नेपाली सेनाद्वारा मादी नदीमा विपद् प्रतिकार्य तालिम

हिमाल प्रेस ८ जेठ २०८० ८:४४
22
SHARES
नेपाली सेनाद्वारा मादी नदीमा विपद् प्रतिकार्य तालिम

दमौली– नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका-५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ। व्यास -५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतबारदेखि विपद् प्रतिकार्य तालिम थालिएको हो।

विपद्को अवस्थामा उद्धार एवम् खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिए। उक्त तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट ८ जनाको सहभागिता छ।

तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए। ‘वर्षायाममा जिल्लामा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो’, उनले भने।

उक्त प्रतिकार्य तालिम मंगलबारसम्म सञ्चालन हुनेछ। यसैगरी गण्डकी प्रदेश सरकार तथा पश्चिम पृतना हेडक्वाटरको संयोजनमा विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शनी गरिने भएको छ। उक्त नमूना अभ्यास कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहभागिता रहने गणले जनाएको छ।

विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शनी सञ्चालन पूर्वनेपाली सेना तथा अन्य सुरक्षा निकायका सकल दर्जाहरुले विपद् उद्धारसम्बन्धी छदिने पुनर्ताजगी तालिम लिएका थिए।

विपद् नमूना अभ्यास प्रदर्शनीमा नेपाली सेनाको एक गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी तथा व्यास नगरपालिकाका नगर प्रहरी, एम्बुलेन्स तथा दमकलको प्रयोग गरिनेछ। उक्त प्रदर्शनीमा सेनाको संयुक्त टोलीले भूकम्प, आगलागी, पहिरा तथा बाढीसम्बन्धी उद्धार प्रक्रियाको प्रदर्शनी प्रस्तुत गर्नेछन्।

प्रमुख सेनानी बोहोराले भने, ‘बर्सेनि बर्सातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्‍याउने गरेकाले बर्सातको समयमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने तरिकाको अभ्यास गरिरहेका छौं।’

प्रकाशित: ८ जेठ २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =