देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीको धर्ना

हिमाल प्रेस २१ जेठ २०८० १३:४८
1.2k
SHARES
देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीको धर्ना

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा आइतबार धर्ना दिएका छन्। विद्यालयका कर्मचारीले बजेटमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमबमोजिम एकाइअगाडि धर्ना दिएका हुन्।

उनीहरूले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयका कर्मचारीको दरबन्दी सिर्जना गर्नुपर्ने, उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

विद्यालयका कर्मचारीका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा १२७ मा पूर्ण सेवासुविधासहित पेसागत स्थायित्वको विषय उल्लेख भएको तर बजेटमा नसमेटिएको भन्दै उनीहरू आन्दोलित छन्।

आन्दोलनका कार्यक्रमअन्तर्गत जेठ २१ गतेदेखि २६ गतेसम्म एकाइ अगाडि धर्ना दिने, २७ गतेदेखि असार १ गतेसम्म काठमाडौँको भद्रकालीमा रिले अनशन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुनजेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने कार्यसूची छन्।

यसअघि परिषद्को टोलीले बजेटमा शिक्षकका समस्या सम्बोधन गर्न माग गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका थिए। न्यून पारिश्रमिकमा काम गर्नुपरेको अवस्थालाई बढ्दो महँगीअनुसार बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग उनीहरूको थियो।

उनीहरूको मागमा नेपाल शिक्षक महासंघले पनि ऐक्यबद्धता जनाउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =