यूएईका व्यवसायीले नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकारसँग माग

हिमाल प्रेस २९ जेठ २०८० १९:५२
6
SHARES
यूएईका व्यवसायीले नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकारसँग माग

काठमाडौँ- ‘नेपाल–यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीज’ संघले यूएईका व्यवसायीले नेपालमा लगानी गर्ने वातावरण बनाउन माग गरेको छ। संघका प्रतिनिधिले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर उक्त माग गरेका हुन्। त्यसका लागि यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता (फिपा) गर्न आवश्यक रहेको मन्त्री साउदलाई जानकारी गराइएकोछ।

फिपा लागू गर्दा यूएईका व्यवसायीले नेपालमा लगानी गर्न सुरक्षित महसुस गर्ने संघका अध्यक्ष पवनकुमार अग्रवालले मन्त्री साउदलाई जानकारी गराए। ‘यसले भेदभाव र अनुचित व्यवहारविरुद्ध कानुनी सुरक्षा प्रदान गर्नेछ,’ उनले मन्त्रीलाई जानकारी गराउँदै भने, ‘यूएईका धेरै व्यवसायलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछ।’

फिपा लागू गर्दा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), आर्थिक वृद्धि, रोजगारी सिर्जना र ज्ञान हस्तान्तरण बढ्ने अग्रवालले बताए। संघले परराष्ट्रमन्त्री साउदलाई नेपाल र यूएईबीचको व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाबारे अध्ययन प्रतिवेदन पनि बुझाएको छ। संघका प्रतिनिधिहरूले यूएईको स्थलगत भ्रमण गरी अध्ययन गरेका थिए। अध्ययनले दुई मुलुकबीचको आर्थिक सम्बन्धबारे उल्लेख छ।

संघले यूएईसँग दोहोरो करमुक्ति सम्झौता गर्न पनि माग गरेको छ। नेपाल र युएई बीचको दोहोरो करसम्बन्धी सम्झौता कार्यान्वयनले विशेष गरी यूएईमा बस्ने र कर तिर्ने नेपालीलाई धेरै फाइदा पुग्ने संघको भनाइ छ।

नेपाल–यूएई द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन नेपाल र युएईबीच मैत्रीसमिति गठन गर्न पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। त्यस्तै संघले नागरिक उड्डयन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने पनि औँल्याएको छ।

दुई मुलुकबीच नागरिक उड्डयन सम्झौता कार्यान्वयन भएमा दुवै देशलाई धेरै फाइदा पुग्ने प्रतिवेदनमा उल्लेख गरेको छ। संघका अनुसार नेपालले युएईमा ‘भिजिट नेपाल’ अभियान सुरु गर्नुपर्ने तथा यूएईबाट नेपालमा पर्यटक भित्र्याउन पहल गर्नुपर्ने पनि औंल्याएको छ।

प्रकाशित: २९ जेठ २०८० १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =