास खरिद गर्न प्रतिबन्ध लगाएका बेला चीन भने सस्तो दरमा खरिद गरिरहेको छ।

सी र पुटिनले अबको भेटमा ग्यासको नयाँ पाइपलाइन निर्माणको सहमति गर्ने सम्भावना प्रबल छ। पश्चिमाले खरिद नगर्ने कयौँ वस्तु चीनले रुसतर्फ पठाउन सक्छ। जस्तै चीनमै निर्माण गरिएको ‘सेमिकन्डक्टर चिप’ सम्मिलित विद्युतीय सामग्रीदेखि सवारीसाधनसम्म। चीन र रुस अमेरिकी डलरको विकल्प खोजीमा पनि छन्। रुससँगको व्यापारलाई महत्तव दिइरहँदा चिनियाँ व्यापारी भने भयमा छन्, त्यो हो चीनमाथि अमेरिकाको सम्भावित आर्थिक प्रतिबन्ध।

पुटिनले सीसँगको वार्तामा सैन्य सामग्री उपलब्ध गराउन आग्रह गर्न सक्छन्। जारी युक्रेन युद्धमा रुसलाई तोप गोला र क्षेप्यास्त्रको अभाव रहेको बताइँदैछ। अभाव पूर्ति गर्न रुसले चीनसँग सहयोग माग्ने अनुमान छ। अमेरिकाले गत महिना नै चीन रुसलाई सैन्य सामग्री उपकरण उपलब्ध गराउने विषयमा सोचिरहेको दाबी गरेको थियो। यस किसिमको सहमति भइहालेमा गोप्य राखिनेछ।

हालको परिस्थितिमा चीन र रुस नजिक रहे पनि कुनै दिन यी दुई देशबीच दूरी बढ्ने अनुमान कतिपय अमेरिकी विश्लेषकको छ। सन् १९७० को दशकमा अमेरिकाले चीनलाई रुससँगको गठबन्धनबाट अलग्याएको थियो। त्यो दिन फेरि आउला भन्ने आशा ती विश्लेषकको छ। तर यो सम्भावना क्षितिजभन्दा पर छ।

सत्य के हो भने सी र पुटिनसँगै उभिएको तस्बिरले प्रस्ट सन्देश प्रवाह गर्नेछ। चीन र रुस यतिबेला सबैभन्दा नजिकका मित्र देश हुन्। यो मित्रताको एउटै कारण ती दुई देशको अमेरिका र अन्य पश्चिमा जगत्‌सँगको प्रतिद्वन्द्विता हो।

अन्तर्राष्ट्रिय राजनीतिका जानकार जिडियोन राकमनले फाइनान्सियल टाइम्सका लागि लेखेको लेखको भावअनुवाद।

प्रकाशित: ७ चैत २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =