नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

हिमाल प्रेस २४ वैशाख २०८० १५:२४
28
SHARES
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौँ- नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब साढे तीन महिनाको अनुसन्धानबाट नक्कली कागजात पेस गरेर नागरिकता लिनेलाई पक्राउ गरेको हो।

उपत्यका अपराध कार्यालयका एसएसपी मनोज केसीका अनुसार प्रहरीले अन्य केही व्यक्तिमाथि पनि छानबिन सुरु गरेको बताएका छन्। कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँको शंखमूलमा बस्दै आएका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतीदेवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्।

यस्तै, बिहार नै घर भई ललितपुरको लगनखेलमा बस्दै आएका ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबुमा बस्दै आएका ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकीमा बस्दै आएका ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता पक्राउ परेको उनले जानकारी दिए।

उनीहरूले नेपालका सिरहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको उनले बताए। उनीहरूलाई शनिबार काठमाडौंका शंखमूल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए।

नेपाली नागरिकता प्राप्त गरेपछि उनीहरूले यहाँका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार, व्यवसाय समेत गरेर बसेको उनले बताए। भारतीयले वंशजका आधारमा नै नेपाली नागरिकता लिएको खुलेको उनले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =