नेपाली ओलम्पियनको पुनर्मिलन शुक्रबारदेखि

हिमाल प्रेस १८ जेठ २०८० २१:२०
8
SHARES
नेपाली ओलम्पियनको पुनर्मिलन शुक्रबारदेखि

पोखरा- पर्यटकीय नगरी पोखरामा नेपाली ओलम्पियनको पुनर्मिलन हुने भएको छ। नेपाल ओलम्पियन्स संघले शुक्रबार (जेठ १९ गते)देखि २१ गतेसम्म दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो।

पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा हुन लागेको सो कार्यक्रममा करिब ५० जना ओलम्पियनले भाग लिने आयोजकले जानकारी दिएको छ।

पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौँमा भएको थियो। उपत्यकाबाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यले यसपटक पोखरामा आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष दीपक बिस्टले बताए।

नेपाली ओलम्पियनहरू १९ गते पोखरा आइसक्ने उनले बताए। ओलम्पियनरू शुक्रबार बिहान प्रभातफेरीमा जुट्ने र साँझ पुनर्मिलन तथा सम्मान कार्यक्रममा सहभागी हुनेछन्। अन्तिम दिन २१ गते संघको वार्षिक साधारणसभा हुनेछ। सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरूको अन्तरक्रिया हुने बताइएको छ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरूलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रूपमा ओलम्पिकमा सहभागी हुन सुरु हो। सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो।

झण्डै ६ दशकमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालीन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्यांक छ। त्यसमध्ये १० जना स्वर्गीय भइसकेका छन्। केही ओलम्पियनहरू भने विदेशमा छन्।

सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालीन ओलम्पियनहरूको छाता संगठनका रूपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो। सोही संघमा सदस्य राष्ट्रका रूपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो।

प्रकाशित: १८ जेठ २०८० २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =