‘नालायक’ शिक्षक

संगीता श्रेष्ठ ३२ जेठ २०८० ९:५०
382
SHARES
‘नालायक’ शिक्षक सांकेतिक तस्बिर। साभार : युनिसेफ

भनिन्छ, ‘विद्यालय बालबालिकाको दोस्रो घर हो।’ घरपछि उनीहरूले आफूलाई कहीँकतै सुरक्षित महसुस गर्छन् भने त्यो हो, विद्यालय। तर पछिल्लो समय विद्यालय नै केटाकेटीका लागि असुरक्षित मात्रै होइन उनीहरूका ‘प्राण भक्षक’ बनेका छन्।

शिक्षकको अभद्र व्यवहार विद्यार्थीको आत्महत्याको कारण बन्दै छ। विद्यालयको प्रताडना सहन नसक्दा कलिला बाबुनानीले अनाहकमा ज्यान फालिरहेका छन्। विद्यालयको शुल्क तिर्न नसक्दा जीवनसँग हार्ने विद्यार्थीको संख्या पनि उत्तिकै छ। विद्यालयको बेहोरा देखेर ‘पढ्नुभन्दा मर्नु जाती’ भन्ने सोच विद्यार्थीमा बढ्दै गएको मनोचिकित्सकहरूको बुझाइ छ।

०००
केही दिनअघि चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरिन्। परीक्षा हलबाट शिक्षकले जबर्जस्ती निकालिदिएपछि बीडीएस चौथो वर्ष अध्ययनरत सिम्रन थापा आफ्नै ज्यानकी दुस्मन बनेकी हुन्।

वैशाख २७ मा उनलाई शिक्षकले मानसिक तनाव दिएर जबर्जस्ती परीक्षा हलबाट निकालेको उनका सहपाठीले बताएका छन्। उनीमाथि चिट चोरेको आरोप थियो। शिक्षकको अपमानबाट तनावमा रहेकी उनले कोठामा फर्किएपछि आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

धादिङ, ज्वालामुखी गाउँपालिका-७ चैनपुरका १९ वर्षीय जितबहादुर सार्कीले पनि ज्यान फाले। पढाइमा अब्बल उनी कक्षा १२ का विद्यार्थी थिए। बुबा अपांगता भएयता भाइबहिनीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आएका उनी वैशाख २० मा प्रवेशपत्रका लागि विद्यालय गए। उनलाई तिर्न बाँकी शुल्क मागियो। हिसाब गर्दा २१ सय रुपैयाँ तिनुपर्ने भयो। केही दिनअघि बुबाको उपचारमा सबै पैसा खर्च गरेका उनीसँग खल्तीमा एक सुको थिएन।

उनको पारिवारिक समस्या विद्यालयलाई थाहा नभएको पनि होइन। तर शिक्षकहरूले उनको पीडा बुझेनन्। पैसा तिरेपछिमात्रै प्रवेशपत्र दिने भने। रित्तो घर फर्किएका जितबहादुरले त्यही रात आत्महत्या गरे। परीक्षा दिन नपाउने भएपछि आत्महत्या गरेको अभिभावकको दाबी छ।

गत माघमा झापाको गौरीगन्ज गाउँपालिका-३ की १७ वर्षीया सोनी राजवंशी झुन्डिएको अवस्थामा फेला परिन्। कक्षा ११ मा पढिरहेकी उनलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा गौरीगन्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई प्रहरीले पक्राउ गर्‍यो।

दास विद्यालयका अनुशासन विभाग प्रमुख हुन्। अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेका थिए। त्यही साँझ उनले आत्महत्या गरेकी थिइन्। शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी सोनीले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ।

०००

विद्यार्थीलाई आत्महत्यासम्म पुर्‍याउने मान्छे शिक्षक बन्न लायकै नभएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। ‘पैसाकै कारण विद्यार्थीलाई परीक्षाबाट वञ्चित गर्ने र सबैसामु अपमानित गर्नेहरू शिक्षक बन्नलायक मान्छे होइनन्,’ उनी भन्छन्।

कोइरालाका अनुसार विद्यार्थीसँग दुई किसिमले व्यवहार गरिन्छ, चाइनिज र अमेरिकी। चाइनिज तरिकामा माया र नियन्त्रण दुवै हुन्छ। त्यसमा मायासँगसँगै नियन्त्रणलाई प्राथमिकता दिइन्छ। जस्तै : पढे कि पढेनन्, गृहकार्य गरे कि गरेनन्। पढ्न दबाब दिइन्छ। अमेरिकी तरिकामा विद्यार्थीलाई स्वतन्त्र छोडिन्छ। नियन्त्रण गरिन्न। दबाब दिइन्न। तनाव व्यवस्थापन गर्न पनि सिकाइन्छ।

‘अमेरिकामा विद्यार्थीका लागि शून्य सहनशीलताको नीति अपनाइन्छ,’ कोइराला भन्छन्, ‘केही गडबड भए फलानो नम्बरमा फोन गर है’ भनिन्छ। हाम्रोमा त्यस्तो छैन। रहरचाहिँ अमेरिकी बन्ने छ तर व्यवहार चाइनिजको जस्तो छ।’

स्कुल प्रशासन र शिक्षकको व्यवहारका कारण विद्यार्थी अन्योलमा छन्। अभिभावक र विद्यालयको दबाब पनि बालबालिकामाथि नै छ। अभिभावकले ‘जस्तोसुकै अप्ठ्यारो आइपरे पनि सहनुपर्छ’ भन्छन्, स्कुलले ‘सहनु हुँदैन’ भन्छ।

‘यसरी विद्यार्थी कन्फ्युज्ड हुन्छन्,’ कोइराला भन्छन्, ‘के गर्ने, के नगर्ने मेसो पाउँदैनन्। अनि गलत निर्णय गर्न बाध्य हुन्छन्।’ मनोविद् गोपाल ढकाल पढाइको दबाबले विद्यार्थी तनावमा रहने बताउँछन्। ‘यसै पनि विद्यार्थी पढाइ र परीक्षाको तनावमा हुन्छन्,’ उनी भन्छन्, ‘त्यसमाथि शिक्षक र विद्यालयको अपमानजनक व्यवहारले उनीहरूलाई आहत बनाउँछ। अनि उनीहरू आफ्नै ज्यानको शत्रु बन्छन्।’

शिक्षक र विद्यार्थीको सम्बन्ध असल हुन मानसिक स्वास्थ्यको प्रमुख भूमिका हुने बुझाइ ‘मनका कुरा’का म्यानेजिङ डिरेक्टर अभिनय शाक्य प्रधानको छ। विद्यार्थी र शिक्षकबीच ‘असल सम्बन्ध’ स्थापित गर्न ‘मनका कुरा’ले स्कुल-स्कुलमा गएर मनोपरामर्श दिने गरेको छ। त्यससम्बन्धी तालिम दिन्छ।

‘कहिलेकाहीँ शिक्षकको असंवेदनशील व्यवहारका कारण विद्यार्थीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बल्झिन्छन्,’ उनी भन्छन्, ‘कुनैकुनै शिक्षकले ‘पढ्ने’ र ‘नपढ्ने’ भनेर विद्यार्थीमाथि ‘लेबलिङ’ गरिदिन्छन्। त्यसो गर्नु हुँदैन।’

सबैसामु कसैलाई ‘यो पढ्ने विद्यार्थी’ र कसैलाई ‘योचाहिँ नपढ्ने विद्यार्थी’ भन्दा केटाकेटीले अपमान महसुस गर्छन्। राम्रो व्यवहार गर्नुको साटो ‘बिग्रिएर गइस्’ भनेर तिरस्कार गर्दा विद्यार्थीलाई तनाव हुन्छ। त्यसै कारण उनीहरू आत्महत्याको बाटोमा लाग्छन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी विद्यालय विद्यार्थीमैत्री नहुँदा केटाकेटीले आत्महत्याको बाटो रोजिरहेको बताउँछन्। ‘विद्यार्थीको आफ्नै मनोविज्ञान हुन्छ,’ उनी भन्छन्, ‘त्यसबारे विद्यालय संवेदनशील नभइदिँदा यस्ता समस्या देखापर्ने गरेका छन्।’

यस्ता घटनामा अभिभावकको चेतनास्तरले पनि काम गरिरहेको हुन्छ। ‘आमाबुबा बच्चालाई विद्यालय पठाउनेबित्तिकै दायित्व सकिएजस्तै गर्छन्,’ भण्डारी भन्छन्, ‘बच्चाका इच्छा, चाहनाअनुसार व्यवहार गर्नुपर्छ। घरमै पनि काउन्सिलिङ गर्नुपर्छ।’

नराम्रो कुरालाई पनि मिलाएर भनियो भने राम्रो परिणाम दिने उनी बताउँछन्। ‘कहिलेकाहीँ राम्रै सोचेर गर्दा पनि त्यसको नराम्रो असर हुन सक्छ,’ उनी भन्छन्, ‘तनावमा विद्यार्थीले तुरुन्तै गलत निर्णय लिन सक्छन्। त्यसबारे विद्यालय चनाखो हुनुपर्‍यो। स्कुलमै पनि काउन्सिलिङको व्यवस्था हुनुपर्छ।’

विद्यार्थीले पारिवारिक वातावरण वा अन्य कुनै कारणले मानसिक समस्या भोगिरहेको छ भने शिक्षकले पत्ता लगाउन सक्ने तथा बेलैमा स्कुल प्रशासन र अभिभावकलाई जानकारी दिन सक्ने ‘मनका कुरा’का प्रधानको भनाइ छ।

‘विद्यार्थी र शिक्षकका लागि स्कुलको वातावरण मैत्री हुनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीको विश्वास र मन जित्न सक्नुपर्छ। त्यसमा सबैभन्दा ठूलो भूमिका बोली-व्यवहारको हुन्छ।’

शिक्षकले आफू विद्यार्थी हुँदा जेजस्तो भोगे त्यही व्यवहार विद्यार्थीसँग गर्दा पनि समस्या भएको हो। शिक्षाविद् कोइराला भन्छन्, ‘उहिले आफूले जे भोगे शिक्षकले त्यही व्यवहार आफ्ना विद्यार्थीमाथि गरिरहेका छन्। शिक्षकले तरिका नजानेर विद्यार्थीले दुःख पाइरहेका छन्। यस्तो सोच परिवर्तन हुनुपर्छ।’

विद्यालयले परीक्षालाई विद्यार्थीमाथि ‘अस्त्र’का रूपमा प्रयोग गरिरहेको मनोविद ढकाल बताउँछन्। ‘उमेरको प्रभाव, परीक्षा, पढाइ आदिको तनावका कारण विद्यार्थी जोखिममा हुन सक्छन्,’ उनी भन्छन्, ‘यसमा शिक्षक, विद्यालय व्यवस्थापन, सञ्चालकसँगै अभिभावक पनि संवेदनशील हुनुपर्छ।’

विद्यार्थीको भावनालाई ख्याल गर्नुपर्छ र उनीहरूलाई कुनै पनि दबाब दिनु हुँदैन। ‘विद्यार्थीको मनोभावनालाई बुझ्नुपर्‍यो,’ ढकाल भन्छन्, ‘कुनै किसिमका दबाब दिनुभएन।’

स्कुलको ज्यादती न्यूनीकरण गरेर यस्ता समस्याको समाधान गर्न सकिने अध्यक्ष भण्डारीको सुझाव छ। उनी भन्छन्, ‘स्कुल विद्यार्थी जाऊँजाऊँ भन्ने खालको हुनुपर्छ। जहाँ विद्यार्थीले अपमानित होइन, सम्मानित महसुस गरून्।’

प्रकाशित: ३२ जेठ २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =