संखुवासभा बाढी पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ६ असार २०८० ११:४२
4
SHARES
संखुवासभा बाढी पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

संखुवासभा– संखुवासभामा अविरल वर्षासँगै आएको बाढी पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी -किमाथांका सडक ठप्प भएको हो।

बुधबार राति वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका-५ को मुढे र मकालु-३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका-५ मा मुढे पहिरो हटाउन थालिएको उनले जानकारी दिए।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाको भनाइ छ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।

१७ घरपरिवार विस्थापित

संखुवासभामा बाढीपहिरोका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए।

बाढी पहिरोका कारण ११ घर पूर्ण क्षति भएको छ। भने छ घरमा आंशिक क्षति भएको डीएसपी गोदारको भनाइ छ। बाढी-पहिरोबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन्।

बाढी-पहिरोका कारण चैनपुर नगरपालिकामा ८, पाँचखपन नगरपालिकामा ४, सभापोखरी गाउँपालिकामा ४ र मकालु गाउँपालिकामा १ घरपरिवार विस्थापित भएको डीएसपी गोदारले जानकारी दिए।

शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ।

अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ। बाढीपहिरोबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत आयोजनाका १ जना, अमर कन्ट्रक्सनका १ जना र सभाखोपरी गाउँपालिकामा २ जना बेपत्ता भएका छन्।

बाढी पहिरोका कारण जिल्लाका ८ वटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ।

चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले भौतिक संरचना बगाउँदा करोडौंको क्षति भएको छ।

प्रकाशित: ६ असार २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =