घान्द्रुकमा ‘अन्नपूर्ण सेन्चुरी’ महोत्सव सुरु

हिमाल प्रेस १७ जेठ २०८० १९:२५
2
SHARE
घान्द्रुकमा ‘अन्नपूर्ण सेन्चुरी’ महोत्सव सुरु

पोखरा- अन्नपूर्ण आरोहण दिवसका अवसरमा तेस्रो ‘अन्नपूर्ण म्याराथन तथा सेन्चुरी’ पर्यटन महोत्सव बुधबारदेखि सुरु भएको छ। पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए। घान्द्रुकमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कार तथा संस्कृति अवलोकनका लागि पर्यटकहरू आउने भएकोले यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्ने उनले बताए। पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी रहेको बताए।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताए। महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पु¥याउँदै आएका रामबहादुर परियारलाई सम्मान गरिएको छ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ। सोही अवसमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन पनि आयोजना गर्दै आएको छ। यसअघि कोरोनाका कारण महोत्सवले निरन्तरता पाएको थिएन।

३ दिनसम्म चल्ने महोत्सवको अन्तिम दिन २० जेठमा म्याराथन प्रतियोगिता हुनेछ। पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। म्याराथनमा सहभागी हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

म्याराथन अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भइ माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ।

यसैबीच, महोत्सवअन्तर्गत खुला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। १३ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १७ जेठ २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =