सेवालाई सरल र सहज पार्दै काभ्रे प्रशासन

हिमाल प्रेस ९ असार २०८० १३:४५
30
SHARES
सेवालाई सरल र सहज पार्दै काभ्रे प्रशासन

काभ्रे– जिल्ला प्रशासन कार्यालय काभ्रेले पछिल्लो समय आफ्नो सेवा प्रवाहलाई सजिलो बनाएको जनाएको छ। यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

चालु आर्थिक वर्षको ११ महिनाको समीक्षाका क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयभित्रका प्रशासनिक सेवा प्रवाह सजिलो बनाइएको बताए।

उनका अनुसार सार्वजनिक बिदाको दिनमा समेत सेवा दिइएको, अतिरिक्त समय (बिहान/बेलुका)समेत सेवा प्रवाह गरेको, एक स्थानदेखि अर्को स्थान जानुपर्ने अवस्थालाई कम गरिएको, सम्बन्धित सेवा एकत्रित गरिएको, एक प्रकृतिको सेवा एकै लहरमा राखिएको, टाइम तथा टोकन प्रणाली लागु गरिएको, सेवाको मिति समय र सेवाग्राहीलाई प्रक्रियासमेत उल्लेख गरी टाइम कार्ड वितरण गरिएको, राहदानी आवेदनमा डबल स्क्रिनको व्यवस्था गरिएको छ।

यस्तै नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाका क्षेत्रमा नागरिकले थोरै समयमा सहज रूपमा सेवा प्राप्त गरेको पौडेलको भनाइ छ।

राष्ट्रिय परिचयपत्रका लागि जेठ महिनामा मात्रै २ हजार ९ सय ३३ र राहदानीका लागि २ हजार ४ सय २१ ले फोटो खिचाएका छन्। नयाँ नागरिकता १ हजार ६ सय ८९ ले प्राप्त गरेका छन् भने प्रतिलिपि नागरिकता ९ सय ८५ जनाले प्राप्त गरेको उनले जानकारी दिए।

स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा निरन्तर अन्तर्क्रिया तथा सूचना प्रवाहमा वृद्धि, प्रक्रिया पुगेकै समयमा सेवाको सुनिश्चिता गरेका कारण सेवाको संख्ययामा उल्लेख्य वृद्धि भएको जनाइएको छ।

यस्तै कार्यालयले विपद् संकट व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको ३ वटा खोज तथा उद्धारसम्बन्धी अभ्यास तथा प्रतिकार्य योजना तयारी गरेको पौडेलको भनाइ छ।

कार्यालयको भौतिक संरचना थप मिलान गरी सेवा प्रवाह गर्ने डेस्कको व्यवस्थापन गरिएको, राहदानी, नागरिक सहायता, दर्ता चलानी तथा संघ संस्थाका लागि अलग्गै डेस्क खडा गरिएको, बैठक कक्ष, पार्किङस्थल तथा प्रांगण निर्माण गरिएको उनले बताए।

यस्तै निरन्तर सरसफाइको प्रबन्ध, सेवाग्राहीको प्रतीक्षास्थलको व्यवस्था र आफ्नै निर्माणाधीन भवनको मुद्दाको पहिलोपटक सुनुवाइ भएको उनले जानकारी दिए।

कार्यालयमा आएका शतप्रतिशत गुनासोको सुनुवाइ गरिएको तथा सबै उजुरीउपर कारबाही सुरु गरिएको छ भने मुद्दा फछ्र्योटलाई प्राथमिकता दिइएको पौडेलको भनाइ छ।

अगाडिका ४ महिनामा दुर्गम मानिएको महाभारत गाउँपालिकाबाट ३ गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको, खानीखोला गाउँपालिकालाई सुत्केरी उद्धार कार्यक्रममा समेट्न सिफारिस, महिला बालबालिका वैदेशिक जगारमा आश्रित परिवार केन्द्रित कार्यक्रम सञ्चालन तथा जिल्लाका सहिदको सूची यकिन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =