जीवनकै बाधक बन्न सक्छ ख्यालठट्टा

संगीता श्रेष्ठ २४ जेठ २०८० ९:५९
440
SHARES
जीवनकै बाधक बन्न सक्छ ख्यालठट्टा प्रतिनिधिमूलक तस्बिर।

जिस्किएको, मजाक गरिएको, माया गरेको बहानामा कसैलाई होच्याउन भनिएका ‘काली’, ‘डल्ले’, ‘हात्ती’, ‘सिकुटे’ जस्ता शब्दले मान्छेको आत्मसम्मानमा ठेस पुर्‍याउँछ। यस्ता शब्दले उनीहरूको आत्मविश्वास कमजोर हुन सक्छ। केही त मनोबल घटेर डिप्रेसनको सिकार भएका उदाहरण पनि छन्। अनि मजाक गर्दै गर्दा मान्छेलाई आफ्नै ज्यानको दुस्मनसम्म बनाउन सक्छ भन्ने हेक्का कमैले राखेका हुन सक्छन्। कसैका लागि एकछिनको रमाइलो तर भोग्नेका निम्ति जीवनभरिको दुःख बन्ने केही घटना मनोविद् विजया बिजुक्छेले सुनाएकी छन् :

घटना नं. १

२० वर्षीय एक युवकले पटकपटक आत्महत्याको प्रयास गरे। निस्फिक्री भएर खाने, खेल्ने, पढ्ने, रमाउने कलिलो उमेरमा उनी किन आफ्नै ज्यानको शत्रु बन्न खोजे त? उनले आफ्नो ज्यान यसै संकटमा पारेका होइन रहेछ। त्यसो गर्न बाध्य बनाउने उनकै साथीभाइ रहेछन्।

सानो जिउडाल र ‘क्युट’ अनुहार भएका उनलाई साथीभाइले जहिल्यै ‘गे’ भनेर जिस्काउँथे। आफू ‘स्ट्रेट’ भएको जबाफ दिइरहँदा पनि जिस्काउन छाडेनन्। उनी हैरान हुन्थे। ९-१० वर्षको उमेरबाट साथीहरूबाट ‘बुली’ हुन थालेका उनले २० वर्षको उमेरसम्म यस्तो समस्या भोगेका रहेछन्।

कसैलै हेर्‍यो कि उनको मनमा चिसो पस्थ्यो। ‘यसले पनि मलाई ‘गे’ नै ठानिरहेको छ’ भनेर तर्सिन्थे। मान्छेको जमघटबाट तर्किन थालेका उनी कलेज त जानै छाडे। बिस्तारै घरबाहिर पनि निस्कन छाडे।

तनाव झन्झन् बढ्दै गयो। कलिलो उमेरमै उनी धेरैपटक हारे। हरेस खाए। जीवनबाट आशा टुटेपछि त्यसको समाधान गर्नतिर लागे। आमाबुबाले उनलाई निरुत्साहित हुन दिएनन्। जिउने आशा दिइरहे। अभिभावकको साथसहयोगले उनी अचेल उपचारका क्रममा छन्।

घटना नं. २

भक्तपुरस्थित एउटा इन्जिनियरिङ कलेजकी एक छात्राले भर्ना भएको केही समयमै कलेज जान छोडिन्। कलेज जानु उनका लागि सगरमाथा चढ्नुभन्दा नि गाह्रो भइदियो। हरेक दिन कलेज जानुअघि हातगोडा लुला भएजस्तै लाग्थे उनलाई। मन दह्रो बनाए पनि शरीर शिथिल भएर आउँथ्यो। जेहनदार ती छात्रालाई आमाबुबाले कलेज पठाउन जोडबल नगरेका हैनन्। तर सफल भएनन्। अन्त्यमा उनले कलेज छोड्ने निर्णय गरिन्।

आमाबुबा उनले कलेज छोड्नुको कारण खोज्दै मनोविद्कहाँ पुगे। आमाबुबाको व्यस्तताले गर्दा मामाघरमा हुर्किएकी ती युवतीको ज्यान सानैदेखि खाइलाग्दो थियो। छालाको रङ पनि कालो थियो। साथीहरूले ‘काली’, ‘मोटी’ भनेर खिसी गर्थे। त्यसरी जिस्क्याउने साथीहरूको समूहबाट उनी अलग्गिइन्। आफूलाई बुझ्ने, त्यही रूपरङमा स्वीकार्ने साथी स्कुलभरि भेटिनन्। अरू साथी बनाउने आँट पनि आएन।

यो समस्याले उनलाई कक्षा १२ पढ्दासम्म पछ्याइरह्यो। साथीहरूबाट टाढिँदाटाढिँदा उनी कक्षाको अन्तिम बेन्चमा पुगिन्। एक्लै बस्न थालिन्। चुपचाप कलेज जाने। थपक्क लास्ट बेन्चमा बस्ने। अनि घर फर्किने। उनको दिनचर्या बन्यो।

अप्ठ्यारो त कक्षा १२ पछि भयो। जब उनी इन्जिनियरिङ कलेजमा पुगिन्। सानैदेखि साथीहरूबाट टाढिएर बसेकी उनलाई ग्रुपवर्क गर्न गाह्रो हुन थाल्यो। साथीको समूहमा उकुसमुकुस हुन थाल्यो।

शिक्षकले समूहमा गर्न दिएका असाइमेन्ट गर्दा छटपटिन थालिन्। समूहमा निसासिन थालेपछि उनलाई पढ्नुभन्दा कलेज छोड्नु जाती लाग्यो।

समस्या साथीहरूमा थिएन। उनको एक्लिने व्यवहारमा थियो। उनी आफ्नो समस्या समाधानका लागि वजन घटाउन जिम धाउन थालिन्। आफूभन्दा अरूको वजन छिट्टै घटेको देख्दा त्यहाँ पनि असुरक्षित महसुस भयो। उनी अडिन सकिनन्।

बाल्यकालमै साथीहरूको खिसीटिउरीका कारण डिप्रेसनकी सिकार भइसकेकी थिइन्। तर उनको समस्या न अभिभावकले बुझे न शिक्षकले। मानसिक अवसाद गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गर्नुपर्ने भयो। अहिले उनी उपचारमा छिन्।

मनोविद् विजया बिजुक्छे।

घटना नं. ३

तीन दिदीबहिनीमा जेठी दिदी दुई बहिनीभन्दा होची थिइन्। छालाको रङ पनि बहिनीहरूभन्दा अलि गाढा थियो। घरमा उनले उपनाम पाइन्- ‘डल्ली’, ‘काली’।

‘राम्रोसँग पढ नत्र कसले बिहे गर्ला’, आमाबुबाबाट सयौँ पटक सुनेकी थिइन्। आफन्त झन् के कम!। ‘यसलाई माग्न आउनेले बहिनीहरूलाई देख्यो भने तिनलाई नै बिहे गर्छन् होला’ भनिरहन्थे। यी कुराले उनलाई तनाव हुन्थ्यो। उनी ‘कन्भर्जन डिसअर्डर’ अर्थात् रूपान्तरित विकारकी सिकार भइन्। जसमा मान्छे भित्रभित्रै दुःखी हुन्छ। आफूलाई केही गर्न नसक्ने ठान्छ।

बहिनीहरूले पनि ‘यो लुगा तिमीलाई सुहाउँदैन, म लगाउँछु’ भन्दै ‘कमेन्ट’ गर्थे। उनले आफूलाई राम्रो बनाउन खोजिन् भने ‘जे गरे नि त्यही हो’ भनेर ‘डाइलग’ दिइहाल्थे।

आफन्तबाट भोजभतेरको निम्तो आयो कि उनलाई ‘प्यानिक अट्याक’ हुन्थ्यो। उनी बेहोस हुन्थिन्। त्यो बेला के भयो? कसो भयो? केही पनि याद हुन्थेन।

‘प्यानिक अट्याक’ एक किसिमको ‘एन्जाइटी डिसअर्डर’ हो। जो मनमा कुनै डर पस्दा हुने गर्छ। उचाइ र छालाको रङबारे बारम्बार सुनाइएका कुराले उनको मनमा एकदमै नराम्रो असर पारिसकेको थियो। किशोरी हुँदादेखि सुरु भएको समस्याले आमा भइसक्दासम्म पनि उनलाई छोडेन।

केही सीप नलागेपछि मनोचिकित्सककहाँ पुगिन्। त्यसपछिमात्र समस्या पत्ता लाग्यो। अनि उनले उपचार पाइन्। आफू जस्तो छु, त्यस्तै स्वीकारेर, अरूले आफूमाथि गरेका कुरामा ध्यान नदिएर र तनाव व्यवस्थापन गर्न सिकेर ४० वर्षीया उनी अहिले खुसी जीवन बाँचिरहेकी छन्।

घटना नं. ४

१० वर्षकी बालिकाको बोल्दा ओठ काम्थ्यो। बोल्न चाहन्थिन् तर स्वर निस्किनुअघि ओठ निकै हल्लिन्थे। उनको शारीरिक समस्या साथीभाइका लागि मजाकको विषय बन्यो। उनलाई विद्यार्थी साथीले मात्र होइन शिक्षकले पनि गिज्याए। सबैसामु खिस्स्याउन जानाजान उनीसँग कक्षामा प्रश्न गरिन्थ्यो। जब उनी बोल्न खोज्थिन् त्रासले स्वरै निस्किँदैनथ्यो। ओठ झन् बढी हल्लिन्थ्यो। त्यो देखेर विद्यार्थीसहित शिक्षक खित्का छाडेर हाँस्थे। अरूले खितखिती हाँसिरहँदा उनको मन रोइरहेको हुन्थ्यो।

दिनानुदिन हुने यस्ता व्यवहारले उनी असाध्यै डराउन थालिन्। बोल्नै नसक्ने भइन्। दुष्चिन्ताको समस्या देखियो। मनोविद्सम्म पुगिन्। स्वस्थ जन्मिएकी उनमा पछि देखिएको शारीरिक समस्याको कारण खोज्दै जाँदा विद्यालयमा उनी शिक्षकबाट यौन दुर्व्यवहारमा परेको पत्ता लाग्यो। ‘कसैलाई भन्यो भने जेलमा थुनिदिन्छु’ भनी शिक्षकले धम्क्याउँथे। तीनचार कक्षामा पढ्दा भएको घटनाले उनलाई पछिसम्म लखेटिरह्यो।

यौनशोषणमा परेकाले उनमा ओठ काम्ने समस्या देखिएको रहेछ। त्यसकै लागि खिसीटिउरी भएपछि उनी थप पीडित हुन पुगिन्। डिप्रेसनको सिकार भइन्। उनलाई उपचार आवश्यक पर्‍यो।

०००

दुब्लोपातलोलाई ‘सुकुटे’, ‘ख्याउटे’, ‘मरन्च्याँसे’, ‘सिलीखुट्टे’, ‘लिखुरे’ भनेर जिस्काइन्छ। ‘झोलामा ढुंगा बोकेर हिँड्नु नत्र हावाहुरीले उडाएर लग्ला’ र ‘शरीरमा हाडछालामात्र छ’ दुब्लोपातलो ज्यान भएकाहरूले आफन्त वा साथीभाइबाट सुनेकै हुन्छन्। दुब्लोपातलोलाई मात्र होइन मोटो मान्छेलाई पनि छोडिँदैन यहाँ। ‘भुस्तिघ्रे’, ‘हात्ती’ जस्ता उपनाम दिइन्छन्। कालो वर्णकालाई ‘काली’, ‘कालु’ भन्नु सामान्य मानिन्छ। अग्लो भयो भने ‘बाँस’जस्तो भनिन्छ। उचाइ कम भयो भने ‘होचो’, ‘डल्ली’, ‘पुड्के’ शब्द प्रयोग गरिन्छ।

मान्छे दुब्लो हुनु भएन, धेरै मोटो पनि हुनु भएन। धेरै अग्लो वा होचो पनि हुनु भएन। मोटायो भने ‘कस्तो मोटाको?’, दुब्लो भयो भने ‘किन दुब्लाको?’

शारीरिक बनावट र  छालाको रङबारे टिप्पणी किन?

‘जो जस्तो भए पनि मान्छेहरूलाई अरूको मामिलामा किन चासो,’ मनोविद् विजया बिजुक्छे भन्छिन्, ‘मान्छेहरूको एकछिनको रमाइलोले कसैको जिन्दगी नै खत्तम पार्छ। यो कुरा सबैले बुझ्नुपर्छ।’

शारीरिक बनावटलाई लिएर कसैलाई जिस्काउनु, गिज्याउनु, हेप्नु, हेलाँ गर्नु आदि ‘बडी सेमिङ’ भएको बिजुक्छे बताउँछिन्। ‘मोटो ज्यान भएकाहरूलाई जिस्काउने, होच्याउने गरिन्छ, मानौँ मोटो भएर उसले अपराध गरेको छ,’ उनी भन्छिन्, ‘दुब्लोलाई पनि त्यसै गरी ‘खाना नपाएको’ भनेर खिसी गरिन्छ। यो प्रवृत्ति एकदमै गलत हो।’

मान्छेको शारीरिक बनावटका आधारमा मूल्यांकन गर्नु बेठिक हो। शरीरमाथि गरिएका भद्दा टिप्पणीले मान्छेको मनोबल कमजोर बनाउँछ। आत्मविश्वास कम गर्छ। उनीहरूको आत्मसम्मानमा ठेस लाग्छ। अनि तनाव हुन्छ। तनावले डिप्रेसन निम्त्याउँछ। डिप्रेसन बढ्दै जाँदा मान्छे गम्भीर खालको मनोरोगले ग्रस्त हुन्छ। आत्महत्याको प्रयाससम्म गर्न सक्छ। उपचारका लागि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने बिजुक्छे बताउँछिन्।

‘कसैले मायाले त कसैले जिस्काएर त कसैले हेपेर काली, कालु, डल्ली, सिकुटे, मोटी वा हात्ती भन्ने गर्छन्,’ उनी भन्छिन्, ‘पीडितलाई अस्पतालको शय्यासम्म पुर्‍याउन सक्छ। त्यतिमात्र नभई उसलाई आफ्नै ज्यानको दुस्मन बनाउन सक्छ।’

शारीरिक बनावटका लागि मात्र नभई किशोरवस्थामा अनुहारमा आउने डन्डीफोरका लागि समेत बडी सेमिङ गरिने मनोविद् बिजुक्छे बताउँछिन्। ‘डन्डीफोर आउँदा ‘हेर अनुहार कस्तो देखिएको छ, उपचारमा अब कति पैसा खर्च हुने हो!’ अभिभावकका यस्ता अभिव्यक्तिले छोराछोरीलाई पीडा दिन्छ,’ उनी भन्छिन्, ‘यो पनि बडी सेमिङ हो। पहिरन, हिँडाइ, हाउभाउका लागि पनि बडी सेमिङ हुन्छ। जो एकदमै गलत हो।’

मधेशबाट आउनेका लागि ‘पानी पुरी’, ‘खाली सिसी’ जस्ता शब्द प्रयोग गरिने उनको भनाइ छ। यस विषयमा सबै मानिस सचेत हुनुपर्ने उनी बताउँछिन्। विशेष गरी अभिभावक।

‘अभिभावकलाई साइको एजुकेसन दिनुपर्छ,’ मनोविद् बिजुक्छे भन्छिन्, ‘कसरी के भनेर बडी सेमिङ हुन्छ भन्ने कुरा हरेक अभिभावकले थाहा पाउनुपर्छ। आफ्ना छोराछोरीलाई कसरी सहयोग गर्न सकिन्छ। समस्यासँग जुध्न कसरी सिकाउन सकिन्छ भन्ने कुरा आमाबुबाले बुझ्नुपर्छ।’

अरूको शरीरमाथि भद्दा टिप्पणी गर्न नहुने र त्यस्ता नकारात्मक टिप्पणीले मान्छेलाई निरुत्साहित बनाउने मनोविद् बिजुक्छेको भनाइ छ। भन्छिन्, ‘शरीरको आकार, छालाको रङबारे चिन्ता नलिई त्यसलाई जस्ताको तस्तै स्वीकार्नुपर्छ। त्यसमै खुसी हुनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =