तनहुँ जलविद्युत आयोजना प्रभावितलाई क्षतिपूर्ति दिइने

हिमाल प्रेस १९ जेठ २०८० १३:०१
22
SHARES
तनहुँ जलविद्युत आयोजना प्रभावितलाई क्षतिपूर्ति दिइने फाइल तस्बिर।

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज-१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो।

व्यास नगरपालिका-५ बेतेनीका ९ र ऋषिङ-१ लोक्मामा नौ घरपरिवारको घर संरचनामा पुगेको क्षतिका आधारमा क्षतिपूर्ति निर्धारण उपसमितिले तयार गरेको प्रतिवेदनबमोजिम क्षतिपूर्ति रकम दिने निर्णय भएको आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए।

साथै प्याकेज-१ का संरचनाको निर्माण कार्यबाट बाँधस्थल वरपरका बस्तीमा कम्पन, आवाजसँगै धुलोलगायतबाट प्रत्यक्ष असर परेका व्यास-५ बेतेनी क्षेत्रका १६ घरधुरीलाई परिवार संख्याका आधारमा ०८० फागुन ९ गतेसम्म क्षतिपूर्तिबापत रकम उपलब्ध गराउने निर्णय भएको छ।

आयोजना निर्माणस्थल वरपर रहेका बस्तीमा भविष्यमा आउनसक्ने यस्तै प्रकारका असरको स्थलगत निरीक्षण गरी थप छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिए।

प्याकेज-२ का संरचना निर्माणका लागि व्याचिङ प्लान्ट सञ्चालन गर्दा ऋषिङ-१ मालिंगास्थित एक घरपरिवारको बस्नै नसक्ने गरी जोखिमपूर्ण अवस्था रहेकाले प्राविधिकबाट तयार गरिएको उक्त घरको मूल्यांकन प्रतिवेदनबमोजिम आयोजनाका तर्फबाट क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ।

आयोजनाका हाल तीन वटै प्याकेजको काम भइरहेको छ। प्याकेज-२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ। विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ। टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ।

प्याकेज-१ अन्तर्गत डाइभर्सन सुरुङ-१ को माथिल्लो भाग वारपार (ब्रेक थु्र) भएपश्चात् हाल यसलाई सडक सुरुङका रूपमा प्रयोगमा ल्याइएको जनाइएको छ। त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ।

प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५२ टावरको जग हाल्ने कार्य सकिएको छ। झण्डै ३३ टावरको जडान कार्य भएको छ भने शुन्य दशमलव ९ हजार ८ सय ८३ किलोमिटर तार तान्ने काम सम्पन्न भएको उनले जानकारी दिए।

९ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र सात स्थानमा जग हाल्ने कार्य भइरहेको उनले जानकारी दिए। आयोजनाको समग्र निर्माण ०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने बताइएको छ। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =