‘विदेशी लगानी बढाउन नीतिगत स्थिरता आवश्यक’

हिमाल प्रेस २९ वैशाख २०८० १४:३७
4
SHARES
‘विदेशी लगानी बढाउन नीतिगत स्थिरता आवश्यक’

काठमाडौँ– नेपालमा विदेशी लगानी बढाउन नीतिगत स्थिरता आवश्यक भएको सरोकारवालाहरूले जोड दिएका छन्। लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा गरिएको सम्मेलनको पहिलो सत्र ‘वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानी’मा बोल्ने विज्ञहरूले लगानी भित्र्याउका लागि नीतिगत सुधारको खाँचो औँल्याएका हुन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आवश्यक नीतिगत सुधार, खुला सरकार तथा कर्मचारीतन्त्र र लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताए। उनले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायत समस्याका बाबजुद पनि स्थिर रहेको अर्थतन्त्रमा कैयन समस्या हुँदा पनि अहिलेसम्म टाट पल्टने अवस्था नआएको भनाइ राखे।

नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको भन्दै उनले आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गरे। ‘हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ,’ उनले भने, ‘यसका लागि ग्रिन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ।’

श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानी आवश्यक रहेको भनाइ राखे। उनले विदेशी लगानी ल्याउनका लागि सहज वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा. विश्वास गौचनले नेपालमा ‘कस्ट अफ डुइङ’ उच्च भएकोले लगानी ल्याउन नसकिएको बताए। ‘नेपालमा श्रमिकको पारिश्रमिक र कस्ट अफ डुइङ अन्य देशको तुलनामा बढी छ, विदेशी लगानी ल्याउनका लागि यस्ता क्षेत्रमा सुधार आवश्यक छ,’ उनले भने।
उनले चीन र भारतसँग उत्पादन क्षेत्रमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै नेपालले सेवामूलक क्षेत्रमा लगानी बढाउन सके फाइदा पुग्ने बताए।

कार्यक्रममा समृद्धि द प्रोस्पेरिटी फाउन्डेसनकी अर्पिता नेपालले मुलुकलाई कस्तो खालको विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट हुनुपर्ने धारणा राखिन्। उनले ग्वाटेमाला र भियतनामको उदारहण दिँदै नेपालले कुन क्षेत्रमा लगानी आवश्यक छ, सोहीअनुसार लगानी ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २९ वैशाख २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =