हाइकिङमार्फत मह गाउँको प्रवर्द्धनमा जुटे युवा

हिमाल प्रेस ३२ जेठ २०८० १३:००
6
SHARES
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धनमा जुटे युवा

पोखरा– शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। २० घरमा मगर तथा ३ घरमा गुरुङ जातिको बसोबास रहेको छ।

गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ। उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नांगा आँखा जुधाउन पाइनु यहाँको विशेषता हो।

दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्त्व चुलिएको छ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवम् यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्।

मह गाउँकै रूपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृंखला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए। स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मूल नाराका साथ विगत ३ वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौं’, उनले भने।

‘प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई १ दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनको भनाइ छ।

दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले जनाए।

दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रूपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवम् पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए।

दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ।

तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ।

मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्द थापाको भनाइ छ। स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो १ हजार ५ सयमा बिक्री भइरहेको जानकारी दिए। मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ।

पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरको भनाइ छ।

दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ।

प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी ०६५ मा नेपालकै पहिलो घरवास(होमस्टे) सुरु भएको स्यांजाको सिरुबारी गाउँ पुगेका थिए। त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिए।

घरवास चलाउन ०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन्। घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ।

आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिए। घरवासमा आउने पर्यटकका लागि १ हजार चार सयको प्याकेज उपलब्ध छ।

यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ। प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ।

मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो। कात्तिक-मंसिरमा बालन नाच, मंसिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन्।

चैत-वैशाखमा वरपरका जंगलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो-कसैको मन लोभ्याउने गर्दछ। गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तील थापामगरको भनाइ छ।

दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटको भनाइ छ।

‘दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्’, उनले भने। पृथ्वी राजमार्गको कोत्रेबाट ४/५ घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ।’

प्रकाशित: ३२ जेठ २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =