चितवनमा ३ हजार गाई भैंसीलाई दिइयो लम्पी स्किनविरुद्धको खोप

हिमाल प्रेस ३२ जेठ २०८० १०:३२
6
SHARES
चितवनमा ३ हजार गाई भैंसीलाई दिइयो लम्पी स्किनविरुद्धको खोप

चितवन– चितवनका ३ हजार ३ सय ८० गाई भैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका २ हजार ९ सय ९०, रत्ननगर नगरपालिकाका ३ सय ४० र राप्ती नगरपालिकाका ५० गाई भैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैंले खोप खरिद गरी लगाएको उनले जानकारी दिए।

प्रदेश सरकार र संघीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो। ‘सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन। अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ,’ उनले भने।

कार्यालयमा बजेट नहुँदा कृषक आफैंले खोप खरिद गरेका हुन्। अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैं खोप खरिद गरी लगाएका छन्। कार्यालयले अहिलेसम्म ५ हजार गाई भैंसीलाई औषधि वितरण गरेको उनले जानकारी दिए। रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उनले जानकारी दिए।

रोग र यसको नियन्त्रण उपायबारे सर्वसाधारणलाई जानकारी दिइएको आचार्यको भनाइ छ।

लम्पी स्किनका कारण गाई भैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ। जिल्लामा हालसम्म चार हजार एक सय गाई भैंसी यस रोगबाट प्रभावित भएका छन्। जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ।

यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैंसी पालिएको छ।

गाई भैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैंसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यको भनाइ छ। रोग लाग्नबाट बचाउनका लागि लम्पी स्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनले बताए।

प्रकाशित: ३२ जेठ २०८० १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =