उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिट न्यायाधीश मनोजकुमारको इजलासमा

हिमाल प्रेस ७ असार २०८० ११:४४
26
SHARES
उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिट न्यायाधीश मनोजकुमारको इजलासमा सर्वोच्च अदालत

काठमाडौँ- उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ। चलाउनेले आफूलाई आक्रमण गर्नेहरूविरुद्ध मुद्दा नलाचउने सरकारको निर्णय बदर गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेको थियो।

सरकारको निर्णय महान्यायाधीवक्ता कार्यालय ‍हुँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई आक्रमणकारीहरू विरुद्धको मुद्दा फिर्ता लिन आइतबार निर्देशन दिइएको थियो। उक्त निर्देशन प्राप्त भएपछि मुद्दा फिर्ता लिन सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा फिर्ताको निवेदन पेस गरिसकेको छ।

चलाउनेलाई ०७७ असोज २० गते योगेन्द्रबहादुर रावल, हरिप्रसाद आचार्य, रुपेश शाह, रविन कुमार लामा, सयुज श्रेष्ठ, दीपकराज ओझासहितले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उक्त घटनापछि उनीहरुविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो। उक्त निर्णय बदर गर्न माग गर्दै चलाउनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्ष बनाएका छन्। उनले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्।

प्रधानमन्त्रीले बुधबार राति एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै चलाउनेको स्वास्थ्य अवस्था ठिक भएकोले मुद्दा फिर्ता लिने निर्णय गरिएको बताएका थिए। उनको यो भनाइको निकै आलोचना भइरहेको छ।

प्रकाशित: ७ असार २०८० ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =