पशुपति नपुगेका प्रचण्डले महाकालेश्वरमा गेरुवस्त्रमा पूजा गरेपछि कसले के भने?

हिमाल प्रेस १९ जेठ २०८० १९:०६
78
SHARES
पशुपति नपुगेका प्रचण्डले महाकालेश्वरमा गेरुवस्त्रमा पूजा गरेपछि कसले के भने? महाकालेश्वरमा पूजा गर्दै प्रचण्ड र मन्त्रीहरू।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहितको टोली अहिले भारत भ्रमणमा छ। भारत भ्रमणको तेस्रो दिन प्रचण्डले मध्ये प्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन्। चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले आज तेस्रो दिन महाकालेश्वर मन्दिरको पूजा गरेका हुन्।

नेपालमा प्रशिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिरमा पूजाआजाका लागि नपुगेका प्रचण्डले महाकालेश्वरको पूजा गरेको भन्दै निकै आलोचना भइरहेको छ। प्रचण्डले महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय पैसा पनि चढाएका छन्।

प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजा गरेको विषयलाई लिएर वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पशुपतिनाथको मन्दिरसँग जोडेर आलोचना गरेका छन्।

‘पशुपतिनाथ दर्शन गर्न नहुने। पाप मोचनका लागि भारतको उज्जैन महाकालेश्वरमा चढाउन ४ लगेजमा १०८ किलो रूद्राक्ष माला लान हुने! यसले ५ हजार मात्रै होइन १७ हजारकै पाप मुक्ति हुने विश्वास’ कोइरालाले सामाजिक सञ्जालमा भनेका छन्।

कोइरालाले केही समयअघि काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको आफूले जिम्मा लिन्छु भनेको विषयलाई जोडेर टिप्पणी गरेका हुन्।

वामपन्थी विचार बोक्ने प्राध्यापक डा.जगदीशचन्द्र भण्डारीले प्रचण्डमा वैचारिक स्खलन आएको भनेका छन्। उनको टिप्पणी छ, ‘हेर आँखा च्यातेर! वैचारिक स्खलनको निर्लज्ज र अमानवीय बेहय पतनको पराकाष्ठा! माके भन्ने पार्टीका गुलामहरू!’

वामपन्थी विचारसँग नजिक अर्का प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयले पनि प्रचण्ड भौतिकवादी नभएको र पतनको बाटोमा लागेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘भौतिकवादी चिन्तनबाट पतनको यो महादुःखान्त। सायद उनी अन्तर्यमै भौतिकवादी थिएनन्।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने प्रचण्डले गेरुबस्त्र लगाएर गरेको पूजाआजालाई सकारात्मक रुपमा लिएको बताएका छन्। थापाले पूजाआजासँगै प्रचण्डकी श्रीमती सीताको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

‘प्रचण्डको यो रुपान्तरण स्थायी होस्,रणनीतिक नहोस्। उहाँकी जीवनसंगिनी सीता दाहालको स्वास्थ्य राम्रो होस्,’ थापाले भने, ‘सनातन धर्म संस्कृति र परम्परा रक्षागरेर पनि देश विकास गर्न सकिन्छ। नेपालमा धर्म निरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलो रोक्नसमेत प्रचण्डको ध्यान जाने अपेक्षा गर्दछु।’

प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेपछि एमालेका नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्। प्रचण्डले गेरुवस्त्र लगाएर मन्दिरमा पूजा गरेपछि बाँस्कोटाले क्या चेन्ज आएछ भन्दै टिप्पणी गरेका हुन्।

‘वाह! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग । सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले,’ उनले भनेका छन्, ‘प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध?समयले थप बताउँला।’ उनले प्रभुको इच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध लगाउला कि नगराउला भनेर प्रश्नसमेत गरेका छन्।

एमालेकै अर्का नेता सूर्य थापाले पशुपतिनाथ जान नमिल्ने महाकालेश्वरको पूजा आरती गर्न मिल्ने भन्दै व्यंग्य गरेका छन्। उनले भनेका छन्, ‘पशुपतिनाथमा जान नमिल्ने, गोरखनाथको पूजाआजा नगर्ने, स्वर्गद्वारी नपुग्ने, तर उज्जैनमा महाकालेश्वरको पूजा आरती गर्दै पुष्पकमल दाहाल प्रचण्ड।’

उनले सुनसरीको चतरामा भैँसी पूजापछि अहिले महाकालेश्वरमा प्रधानमन्त्री पदमा टिकिराख्न पाउँ भनि दान गरेको आरोप लगाएका छन्।
‘पहिले सुनसरीको चतरामा भैंसी पूजाको अपार महिमापछि महाकालेश्वरको धुमधाम पूजाअर्चना,’ उनले भनेका छन्, ‘श्रीमतीको स्वास्थ्यलाभ र प्रधानमन्त्री पदमा लामो समय टिक्न मनोकामना पूरा गर्न १०८ केजी मध्ये १०० दाना रूद्राक्ष र ५१ हजार भारू दान।’

भारतको १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा नेपालका प्रधानमन्त्रीलाई मध्यप्रदेशका गभर्नर मंगुभाइ पटेल, राज्यमन्त्री मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए। प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्न मन्दिर परिसरमा रातो कार्पेट बिछ्याइएको थियो। पाहुनालाई स्वागत गर्न पुजारीहरूले शंख बजाएका थिए।

पहेँलो रङको सल ओढेका प्रचण्डले दिउँसो १ः३० बजे मन्दिरको गर्भगृहमा धार्मिक अनुष्ठान गरेका थिए। पुजारीहरूले ‘श्लोक’ (भजन) सँगै जप गर्दा प्रचण्डले फूल अक्षता चढाएका थिए।

मन्दिरको दर्शन गरिसकेपछि प्रचण्ड इन्दोर फर्किएका छन्। त्यहाँ उनले राज्यपाललाई भेट्ने र स्थानीय नागरिक निकायद्वारा सञ्चालित फोहोरमैला व्यवस्थापन प्लान्टको भ्रमण गरेका छन्। मुख्यमन्त्री शिवराज सिंह चौहानले आज राति इन्दौरमा उनको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्। प्रचण्ड चार दिने भारत भ्रमणमा छन्। प्रचण्ड नेतृत्वको टोली भोलि स्वदेश फर्किनेछ।

·

प्रकाशित: १९ जेठ २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =