कहिले होलान् रायमाझी सांसद पदबाट निलम्बन?

हिमाल प्रेस १ जेठ २०८० १३:०६
48
SHARES
कहिले होलान् रायमाझी सांसद पदबाट निलम्बन?

काठमाडौँ- एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दाको आरोपमा रायमाझी आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका हुन्।

एमाले सचिवसमेत रहेका रायमाझी पूर्व उपप्रधानमन्त्री हुन्। रायमाझीलाई एमालेले सचिव पदबाट भने निलम्बन गरेको छ।

प्रहरीले पक्राउ गरेसँगै उनको सांसद पदको पनि निलम्बन प्रक्रिया अघि बढ्ने संसद् सविचालयका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार यसका लागि प्रहरीले पक्राउ परेको जानकारी सभामुखलाई गराउनुपर्छ। तर प्रहरीले सांसद रायमाझी पक्राउ परेको जानकारी संसद् सचिवालयलाई गराएको छैन।

संघीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले सांसद रायमाझी पक्राउ परेको जानकारी सचिवालयमा नआएको बताए।

संविधानको धारा १०३ (६) मा ‘कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने’ व्यवस्था छ।

यस्तै प्रतिनिधिसभा नियमावलीको २४८ मा १ मा कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था गरिएको छ।

बैठक नचलेको अवस्थामा भने सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछन्। अहिले संघीय संसद्को अधिवेशन जारी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पक्राउ पर्नेको संख्या १३ पुगेको छ। पक्राउ पर्ने अन्यमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी छन्।

उक्त प्रकरणमा प्रहरीले आइतबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणका आरोपित सबैलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =