नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई ४ दिनको म्याद थप

हिमाल प्रेस ३१ वैशाख २०८० १६:४३
80
SHARES
नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई ४ दिनको म्याद थप

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२जनाविरुद्ध ४ दिनको म्याद थप भएको छ। काठमाडौँ प्रहरी परिसरले जिल्ला अदालत काठमाडौँमार्फत पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिनको थप म्याद लिएको हो।

खाण गत बुधबार पक्राउ परेका हुन्। प्रहरीले उनलाई सोही दिन म्याद लिएको थियो। उक्त म्याद सकिएपछि फेरि म्याद लिइएको हो। अनुसन्धानका लागि प्रहरीले ६० दिनसम्म म्याद थप गर्दै हिरासतमा राख्न सक्ने कानुनी व्यवस्था छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका १२ जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ।

उक्त प्रकरणमा छानबिन गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ। प्रहीले आज कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =