बेलायती राजा चार्ल्स तृतीयको नामकरणमा नेपालले प्रदान गरेको त्यो उपहार

सन्तोष खडेरी २३ वैशाख २०८० ५:१८
962
SHARES
बेलायती राजा चार्ल्स तृतीयको नामकरणमा नेपालले प्रदान गरेको त्यो उपहार बीचमा नेपालले पठाएको उपहार, मातापितासँग बालक राजकुमार चार्ल्स र अर्कातिर प्रधानमन्त्री मोहनशमशेर। तस्बिर स्रोत : ब्रिटिस शाही पारिवारिक संग्रह

आज मे ६। बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुँदैछ। ८ सेप्टेम्बरका दिन आमा तत्कालीन महारानी एलिजाबेथ द्वितीयाको निधन भएपछि सोही दिन उनी नयाँ राजा घोषित भएका थिए। उनको राज्याभिषेक समारोहमा भाग लिन संसारभरबाट प्रतिनिधिहरू सहभागी हुँदैछन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रूपमा राष्ट्रपति पत्नी एवं प्रथम महिला सहभागी हुँदैछिन्। फ्रान्स, पोल्यान्ड, फिलिपिन्स, इटाली र जर्मनीका राष्ट्रपति सहभागी हुँदैछन् भने अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तानका प्रधानमन्त्रीहरू राज्याभिषेक समारोह सहभागी हुनका लागि लन्डन उत्रिएका छन्। भारत र चीनबाट भने उपराष्ट्रपति सहभागी हुँदैछन्। नेपालबाट राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद लन्डन पुगेका छन्।

नेपाल र बेलायतको सम्बन्ध दुई शताब्दीभन्दा लामो छ। राणाकालमा त निकै नजिकको सम्बन्ध थियो। शासकहरूले ब्रिटिस राजपरिवारका विभिन्न समारोहमा महँगामहँगा उपहार प्रदान गर्दथे। महारानी भिक्टोरियाले शासन सत्ता सम्हालेको हीरक जयन्ती समारोहमा नेपालका प्रधानमन्त्री वीरशमशेरले सुनका सिक्कासहितका उपहार पठाएका थिए। महारानी भिक्टोरियाको निधनपछि गठन भएको भिक्टोरिया मेमोरियल फन्डमा समेत तत्कालीन प्रधानमन्त्री देवशमशेरले ५ हजार रुपैयाँ र बडामहारानीका तर्फबाट १० हजार रुपैयाँ प्रदान गरेका थिए। (दी बम्बे क्रोनिकल, १५ जुन १९०१)

सन् १९१८ मा ब्रिटिस राजा जर्ज पञ्चमको विवाहको रजतजयन्ती समारोहका लागि प्रधानमन्त्री चन्द्रशमशेरले दुई लाख रुपैयाँ प्रदान गरेका थिए। यसरी विभिन्न समारोहमा नेपालका तर्फबाट ब्रिटिस राजपरिवारलाई उपहार प्रदान गरिन्थ्यो।

राजा चार्ल्सकी माता राजकुमारी एलिजाबेथ र फिलिप माउन्टब्याटेनको विवाह सन् १९४७ को नोभेम्बर २० मा भएको थियो। विवाहपछि शाही परम्पराअनुसार फिलिप माउन्टब्याटेनको पदवी प्रिन्स फिलिप ड्युक अफ एडिनबर्ग कायम भएको थियो। उनीहरूको विवाह हुँदा नेपालमा पद्मशमशेर जबरा प्रधानमन्त्री एवं श्री ३ महाराज थिए।

वैवाहिक समारोहमा नेपाल सरकारका प्रतिनिधिका रूपमा लन्डनस्थित राजदूत कमान्डिङ केशरशमशेर जबरा सहभागी भएका थिए। उनीहरूको विवाहमा प्रधानमन्त्रीका तर्फबाट राजदूत केशरशमशेरले चाँदीको फूलदान उपहार दिएका थिए।

