अपांगता भएका बालबालिका पढ्ने स्कुलमा ‘लाखौँको भ्रष्टाचार’

हिमाल प्रेस ९ जेठ २०८० ९:४८
474
SHARES
अपांगता भएका बालबालिका पढ्ने स्कुलमा ‘लाखौँको भ्रष्टाचार’

काठमाडौँ– सुन्दा आश्चर्य लाग्न सक्छ, बौद्धिक अपांगता भएका बालबालिका पढ्ने विद्यालयमा लाखौँको भ्रष्टाचार! काठमाडौँ महानगरपालिकामा सञ्चालित एउटा विद्यालयमा २६ लाखभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियारमा अभिभावकबाटै उजुरी परेपछि विद्यालयका अभिभावक र स्थानीयसमेत चकित भएका छन्।

काठमाडौँ महानगरपालिका-३१, भीमसेनगोलामा सञ्चालित ‘निर्मल बाल विकास विद्यालय’ मा लामो समयदेखि आर्थिक अनियमितता भइरहेको आरोपमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। आयोगको निर्देशनपछि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले छानबिन प्रक्रिया अघि बढाएको छ।

उजुरीमा उल्लेख छ, ‘बौद्धिक अपांग विद्यार्थीका लागि भनी बेलाबेलामा सहयोग गर्ने भनेर छुट्ट्याइएको रकमसमेत सम्बन्धित विद्यार्थीले रकम नपाई बेहिसाबसँग हिनामिना भएको छ।’ छानबिन प्रक्रियासँगै विद्यालयकी प्रधानाध्यापक ज्योति भट्टराई खनाललाई निलम्बन गर्नुपर्ने दबाब बढेको विद्यालयका एक अभिभावकले बताए।

विद्यालयका ती अभिभावकले अनियमितताका विषयमा आवाज उठाउँदा विद्यालय प्रशासनबाट बालबालिकामाथि उल्टै विभेद गर्ने गरिएको आरोप लगाए। नाम उल्लेख नगर्ने सर्तमा ती अभिभावकले भने, ‘विद्यालयमा लामो समयदेखि अनियमितता हुँदै आएको छ। तर हामीले कुरा उठाउँदा विद्यालय प्रशासनले उल्टै बालबालिकामाथि दुर्व्यवहार गर्छ।’

विद्यालयमा आव २०७५/०७६ देखि अनुदान र खर्चको हिसाबकिताब पारदर्शी नगरेको ती अभिभावकको भनाइ छ। यस्तै आव २०७८/०७९ को २६ लाख रुपैयाँभन्दा बढी रकम बेरुजु देखिएकोमा हालसम्म मिलान नगरेको उजुरीमा उल्लेख छ।

विद्यार्थीलाई प्राप्त हुने गरेको छात्रवृत्तिमा पनि भ्रष्टाचार गरिरहेको आरोप प्रधानाध्यापक भट्टराईमाथि छ। यस्तै प्रधानाध्यापकबाहेक स्थायी शिक्षक एक जना मात्र रहेकाले प्रतिस्पर्धी ठानेर दरबन्दीसहित सरुवा गरी आफू सर्वेसर्वा भएको स्थानीय बताउँछन्।

प्रधानाध्यापक भट्टराईले भने आफूमाथि लागेको सबै आरोप निराधार रहेको बताइन्। उनले भनिन्, ‘अनियमितता गरेको भन्ने आरोप मात्र हो। कसैलाई व्यक्तिगत रूपमा रिस उठ्यो भन्दैमा भ्रष्टाचार भएको भन्ने हुँदैन। छानबिनबाट पुष्टि हुनुपर्छ। हामीसँग सबै कागजात चुस्त दुरुस्त छन्।’

उनका अनुसार विद्यालयमा सधैँ उही संख्यामा बालबालिका भर्ना हुँदैनन्। कहिले १०० भन्दा बढी हुन्छन् भने कहिले ६०/६५ जना हुन्छन्। त्यसैले कहिले ३०/३५ जना मात्रै पनि हुन्छन्। उनले भनिन्, ‘अन्य विद्यालयमा जसरी विद्यार्थी नियमित हुँदैनन्। विशेष विद्यालयमा बौद्धिक अपांगता भएका बालबालिका पढ्ने हुन्।’ उनका अनुसार छानबिन टोलीले विद्यालयमा आएर सबै कागजपत्र लगेको छ।

दातासँग हात जोडेर रकम जुटाई काम गरिरहे पनि कसैले देखिनसहेको गुनासो भट्टराईको छ। उनले भनिन्, ‘एउटा विदेशी स्वयंसेवक आयो भने डलरै दिएर गयो। यसले खाई भनेर आरोप लगाउँछन्।’  तर विद्यालयमा आवश्यक अनुदान सरकारले नै उपलब्ध गराउँदै आएको छ।

उक्त विद्यालय हेर्ने स्रोतव्यक्ति शर्मिला पोखरेलले विद्यालयमा अनियमितता भएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताइन्। उनले व्यवस्थापन समिति प्रधानाध्यापकविरुद्ध रहेकाले व्यवस्थापन समितिकै तर्फबाट उजुरी परेको हुन सक्ने आशंका व्यक्त गरिन्। उनले भनिन्, ‘प्रधानाध्यापकलाई सबै मिलेर खेदो गरेका हुन्। आर्थिक विषय पारदर्शी छ।’

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका अधिकृत तारापति खरेलले अख्तियारको निर्देशनबमोजिम उक्त विद्यालयका सम्बन्धमा छानबिन भइरहेको जानकारी दिए। उनले भने, ‘अख्तियारले मागेबमोजिमका कागजपत्र र विवरण संकलन गरी प्रतिवेदन तयार पारेका छौँ। अख्तियारबाट थप विवरण माग भएमा फेरि पनि छानबिन हुनेछ।’

खरेलले आफूहरूको कार्यादेश प्रतिवेदन तयार गर्नुमात्र रहेकाले भ्रष्टाचार भएको वा नभएको सम्बन्धमा केही बताउन नमिल्ने बताए। उनले भने, ‘हामीले अख्तियारले मागेअनुसार विवरण दिने हो। बाँकी काम अख्तियारबाटै हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =