काठमाडौँ- हरेक शब्दका आआफ्ना अर्थ हुन्छन्। जसलाई प्रसंग अनुसार प्रयोग गर्न मिल्छ। अचम्म पनि त्यस्तै एउटा शब्द हो। जसको अर्थ अनेक छन्। जस्तै, गजब, उदेकलाग्दो, नचिताएको आदि।
यसपालिको सहिद स्मारक ए डिभिजन लिग पनि त्यस्तै भयो (यहाँ ‘भयो’ शब्दको प्रयोग गर्नुको कारण हो, लिग सकिन लाग्नु), अचम्म शब्द जस्तै। जसरी विश्लेषण गरे पनि हुने खालको। लिग त गजबै भयो भन्न सकिन्छ। असहमत हुनेले अंक तालिका हेरे भयो। सँगसँगै उदेकलाग्दो पनि। किन? यसका पनि कारण छन्।
हो प्रश्न उठ्न सक्छ, गजब किन भयो? जवाफको सूची लामै बन्छ। पहिलो जवाफ त मैदानी प्रस्पिर्धा नै भइगयो। कतिसम्म भने २३ औँ चरण सकिँदा पनि यही क्लब च्याम्पियन बन्छ भन्ने अनुमान गर्न गाह्रो थियो। २४ औँ चरणमा मछिन्द्र फुटबल क्लब नेपाल पुलिस क्लबसँग हारेपछि मात्र हो, अब चर्च ब्वाइजले लिग जित्छ भन्न सकिएको।
मंगलबार थ्रीस्टार क्लबसँग भिड्नुअघि चर्च ब्वाइजलाई बस् एक अंक चाहिएको थियो, नयाँ च्याम्पियन कहलिन। खेल गोलरहित बरारबरीमा सकियो। यो नतिजा चर्च ब्वाइजलाई च्याम्पियन बनाउन काफी रह्यो।
च्याम्पियनको त टुंगो लाग्यो, रेलिगेसनको नि? यसका लागि लिगको अन्तिम दिन नै पर्खनु पर्ने भएको छ। किनभने अहिले समीकरण धमिलै छ। मंगलबारै एफसी खुमलटारले एपीएफ क्लबलाई हराएपछि त रेलिगेसनको लडाइँ झनै अनिश्चित भयो। एक खेल खेल्न बाँकी रहेको खुमलटार २७ अंकसहित १३ औँ स्थानमा छ। खुमलटारभन्दा एक स्थानमाथि थ्रीस्टार छ, जोसँग भएको अंक हो, २९। पुछारको फ्रेन्ड्सले २६ अंक जम्मा गरेको छ तर थ्रीस्टार र खुमलटारभन्दा दुई खेल कम खेलेको छ।
नेपाली फुटबल र लिगको इतिहास प्रस्ट छैन। तर यति चाहिँ भन्न सकिन्छ, लिग सुरू भएको २०११ मा हो। आयोजक थियो, नेपाल फुटबल संघ। लिगको जिम्मा २०३२ बाट अखिल नेपाल फुटबल संघ (एन्फा) को काँधमा पुर्यो। यसपालिको लिग ४४ औँ संस्करण हो। अनि चर्च ब्वाइज १६ औँ च्याम्पियन क्लब।
चर्च ब्वाइज लिग जित्ने १६ औँ फरक क्लब बनिरहँदा एउटा दुलर्भ कीर्तिमान पनि बराबरी भयो। त्यो हो, ए डिभिजन लिगमा उक्लिएकै सिजन च्याम्पियन बन्ने। यो कीर्तिमान मनाङ मस्र्याङ्दी क्लबको नाममा थियो। २०४२ सालको बी डिभिजन च्याम्पियन मनाङले २०४३ मा ए डिभिजन जितेको थियो। मनाङको कीर्तिमान त्यतिमा मात्रै सीमित छैन। लगातार तीन पटक लिग जित्ने पहिलो क्लब पनि मनाङ नै हो।
मनाङको यो कीर्तिमान चाहिँ मछिन्द्रले बराबरी गर्न सक्थ्यो। तर आखिरमा मनाङको लिग ह्याट्रिक कीर्तिमान तत्कालका लागि सुरक्षित रह्यो। किनभने पछिल्ला दुई सिजन च्याम्पियन बनेको मछिन्द्रको ध्यान उपविजेता बन्नेमा छ।
खैर, मनाङको कम्तीमा एउटा कीर्तिमान चाहिँ बराबरी भयो। कीर्तिमान बराबरी गर्ने चर्च ब्वाइजको इतिहास लामो छैन। यो क्लब स्थापना भएकै २०६६ मा मात्र हो। सी डिभिजन लिगमा उक्लिन २०७७ सम्म पर्खनु पर्यो। तर सी डिभिजन च्याम्पियन बनेर बी डिभिजनमा पुग्न चाहिँ धेरै समय लागेन। २०७८ मा बी डिभिजनमा उक्लिएको चर्च ब्वाइज त्यही वर्ष च्याम्पियन बन्यो। त्यसपछि पालो आयो ए डिभिजन च्याम्पियन बन्ने।
अर्को तथ्य, चर्च ब्वाइजका मुख्य प्रशिक्षक बाल गोपाल महर्जन पहिलो पटक ए डिभिजन लिग च्याम्पियन बनेका हुन्। यसअघि लिगमा उनले पाएको सबैभन्दा ठूलो सफलता दोस्रो स्थान हो। उनले थ्रीस्टारलाई दोस्रो बनाएका थिए। क्लब फुटबलमा योस्तरको सफलता पाउन समय लागे पनि राष्ट्रिय टिमलाई भने उनले अनेक उपाधि जिताएका छन्।
जस्तै, १९ वर्षमुनिको साफ च्याम्पियनसिप। संयोग नै मान्नुपर्छ, सन् २०१५ मा नेपाल च्याम्पियन बन्दा मुख्य खेलाडी थिए अन्जन विष्ट। अनन्त तामाङ पनि त्यही टिमको हिस्सा थिए। मंगलबार लिग च्याम्पियन बनेको चर्च ब्वाइजका मुख्य खेलाडी अन्जन र अनन्त नै हुन्। अनन्त त कप्तान पनि हुन्।
बालगोपालले नेपाललाई बंगलादेशमा भएको बगबन्धु कप २०१६ पनि जिताएका थिए। अनि त्यसको तीन वर्षपछि सागमा स्वर्ण। बालगोपालले नेपाललाई जे जे सफलता दिलाए, ती सबैको हिस्सा बने अन्जन र अनन्त। त्यसैकारण हुनसक्छ बालगोपालले यसो भनेको, ‘यो लिग उपाधि मेरा लागि गुरू दक्षिणा हो।’
अन्जनले यसअघि मनाङबाट लिग जितेको भए पनि अनन्त पहिलो पटक लिग जित्ने टिमको हिस्सा बनेका हुन्। ‘पहिलो पटक लिग जित्दा विशेष महसुस हुने रहेछ। चर्च ब्वाइजबाट खेल्ने निर्णय गरेर सही गरेछु जस्तो लागेको छ,’ अनन्तले भने।
हाल रेलिगेसन क्षेत्रमा रहेका दुई क्लबमध्ये खुमलटार चर्च ब्वाइजसँगै ए डिभिजनमा बढुुवा भएको थियो। अर्को क्लब फ्रेन्ड्स भने आधा शताब्दीदेखि ए डिभिजनमै छ। कहिल्यै घटुवा भएको छैन। रेलिगेसनको खतरामा रहेको थ्रीस्टार त तीन पटकको च्याम्पियन भइगयो। अंक तालिकामा थ्रीस्टारभन्दा एक स्थानमाथि रहेको एनआरटी पनि पूर्वच्याम्पियन नै हो।
दुईपूर्वच्याम्पियन थ्रीस्टार र एनआरटी मात्र होइन, संकटा क्लब पनि रेलिगेसनको त्रासमा छ। नेपाली फुटबलमा संकटाको इतिहास पनि कम गहिरो छैन। २०३७ देखि २०४२ भित्र तीन पटक लिग जितेको संकटालाई रेलिगेसनबाट बच्न कम्तीमा एक जित चाहिएको छ। हाल ३० अंक रहेको संकटाले अबका खेलमा फ्रेन्ड्स र एनआरटीसँग खेल्नेछ।
यसपल्ट नेपाल पुलिस क्लब र मनाङको यात्रा पनि कम रोमाञ्चक रहेन। पाँचौँ खेलमा पुगेर पहिलो अंक जम्मा गरेको पुलिसलाई रेलिगेसनको दाबेदार मानिएको थियो। तर विदेशी खेलाडी भित्र्याएपछि पुलिसले कमालै गर्यो। अहिले त पुलिस तेस्रो स्थानमा छ। विदेशी खेलाडी लिग सुरू हुनुअघि ल्याएको भए पुलिस उपाधिनजिक पुग्थ्यो कि? यो प्रश्न कयौँ पटक चेतन घिमिरेलाई सोधियो। तर यही सिजन पुलिससँग प्रशिक्षकका रू पमा डेब्यु गरेका चेतनले जवाफ सधैँ कूटनीतिक दिए। ‘योभन्दा राम्रो स्थान चाहिँ पक्कै पाइने थियो,’ उनले यही भनिरहे।
उता मनाङको सुरूवात भने पुलिसभन्दा ठ्याक्कै विपरीतको रह्यो। सुरूवाती चरणमा गरेको प्रदर्शनका आधारमा मनाङ उपाधि दाबेदारहरू को समूहमा परेको थियो। तर एक बिन्दूमा पुगेर मनाङ यसरी ओरालो लाग्यो कि अब उपाधि दाबेदारबाट रेलिगेसन दाबेदारमा पो परिणत भयो। यद्यपि लिग उत्तरार्द्धतिर लम्किँदै गर्दा मनाङले आफूलाई सम्हाल्यो। जसोतसो रेलिगेसनबाट बच्ने स्थितिमा पुग्यो।
लिग होला त? भन्ने अन्योलबीच एन्फाले मिति तोक्यो। सुरू हुने ३० दिनअघिदेखि काउन्टडाउन, प्रत्येक दिन केही न केही कार्यक्रम, एन्फाका योजना यस्तै थिए। तर रौनकबिनै लिग सुरू भयो, रौनकबिनै सकिन लाग्यो। रंगशालामा दर्शक पनि पुगेनन्। १५ हजार दर्शक अट्ने दशरथ रंगशालामा सर्वाधिक उपस्थिति थियो, ३५ सय। थ्रीस्टार र एपीएफबीचको यो खेलले सबैभन्दा बढी दर्शक तान्दा सर्वाधिक कम उपस्थिति चाहिँ आर्मी र फ्रेन्ड्सको खेलमा भयो। एन्फा कम्पलेक्समा जम्मा एक सय दर्शक पुगे।
दर्शक त रंगशाला पुगेनन् पुगेनन्, एन्फा नेतृत्वले पनि अल्छी मान्याे। लिगका धेरैजसो खेल भएको दशरथ रंगशालामा एन्फा पदाधिकारीहरू लाई बिरलै देखियो। मध्य दिउँसो खेल भइरहँदा न पारापेटमा दर्शक, न भीआईपीतिर एन्फा हाक्नेहरू, यस्तो लाग्थ्यो यो लिगको परबाह कसैलाई छैन। तर पनि लिग आफ्नै सुरमा अघि बढिरहेकै छ।
के पनि भनियो भने, राष्ट्रिय टिममा परिसकेका, घरेलु फुटबलमा स्थापित भएका खेलाडीहरू हुल बाँधिएर विदेशीएपछि लिगको स्तर घटेको छ। केही प्रशिक्षकदेखि फुटबल बुझेका भनिएकाहरू को स्वर एकै थियो, लिग पहिले जस्तो छैन। तर स्तर घटेको जनाउ दिने प्रमाण के? सायद अमूर्त तर्कलाई प्रमाण आवश्यक पर्दैन कि?
हो, वर्षौँदेखि लिग धानेका खेलाडी यसपालि नभएकै हुन्। जो गए, उनीहरू को ठाउँ नयाँले लिए। पहिले कम मौका पाएकाहरूले बढी खेल्न पाए। सायद लिगको सुन्दरता नै यही हो, नयाँलाई फक्रन दिनु। फक्रिएकाहरू हुर्कन्छन् कसरी, अहिलेको महत्त्वपूर्ण प्रश्न यही हो? ‘नयाँ खेलाडी आएका छन्। उनीहरूको वृत्तिविकासमा लागि परौँला। तर उनीहरू पनि खेल्दा खेल्दै विदेशीए भने?’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीको चिन्ता यही प्रश्नसँग जोडिएको छ।
लिग आउँदो शनिबार सकिँदैछ। त्यसपछि नेपालको ध्यान साफ च्याम्पियनसिपमा हुनेछ। नेपाली लिग सकिएको १० दिनपछि नै साफ च्याम्पियनसिप सुरू हुन लागेको हो। कसिलो तालिकाका कारण राष्ट्रिय टिममा पर्ने खेलाडीले आराम पाउने छैनन्। यस्तोमा प्रश्न उठ्नु स्वाभाविक हो। साफ च्याम्पियनसिपको तालिकासँग मिलाएर किन लिग नगरेको? यसको सिधा जवाफ त होइन तर पनि भनिहालौँ, ‘यो अचम्मको लिग हो।’