राजकुमारी एलिजाबेथ र फिलिप माउन्टब्याटेनको पहिलो सन्तानका रुपमा सन् १९४८ को नोभेम्बर १४ मा राजकुमार चार्ल्सको जन्म भएको थियो। प्रिन्स चार्ल्स अफ एडिनबर्गका रूपमा चार्ल्सको जन्म हुँदा नेपालमा मोहनशमशेर श्री ३ महाराज एवं प्रधानमन्त्री थिए। लन्डनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतका रूपमा सुब्बा ईश्वरीराज मिश्र थिए। त्यतिबेला केशरशमशेर फर्किसकेका थिए भने नयाँ राजदूत नियुक्ति भएको थिएन।

१४ नोभेम्बरमा जन्मिएका चार्ल्सको इसाई धार्मिक परम्पराअनुसारको नामकरण (Baptism) समारोह सोही २५ डिसेम्बरका दिन आयोजना गरिएको थियो। समारोहमा लन्डनस्थित नेपाली दूतावासलाई निमन्त्रणा गरिएको थियो। राजा जर्ज छैटौँको उत्तराधिकारीका रूपमा रहेकी राजकुमारी एलिजाबेथलाई समेत नेपालले महत्त्व दिँदै आइरहेको थियो। उनै एलिजाबेथको पहिलो सन्तानका रूपमा चार्ल्सको जन्म हुँदा नेपालले महत्त्व नदिने भन्ने थिएन। उनी पनि राजगद्दीको उत्तराधिकारीका रूपमा जन्मिएका थिए।

एलिजाबेथको विवाहमा पद्मशमशेरले चाँदीको फूलदान दिएका थिए। प्रधानमन्त्री मोहनशमशेरले चार्ल्सको नामकरण समारोहमा लन्डनस्थित नेपाली दूतावासमार्फत गोर्खाली सैनिकको मूर्ति उपहार दिएका थिए। मोहनशमशेरले के सोचेर त्यो मूर्ति उपहार दिएका थिए भन्ने थाहा हुन नसके पनि प्रतीकात्मक रूपमा उक्त उपहार निकै अर्थपूर्ण थियो।

सैन्य पोसाकमा गोलीगट्ठा, हतियार र हातमा खुकुरी लिएर उभिएको सिपाहीको मूर्ति थियो। उक्त मूर्तिको तल प्रिन्स चार्ल्स अफ एडिनबर्गलाई महाराजा मोहनशमशेर जंगबहादुर राणा नेपालका प्रधानमन्त्री एवं सुप्रिम कमान्डर इन चिफका तर्फबाट १५ डिसेम्बर १९४८ मा प्रदान गरिएको भनी उल्लेख थियो।

नेपाली वीरताको प्रतीकका रूपमा रहेका गोर्खाली सिपाहीको मूर्ति नेपालले उपहारका रूपमा चयन गरेको थियो। गोर्खाली सिपाहीले ब्रिटिस साम्राज्यको रक्षार्थ विभिन्न मोर्चमा रगतको बलिदानी दिएका थिए।

लखनउ विद्रोहदेखि दुवै विश्वयुद्धमा हज्जारौँ गोर्खाली सिपाहीले ब्रिटिस साम्राज्यका लागि बलिदानी दिएका थिए। बेलायती राजपरिवारका सदस्यहरूलाई उक्त कुराको स्मरण गराउन हो वा उनीहरूले नेपालभन्दा गोर्खाली सिपाही मात्रै स्मरण गर्ने गरेकाले हो गोर्खाली सिपाहीको मूर्ति उपहार दिएको हो। पछिल्लो समय पनि फकल्यान्ड, इराक, अफगानिस्तान हुँदै आजसम्म पनि नेपाली ब्रिटिस सेनामा भर्ती भएर उनीहरूका पक्षबाट विभिन्न मोर्चामा लडिरहेका छन्।

राजा चार्ल्स तृतीय राजकुमार छँदा सन् १९७५ मा सम्पन्न नेपालका तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा समेत नेपाल आएका थिए। त्यस्तै त्यसको पाँच वर्षपछि सन् १९८० मा समेत नेपाल भ्रमण गरेका थिए। त्यतिबेला उनले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका थिए।

राज्याभिषेकको अवसरमा राजा चार्ल्स तृतीयलाई शुभकामना!

बेलायती राष्ट्राध्यक्षको राज्याभिषेकमा नेपाल सहभागिताको इतिवृत्त

प्रकाशित: २३ वैशाख २०८० ५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =