‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप चालु सिजनको अन्तिम प्रतियोगिता सुरु

हिमाल प्रेस २३ जेठ २०८० २१:१५
4
SHARES
‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप चालु सिजनको अन्तिम प्रतियोगिता सुरु

काठमाडौँ- ‘सूर्य नेपाल गल्फ टुर २०२२–२३’अन्तर्गत अन्तिम प्रतियोगिता सुरु भएको छ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुभाष तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।

उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे। यो स्कोरमा सुभाषले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४–अन्डर ६८ मा पूरा गरे। जयराम श्रेष्ठ र शिवराम पौडेलले ३–अन्डर ६९ को स्कोरमा संयुक्त रूपमा तेस्रो स्थान बाँडे।

यसैगरी एमेच्योर खेलाडी सदभाव आचार्य २–अन्डर ७० सहित पाँचौं स्थानमा छन्। १–अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्त रूपमा छैटौँ स्थानमा छन्। यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रबि खड्का र राजेन्द्र थापा मगर संयुक्त रूपमा नवौं स्थानमा छन्।

उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकाए। दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुभाषले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुवात गरे। पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे।

आठौँ होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। ब्याक नाइनमा पनि सुभाषले उत्कृष्ट लयलाई निरन्तरता दिए। १०औँ होलमा एक सट बचाउँदा ५–पारको ११औँ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औँ र १४औँ होलमा एक–एक सट बचाउँदै उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिता सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी बनेका छन्। उनीभन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई छन्। यो प्रतियोगिताले अर्को सिजनले नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।

प्रकाशित: २३ जेठ २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =