सौराहामा सुँड काटिएको हात्तीले दाना खान थाल्यो

हिमाल प्रेस १० जेठ २०८० १३:३६
10
SHARES
सौराहामा सुँड काटिएको हात्तीले दाना खान थाल्यो

चितवन– सौराहामा पालिएको हात्ती चञ्चलकलीले दाना आफैं खान सुरु गरेको छ। गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए।

सुँड काटिएको एक महिनापछि पानी आफैं खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले बुधबार बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिए।

प्राविधिकहरूले अब हात्तीलाई काममा फर्काउन सकिने उनले जनाएका छन्। ‘हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु,’ उनले भने।

हात्तीले अहिले पानीले आफैं नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफैं छर्कने, जंगलमा गएर हाँगा लुछ्ने, पात टिप्नेलगायतका काम गर्न थालेको उनले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको उनको भनाइ छ।

‘हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन,’ उनले भने।

हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ। हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन्। हात्तीलाई यो ढंगको आक्रमण पहिलो पटक भएको हो।

रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ। सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ।

प्रकाशित: १० जेठ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =