सडक निर्माणमा गैरजिम्मेवारी

ठेकेदार नेताले अलपत्र पारेका सुर्खेतका सडक

रमा केसी १० असार २०८० १२:१७
86
SHARES
ठेकेदार नेताले अलपत्र पारेका सुर्खेतका सडक सुर्खेतस्थित निर्माणाधीन सडक। तस्बिर : रमा केसी

सुर्खेत– रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सुर्खेतका १४ सडक अपलपत्र पारेको छ। प्रतिनिधिसभामा दैलेखको प्रतिनिधित्व गर्ने दिकपाल शाहीको अनक जयदेवी जेभीले पश्चिम सुर्खेतको बाडिचौरदेखि खम्बागाडे सडक निर्माण अलपत्र छाडेको छ।

राजनीतिमा सक्रियसँगै निर्माण व्यवसायीको काम गरिरहेका ‘नेता ठेकेदार’का कम्पनीले समयमै सडकको काम नगरेपछि सुर्खेतका स्थानीयले विरोध गर्न थालेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत ठेकेदार सांसदहरूलाई खोजी गरिदिन आग्रह गरेका छन्।

सडक निर्माण कार्य ढिला हुँदा धूलो र खाल्डाखुल्डीले स्थानीयलाई सताएको छ। वर्षायाममा हिलोले सवारीसाधनको आवातजावतमा ल्याउने समस्या छँदैछ।

स्थानीय उषा बुढाथोकीले ९/१० वर्षदेखि मंगलगढीचोक-काँक्रेविहार- शिवमन्दिरको सडक नबन्दा सास्ती पाइएको बताउँछिन्। ‘हामीलाई यो सडकले वर्षौँदेखि दुःख दिएको छ,’ उनले भनिन्, ‘सडक बनाउने ठेक्का लिएकाले काम गरेका छैनन्, त्यसको मार हामीले खानुपरेको छ।’

मंगलगढीचोक-शिवमन्दिर सडक कालोपत्रेका लागि २०७८ मंसिरमा कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालयले अमर सिस्ने नेपाल मेघा कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। दुई वर्ष पूरा हुन लाग्दासमेत २४ सय मिटर सडकको काम २७ प्रतिशत मात्र सकिएको छ।

१२ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरेको सडकका लागि हालसम्म पौने दुई करोड भुक्तानी भएको छ। तर नाला बनाउन निर्माण सामग्री नभएको भन्दै काम बन्द गरिएपछि स्थानीयले विरोधस्वरूप केही महिनाअघि बाटो बन्द गराएका थिए। सडकको काम सुरु गर्ने सहमति भएपछि मात्रै स्थानीयले विरोध फिर्ता लिए।

ठेकेदार दीपेन्द्र शाहीले काम गर्ने टोलीहरूले फट्याइँ गर्दा सडक बन्न ढिलाइ भएको बताए। उनका अनुसार अर्को समस्या बजेट समयमै निकासा नहुनु पनि हो। ‘आर्थिक मन्दीका कारण उधारो सामान कसैले दिन मान्दैनन्,’ उनले भने, ‘आज एउटा सरकारसँग कुरा गर्‍यो भोलि अर्को हुन्छ, एउटा सरकारले गरेको काम अर्कोले मान्दैन।’

त्यस्तै कान्छाराम निर्माण कम्पनीले १२ करोड ९४ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएर वीरेन्द्रनगरका १४ वटा सडक अलपत्र पारेको छ। कान्छारामले भौतिक पूर्वाधार विकास निर्देशनालयसँग २०७८ भदौ १७ गते यी सडक निर्माणको ठेक्का लिएको थियो।

गत फागुन २८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ६ वटा सडकमा नाला र ग्राभेलको काम गरेर कम्पनी सम्पर्कविहीन भएको छ। पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि निर्देशनालयले सम्झौता रद्द गर्ने प्रक्रिया थालेको छ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर खम्बागाडे सडकको निर्माण कार्य पनि सुस्त गतिमा चलेको छ। यो सडक अनेक जयदेवी जेभिले ४२ करोड ४० लाखमा ठेक्का लिएको छ। २०७८ असारमा सम्झौता भएको निर्माणको काम २०८१ असारभित्र सम्पन्न गर्नुपर्नेछ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार चालु आवको वैशाखसम्म प्रदेशमा ७३.९ किलोमिटर सडक ग्राभेल गरिएको छ। यस्तै ३२९ किमि कच्ची सडक निर्माण भएको र १५ किलोमिटर कालोपत्र गरिएको मन्त्रालयका सूचना अधिकारी भीमबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: १० असार २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =