सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक निर्माणको तयारी

हिमाल प्रेस २८ जेठ २०८० १५:३४
8
SHARES
सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक निर्माणको तयारी

काठमाडौँ- सबै पालिकाका प्रशासनिक केन्द्रसम्म पुगेका सडक कालोपत्रे गर्ने तयारी थालिएको छ। संघीय सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्न लागेको हो। सरकारले स्थानीयस्तरसम्म सडक विस्तार गरी नागरिकको दैनिक जीवन सजिलो बनाउन पालिका केन्द्रसम्मको सडक निर्माण गर्न लागेको हो।

पालिका जोड्ने सडक पहिले संघीय सरकारले नै निर्माण गर्ने गरी छलफल भएको थियो। पालिकाका प्रशासनिक केन्द्रसम्मका सडक संघ सरकारले हुँदैन भनेपछि अहिले प्रदेशले गर्ने निर्णय गरिएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए।

उनका अनुसार विश्व बैंकसँगको ऋण सहयोगमा सडक निर्माण अघि बढाउन लागिएको हो। ऋणका लागि अहिले छलफल भइरहेको र सम्झौता भएपछि निर्माणको तयारी हुने उनको भनाइ छ। ‘अर्थ मन्त्रालयबाट सम्झौता भएपछि विभागले समन्वय गर्छ र प्रदेशमार्फत योजना कार्यान्वयनमा जानेछ,’ उनले भने।

कुनकुन पालिकामा सडक सञ्जाल पुगेको छ वा कति पुग्न बाँकी छन्, कहाँ कालोपत्रे र कहाँ कच्ची सडक छ भनी प्रदेश सरकारमार्फत यसअघि नै अध्ययन गरिएको थियो। पहिले पहिचान गरिएका योजनाकै आधारमा सडक निर्माण हुने उनको भनाइ छ। जिल्लाको केन्द्रबाट पालिका केन्द्रसम्म जोड्न सम्भावित मार्गमध्ये छोटो छानेर निर्माण हुनेछ।

अझै झन्डै २० पालिकाको केन्द्रमा सडकका लागि ट्र्याक खुल्न बाँकी रहेको विभागको विवरण छ। यी पालिकासम्म अझै हिँडेर पुग्नुपर्ने अवस्था छ। पालिका जोड्नका लागि २ सय किमी सडकको ट्र्याक खोल्नुपर्ने उपमहानिर्देशक साहले बताए।

सडक पुगेर पनि कालोपत्रे हुन बाँकीभन्दा सडक नै नपुगेका पालिकालाई प्राथमिकता दिइने उनले बताए। ‘पहिलो चरणमा सडक नपुगेको ठाउँमा हुनेछ, बाँकीमा सडक जोडिएको भए पनि कतै धुले त कतै ग्राभेल सडक रहेकामा ती सबैलाई कालोपत्रेमा स्तरोन्नति गरिनेछ।’ जग्गा प्राप्तिका लागि मुआब्जा दिने तथा नदिने टुंगिएपछि बल्ल ऋणका लागि प्रक्रियामा जाने विभागले बताएको छ।

ऋण स्वीकृत भएपछि निर्माणका लागि पहिले तयारीको काम हुनेछ। जग्गा प्राप्ति, वातावरणीय अध्ययन गरेर सकिएपछि निर्माणका लागि ठेक्का प्रक्रिया हुनेछ। देशभरका ७७ जिल्लामध्ये एउटा जिल्ला हुम्लाको सदरमुकामसम्म सडक सञ्जाल जोडिन बाँकी छ। तीबाहेक सबै जिल्लाका सदरमुकाममा सडक सञ्जाल जोडिएको छ।

सुगम जिल्लाका पालिका केन्द्रसम्म सडक पुगेको छ। दुर्गम जिल्लामा भने सदरमुकामभन्दा टाढाका पालिकामा कतै सडक नै नपुगेको र कतै पुगेको सडकको अवस्था पनि खराब छ। रासस

प्रकाशित: २८ जेठ २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =